१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

रौतापोखरी आउने पर्यटकका लागि होमस्टे खुल्दै

होमस्टे तालिममा प्रशिक्षार्थीले तयार पारेको परिकारसँगै सहभागी । तस्बिर : नागरिक

पछिल्लो समय पर्यटक आगमन बढ्दै गएपछि उदयपुरको पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीमा व्यावसायिक होमस्टे सञ्चालनमा ल्याइने भएको छ। जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको रौतापोखरीमा आगन्तकको सेवा सुविधालाई मध्यनजर गर्दै होमस्टे सञ्चालन गर्न लागिएको हो।

पर्यटकलाई स्थानीय स्वादका खानाका परिकार र सहज र सुविधाजनक बस्ने व्यवस्था मिलाउन होमस्टे महत्वपूर्ण हुने भएकाले केही संस्थासँग मिलेर होमस्टे तालिम आयोजना गरेको गाउँपालिका अध्यक्ष वीरेन्द्र मगरले बताए।

रौतामाई गाउँपालिका ६ नं. वडास्थित रौतापोखरीमा पछिल्लो समय आन्तरिक पर्यटकको बृद्धि हुँदै गएपछि होमस्टेहरू अनिवार्य देखिएको भन्दै व्यवसायिक होमस्टेसम्बन्धी तालिम आयोजना गरिएको अध्यक्ष मगरले बताए।

त्यहाँ घुम्न आउने आगन्तुकलाई स्वागतदेखि बसोबास, घुमफिर तथा अग्र्यानिक खानपिन व्यवस्थापनसम्मको लागि व्यवसायिक होमस्टे सञ्चालन गर्न स्थानीयलाई तालिम दिइएको उनले बताए।

पर्यटकको आगमन दर बढेसँगै रौतापोखरीको बजारीकरण पनि दिनदिनै बढ्दै गएको छ। बढ्दो बजार सुहाउँदो पर्यटकलाई खान, बस्नसँगै स्थानीय संस्कार, संस्कृतिको जानकारीसहित नौलो स्वाद पस्कन पनि आवश्यक महसुस गर्दै व्यवसायिक होमस्टेको चाँजोपाँजो मिलायन लागिएको हो। गाउँपालिकाले तालिम आयोजना गर्नुअघि पनि होमस्टे सञ्चालन गरिएको भए पनि त्यसले व्यवसायिक्ता पस्कन नसकेकाले परिस्कृत गर्न तालिम दिइएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक बस्नेतले रौतापोखरीको पर्यटन प्रबद्र्धन गर्ने तथा आगन्तक पर्यटकलाई सहज सेवा सुविधा दिदै स्थानीय र नौलो स्वाद चखाउन तालिम आयोजना गरिएको बताए।

उनका अनुसार तालिममा ‘रौता सामुदायिक होमस्टे’मार्फत २० जना प्रशिक्षार्थीलाई सहभागी गराएर व्यवसायिक ज्ञान र सिप सिकाइएको छ। स्थानीयलाई होमस्टेमा उपलब्ध हुनुपर्ने खानाका परिकारदेखि सञ्चालन तरिका, पर्यटकलाई स्वागत, आकर्षण विधि तथा व्यवस्थापन कलासम्मको जानकारी दिन तालिम आयोजना गरिएको उनले बताए।

हाकिम बस्नेतका अनुसार तालिम जिल्लामा क्रियासिल गैरसरकारी संस्था मानव अधिकार र वातावरण विकास केन्द्र (हुृरेन्डेक)को साझेदारी र वल्र्ड नेवर्सको सहयोगमा आयोजना गरिएको हो।

होमस्टे व्यवस्थापकहरू सुरज बास्तोला र राजकुमार लामिछानेले होमस्टे सञ्चालन व्यवस्थापनबारे प्रशिक्षण दिएका थिए भने पाक शिक्षिका मनिषा श्रेष्ठ र रस्मीता रंजितकारले स्थानीय खानाका परिकार बनाउने विषयमा जानकारी गराएका थिए। तालिममा स्थानीय अन्न र फलफलबाट बन्ने स्वादिला र नयाँ परिकार बनाउने सिप र कला सिकाइएको छ।

मकैको विस्कृट, च्याख्लाको खिर, सिस्नुको सुप, जोगी खाना, मसला पुलाउ, चिकेन फ्राई, जिरा स्कुस, मेथी स्कुस, कक्टेल, मुला, गाँजर र भुई स्याउको जुस, स्कुसको हलुवा, पोच अण्डाजस्ता परिकारहरू बनाउने कला प्रशिक्षार्थीले सिक्न पाएका छन्।

तालिममा सहभागीहरूलाई रौतापोखरीक्षेत्रको पर्यटकीय इतिहास, आकषर्ण, पहिचान, महत्व र सुरक्षा तथा बास व्यवस्थापनजस्ता विषयमा पनि पर्यटकहरूलाई जानकारी गराउने विधिबारे सिकाइएको छ।

रौतामाई ६ का वडाध्यक्ष पृथ्वीबहादुर राईले पर्यटकको चाहना अनुसार दीगो र प्रभावकारी सेवा दिने गरी होमस्टे व्यवस्थापन गर्न तालिमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे। उनले पर्यटकलाई स्थानीय उत्पादन र परिकार खुवाएर पल्काउन सके अग्र्यानिक अन्न बाली र फलफुलको सदुपयोग हुने र त्यसबाट पर्यटन प्रबद्र्धनसँगै स्थानीय उत्पादनको बजारीकरण गर्न सकिने बताए।

यसो हुँदा आयआर्जन बढ्नुका साथै रोजगारी बृद्धि भएर युवापुस्तालाई विदेश पलायनबाट रोक्न उनको अपेक्षा छ। होमस्टे सञ्चालनमा ल्याउँदा अवदेखि स्थानीय जातजातिगत संस्कार, संस्कृति र भेषभुषा र रीतिरिवाजलाई पनि समेट्दै लाने बताए। यसो गर्दा एकातिर पर्यटक आकर्षण बढ्ने तथा अर्कातर्फ लोप हुँदै गएको संस्कार, संस्कृतिको संरक्षण हुने वडाध्यक्ष राईको बुझाई छ।

४ दिने तालिममा होमस्टे सञ्चालनबारे सम्पूर्ण तरिकाबारे जानकारी गराइएको साझेदार संस्था हुरेन्डेकका अध्यक्ष शंकर थापाले बताए। उनका अनुसार प्रशिक्षार्थीहरूलाई अनुभव प्राप्त प्रशिक्षकहरूबाट होमस्टेसम्बन्धी आधारभूत सबै जानकारी दिइएको छ। 

होमस्टे सञ्चालन विधि, आचारसंहिता, पर्यटक आकर्षण कला, स्वागत विधि, स्थानीय स्रोतसाधनको उपयोग, खानाको स्वाद र परिकारजस्ता सबै कुराहरू तालिममा सिकाइएको अध्यक्ष थापाले बताए।

होमस्टे सञ्चालन गर्दा सबभन्दा महत्वपूर्ण कुरा पर्यटकको रोजाई अनुसार स्थानीय अन्नबाट निर्मित खानेकुरा, ठाउँथला र रहनसहन, संस्कार संस्कृतिबारे ध्यान दिन सक्नुपर्ने विज्ञ प्रशिक्षकको सुझाव छ। स्थान र स्थानीय उत्पादनको विक्रीवितरणलाई ‘ब्राण्डिङ’ गर्न सकियो भने पर्यटक ओईरिने र त्यसबाट होमस्टेदेखि अन्य सबैक्षेत्रलाई सकारात्म प्रभाव पर्ने हुरेन्डेककी कार्यक्रम संयोजक विनु सुबेदी बताउँछिन्। त्यही कुरालाई लक्षित गरेर होमस्टे सञ्चालनबारे तालिम आयोजना गरिएको उनको भनाइ छ।

पर्यटकहरू रमाउनसँगै नयाँ, ताजा र अग्र्यानिक खानेकुराप्रति लालायित हुने हुने तर, होटलमा त्यस्ता परिकार नपाउने कुरा प्राप्त गर्न होमस्टेहरू सफल हुनुपर्ने तालिमको उदेश्य हो।

होटलहरू व्यावसायिक र नाफामुखी हुने हुनाले सामान्य पर्यटकका लागि महँगो यात्रा पर्यटन प्रबद्र्धनमा बाधक हुने गर्छ। त्यसैले सहज, सरल, सस्तो र विशेष स्वाद होमस्टेले पस्कन सक्नुपर्ने होमस्टे सञ्चालनको मूल मन्त्र हुने संयोजक सुबेदी बताउँछिन्।

प्रकाशित: ३० फाल्गुन २०८० १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App