५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

कर्णाली करिडोर: छारेभीरको चट्टान छिचोलियो

हुम्लाको खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारेभीरको चट्टानी खण्ड।

कर्णालीबाट उत्तरको छिमेकी चीन जोड्ने कर्णाली करिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाको सिमाना छारेभीरको चट्टानी खण्ड नेपाली सेनाले छिचोलेको छ। योसँगै अब हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ।

सेनाको विकास निर्माण दलका योजना प्रमुख अमृत पराजुलीले लालीबगरदेखि दुल्लीकुनासम्मको ११ किलोमिटर सडकको ट्याक खोल्ने काम सम्पन्न भएको बताए। ‘छारेभीरको दुई सय मिटर चट्टानी खण्ड विष्फोटक पदार्थ प्रयोग गरेर छिचोलेका छौँ,’ आयोजना प्रमुख पराजुलीले भने, ‘अहिले सडकको ग्रेड मिलाउने, ग्याविन लगाउने र सडक चौडा बनाउने काम भइरहेको छ।’ सरकारले २०७८ चैतमा लालीबगर–दुल्लीकुना सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो।

चालू आर्थिक वर्षको असार मसान्तसम्म सडक निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य भएपनि त्यो भन्दा अगाडिनै निर्माण सम्पन्न गरिएको उनले बताए। उनले अर्को महिनाबाट यो खण्डमा यातायातका साधन चल्ने बताए। ‘अहिले नै यातायातका साधन चलाउन दिँदा ग्रेड मिलाउने, ग्याविन लगाउने लगायतका कार्यमा अवरोध हुन्छ,’ उनले भने, ‘त्यसैले निर्माण सम्पन्न भएपनि केही समयका लागि यातायातका साधन चलाउन रोकेका छौँ।’

कर्णाली करिडोर अन्तर्गतको लालीबगर–दुल्लीकुना सडकको ट्याक खुलेसँगै उत्तरको छिमेकी चीनसँग स्थल मार्गबाट कर्णाली र सुदूरपश्चिम प्रदेश जोडिनेछ। सेनाले अहिले निर्माण सम्पन्न गरेको लालीबगर–दुल्लीकुना अन्तर्गत पर्ने छारेभीर कर्णाली करिडोरको सबैभन्दा कठिन भूगोल हो।

कर्णाली करिडोर कालिकोटको नरहरिनाथ गाउँपालिकाको खुलालुदेखि सुरु हुन्छ। सुदूरपश्चिमको बाजुरा भएर हुम्ला सदरमुकाम सिमकोट हुँदै उत्तरको छिमेकी चीन जोड्ने यो सडकको बाँकी खण्डमा यातायातका साधनहरु सञ्चालन भइरहेका छन्। हुम्ला सदरमुकाम सिमकोटदेखि चीनको सिमाना हिल्सासम्म र कर्णाली करिडोरको बाँकी खण्डमा पनि यातायातका साधन चलिरहेका छन्।

सेनाले ट्याक खोलेको छारेभीरमा ग्रेड मिलाउने, ग्याविन लगाउने र सडक चौडा बनाउने काम सम्पन्न गरेसँगै हुम्ला जिल्ला सदरमुकाम पनि राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ। अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको एक मात्रै जिल्ला हुम्ला हो।

सेनाले कर्णाली करिडोर अन्तर्गत कालिकोटको घाटपारी चौरदेखि बाजुराको झुम्काखोलासम्मको ११.०५ किलोमिटर सडकको ट्याक खोल्ने काम गरिरहेको छ। यो सडक खण्ड निर्माण भए कर्णाली करिडोर आठ किलोमिटर छोटो हुनेछ। ११.०५ किलोमिटर मध्ये ४ किलोमिटर सडकको ट्याक सेनाले खोलेको छ। चालू आर्थिक वर्षमा थप १ किलोमिटर सडकको ट्याक खोल्ने लक्ष्य सेनाले राखेको छ।

हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले सेनाले लक्ष्य अगावै जिम्मा लिएको सडक निर्माण सम्पन्न गरेको बताए। ‘अव दक्षिणको छिमेकी भारत र उत्तरको छिमेकी चीनलाई कर्णाली करिडोरले जोड्नेछ,’ उनले भने, ‘यो सडकमा यातायातका साधन गुड्न थालेपछि कर्णाली र सुदूरपश्चिमको समृद्धि पनि सुरु हुनेछ।’ २०७८ साउनमा सेनाले कर्णाली करिडोर अन्तर्गतको खुलालु–हिल्सा सडकको १२२ किलोमिटर सडक निर्माण सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरेको थियो। 

कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि चीनको सीमा हिल्सासम्मको दूरी २६८ किलोमिटर हो। कर्णाली करिडोर भारत र चीन जोड्ने त्रिदेशीय सडक हो। भारतसँगको सिमाना लुम्बिनी प्रदेशको बाँके अन्तर्गत जमुनाहदेखि चीनसँगको सिमाना हिल्सासम्मको सडकको दूरी ५०५ किलोमिटर हो । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, सुदूरपश्चिमको बाजुरा, हुम्ला सदरमुकाम सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट हिल्सा पुग्न ४१९ किलोमिटर पार गर्नुपर्ने हुन्छ।

कर्णाली प्रदेश दक्षिणको छिमेकी भारतसँग जोडिएको छैन। त्यसैले पनि उत्तरको छिमेकी चीनसँग स्थल मार्गबाट जोडिनु कर्णालीका लागि महत्त्वपूर्ण छ। कर्णाली करिडोर सञ्चालनमा आएसँगै हाटभोटको व्यापार पुनः सुरु हुनुका साथै मानसरोवर यात्रा गर्नेहरूका लागि यो करिडोर स्थालमार्गबाट सबैभन्दा छोटो र सहज हुन्छ। कर्णाली करिडोर अन्तर्गत बोक्चे गौडा, भि गौडा, दुली कुना र याङ्चुमा मोड काट्नुका साथै सडकको लेभल मिलाउने काम पनि सेनाले गरिरहेको छ। 

प्रकाशित: २० वैशाख २०८१ १३:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App