छिमेकी मुलुक भारतमा भइरहेको लोकसभाको चुनावका कारण यस वर्षको वसन्त ऋतुमा हिमाल आरोहण गर्नेहरूको संख्या घटेको छ। भारतमा गत अप्रिल १९ देखि जुन १ सम्म सात चरणमा लोकसभाको चुनाव भैरहेको छ।
गत १६ अप्रिलसम्ममा ६३ जना भारतीय आरोहीले विभागबाट हिमाल आरोहण अनुमति लिइसकेका थिए। यस वर्षको अप्रिल २६ सम्म ५५ जना भारतीयलाई मात्र हिमाल आरोहणका लागि विभागबाट अनुमति जारी गरिएको छ।
विभागका शाखा अधिकृृत चुनबहादुर तामाङले भने, ‘गत वर्षको तुलनामा यस वर्ष भारतीय आरोहीहरू कम छन्’, तामाङले भने, ‘भारतमा भइरहेको लोकसभाको चुनावी माहोलले वसन्त ऋतुको हिमाल आरोहणलाई प्रभावित पारेको हो।’
भारतको केन्द्रीय निर्वाचन आयोगले दोस्रो चरणको मतदान यही शुक्रबारबाट सुरु गरेको छ। दोस्रो चरणमा केरलाका सबै २० सिट, कर्नाटकको १४, राजस्थानको १३, मध्य प्रदेशको ६ र असमका पाँच सिटमा मतदान भइरहेको हो।
यस्तै, पश्चिम बंगाल र छत्तीसगढका तीनतीन तथा मणिपुर, त्रिपुरा र केन्द्र शासित जम्मु कश्मीरका एकएक सिटमा मतदान भइरहेको छ।
अर्को छिमेकी मुलुक चीनले पनि यस वर्ष हिमाल आरोहणका लागि खुला गरेको छ तर आरोहीहरू गत वर्ष भन्दा घट्ने उनले बताए। कोरोनाको कारण बन्द गरिएको हिमाल आरोहण अनुमति यस सिजनबाट चीनले पनि खुला गरेको हो।
गत वर्षको तुलनामा यसवर्ष आरोहीको संख्या घटेको अधिकृत तामाङको तर्क छ। ‘आगामी मे महिनादेखि चीनले अनुमति जारी गर्ने भएको हो’, तामाङले भने, ‘कतिपय आरोहीहरूले तिब्बततर्फबाट हिमाल आरोहण गर्ने भएको हुँदा पनि यस पटक आरोहीको संख्या पोहरभन्दा कम हुन सक्छ।’
विभागका अनुसार गत वर्ष २८ अप्रिलसम्ममा सगरमाथा आरोहण गर्न ४३ समूहबाट चार सय ६६ जनाले अनुमति लिएका थिए। सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा यो सबैभन्दा धेरै हो।
यस्तै सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिने र कोरोना महामारीपछि तिब्बतबाट रोकिएको आरोहण पुनः खुला भएका कारण पनि गत वर्षभन्दा यस वर्ष हिमाल आरोहणको संख्या कम हुने विभागका अनुसार छ।
गत वर्ष यस बेलासम्म एक सय २९ आरोही समूहले हिमाल आरोहणका लागि अनुमति लिइसकेको थियो तर यस वर्ष ९५ समूहले मात्र अनुमति लिएको विभागले जनाएको छ।
सरकारले झन्डै ६४ करोड रूपैयाँ आरोहण दस्तुर बापतको रकम संकलन गरिसकेको छ। विभागका अनुसार ८० देशका आरोहीबाट अनुमति दस्तुर बापत सरकारले ६३ करोड ३६ लाख ५० हजार रूपैयाँ संकलन गरेको हो।
मार्च, अप्रिल र मेमा पर्ने वसन्त ऋतुमा सबैभन्दा धेरै हिमाल आरोहण हुन्छ। विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा (८८४८.८६ मिटर) मा पनि सबैभन्दा धेरै यसै सिजनमा आरोहण हुन्छ। विभागले सगरमाथा हिमालबाट झन्डै ५६ करोड रूपैयाँ भन्दा बढी आरोहण दस्तुरबापत संकलन गरेको छ।
हालसम्म ३७ वटा समूहका ७९ जना महिला र ३२० जना पुरूष गरी जम्मा तीन सय ९० जना आरोहीले सगरमाथा आरोहणका लागि विभागबाट अनुमति लिइसकेका छन्। उनीहरूले आरोहण दस्तुरबापत ५५ करोड ८३ लाख ९४ हजार रूपैयाँ तिरेका छन्।
यस्तै लोहोत्से (८५१६ मिटर) हिमालबाट सरकारले आरोहण दस्तुरबापत तीन करोड ९१ लाख रूपैयाँ संकलन गरेको छ। यसैगरी १२ समूहका २३ महिला र एक सय सात पुरूष आरोही गरी कुल एक सय ३० जनाले मकालु हिमाल प्रथम (८४६३ मिटर) आरोहण गर्ने अनुमति पाइसकेका छन्। उनीहरूबाट सरकारले आरोहण दस्तुरबापत मकालु (८४६३ मिटर) प्रथमबाट एक करोड ३६ लाख ४६ हजार रूपैयाँ रकम संकलन गरेको छ।
सेभेन समिट, एलिट एक्सपिडिसन, एसियन ट्रेकिङ, इमेजिन नेपाल ट्रेक्स लगायतका कम्पनीहरूले नेपालमा हिमाल आरोहणका लागि काम गर्छन्। यिनै कम्पनीहरूमार्फत ८० देशका आठ सय ६१ आरोहीले २७ वटा हिमाल आरोहणका लागि हालसम्म विभागबाट अनुमति लिएका छन्। जसमा ६ सय ७७ जना पुरूष र बाँकी एक सय ८४ जना महिला आरोही रहेको विभागले जनाएको छ।
सबैभन्दा धेरै आरोहण अनुमति लिने मुलुकमा अमेरिका पहिलो स्थानमा छ। अमेरिकाका एक सय १७ आरोहीले विभागबाट अनुमति लिइसकेका छन्। जसमा २० जना महिला र ९७ जना पुरूष आरोही रहेका छन्। अमेरिकापछि चीनका नागरिकले यस पटक धेरै आरोहण अनुमति लिएका छन्। चीनका १७ महिला र ६४ पुरूष गरी जम्मा ८१ आरोहीले विभागबाट अनुमति लिएका छन्।
यस्तै बेलायतका आठ महिला र ५७ पुरुष आरोही गरी जम्मा ६५ जना, भारतका १२ महिला र ४३ पुरूष गरी जम्मा ५५ जना आरोहीलगायत ८० मुलुकका नागरिकले विभागबाट आरोहणका लागि अनुमति लिइसकेका छन्। अधिकृत तामाङका अनुसार विभागबाट हिमाल आरोहणका लागि अझै अनुमति लिने क्रम जारी रहेको बताए।
प्रकाशित: १८ वैशाख २०८१ ०९:२९ मंगलबार