४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

खपत भएन दैनिक तीन लाख लिटर दुध

खपत घटेपछि किसानले उत्पादन गरेको दुध बिक्री भएको छैन। किसानले दैनिक ३१ लाख लिटर दुध बजारमा आए पनि डेरी उद्योगहरूले २८ लाख लिटर दुध बिक्री गरेको बताएका छन्। किसानबाट किनेको दैनिक तीन लाख लिटर दुध बजारमा खपत नभएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले बताए।

‘किसानसँग किनेको दुध बिक्री नभए पनि बटर र पाउडर दुध बनाएका छौं,’ दाहालले भने, ‘उपभोग घटेकाले खपत नभएको हो।’

दुध खपत नभएपछि किसानसँग किनेको दुधबाट पाउडर र बटर बनाएर राखेका छन्।  निजी डेरी उद्योगसँग करिब पाँच अर्ब र दुग्ध विकास संस्थासँग करिब एक अर्ब रूपैयाँको बटर र पाउडर दुध स्टक रहेको छ। ‘किसानसँग किनेको दूध बिक्री नहुँदा स्टक भयो,’ दाहालले भने, किसानसँग किनेको दूध बिक्री नहुँदा समस्या आएको दुग्ध विकास संस्था (डिडिसी)ले जनाएको छ।

दैनिक डेढ लाख लिटर दुध किसानसँग संकलन गरे पनि एक लाख लिटर मात्र बिक्री भएको डिडिसीका महाप्रबन्धक सञ्जीवझा बताउँछन्। उनका अनुसार डिडिसीले किसानसँग किनेको करिब ५० हजार लिटर बिक्री नभएपछि दूधको बटर र पाउडर बनाएर राखेको छ।

किसानसँग किनेको दुध बिक्री नभएकाले भुक्तानी गर्न कठिनाई भएको डेरी उद्योगी बताउँछन्। दुध खपत नभएपछि निजीक्षेत्रका डेरीले करिब ६ अर्ब रूपैयाँ र सरकारी स्वामित्वको डिडिसीले करिब ९० करोड रूपैयाँ भुक्तानी नदिएको किसानको गुनासो छ।

किसानले दूध बिक्री गरेबापतको करिब सात अर्ब रूपैयाँ भुक्तानी नपाएकाले आन्दोलन गरेका थिए। एकथरी किसानले डेरी उद्योगी र सरकारसँग पाँच बुँदे सम्झौता गरको भए पनि केही किसानले भने आन्दोलन जारी रहेको बताएका छन्।

तीन÷चार महिनादेखि दुध बेचेको रकम नपाएपछि गाई, भैंसीलाई दाना खुवाउन, बैंकको ब्याज र किस्ता तिर्न तथा घरखर्च चलाउनसमेत कठिन भएको किसानको गुनासो छ। बजारमा दुधको उपभोग घटेर किसानसँग किनेको दुधबाट निर्माण गरिएको बटर र पाउडर दुध स्टक हुँदा उद्योगीसँग पुँजी होल्ड भएपछि किसानलाई भुक्तानी गर्न नसकेको उद्योगीको दाबी छ।

विदेशबाट दुग्धजन्य वस्तु आयात भएका कारण पनि स्वदेशी उत्पादनले बजार नपाएको किसान तथा उद्योगी बताउँछन्।

खुला सिमानाबाट अवैध रूपमा तस्करी भएर पनि आएको उनीहरूको जिकिर छ। स्वदेशमा पर्याप्त उत्पादन भएकाले सरकारले अनुदान दिएर भए पनि निर्यात गर्ने वातावरण बनाउनुपर्ने किसानको माग छ।

दूध विदेशबाट आयात नभएपछि दूग्धजन्य बटर लगायतका वस्तु विदेशबाट आयात भएकाले स्वदेशीले बजार नपाएको उद्योगीको दाबी छ। उनीहरू धुलो दुध र बटर बिक्री नभएपछि उद्योगको गोदाम भरिएको बताउँछन्।

उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा दुध खपत घटेको हो। विगतमा विदेशबाट दुध आयात हुने गरेकोमा मुलुक दुधमा आत्मनिर्भर त बनेको छ तर किसानले उत्पादन गरेको दुध बिक्री नहुँदा समस्या भएको छ।

१५–१५ दिनमा किसानलाई दुधको रकम भुक्तानी गर्दै आएका उद्योगहरूले दुई–तीन महिना बितिसक्दा पनि भुक्तानी गर्न सकेका छैनन्। दुध बिक्री नभएपछि निजी डेरीले कम दुध संकलन गरेका छन्। खपत कम हुँदा निजी डेरीले दुध संकलन घटाएपछि किसानले दुग्ध विकास संस्थानले खरिद गर्दै आएको छ।

सरकारले दुधको न्यूनतम मूल्य लिटरमा ६५ निर्धारण गरेको भए पनि ७०–७२ रूपैयाँ लिटरमा बिक्री हुन्छ। सरकारले पशुपालनमा निजी क्षेत्रलाई आकर्षित गर्दै व्यावसायीकरण गरी उत्पादन बढाउन सहयोग गर्दै आएको छ।

न्यूनतम पोषणका लागि दुध अनिवार्य आवश्यक मानिन्छ। क्रयशक्ति बढेपछि दुग्धजन्य वस्तुको उपभोग बढ्दै जाने भए पनि अहिले आर्थिक समस्याका कारण दूधको खपत घटेको हो।  

प्रकाशित: २२ फाल्गुन २०८० ०८:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App