९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

एक सय ४० उद्योग बन्द

फाइल तस्वीर

घरेलु तथा साना उद्योग कार्यालय चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका एक सय ४० वटा उद्योग बन्द भएका छन्। कार्यालयका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो।

कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालका अनुसार ३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएका छन्। सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन्। खरिदबिक्रीपछि नाम सारी गरिएको उनले बताए। ११ वटा उद्योगले ठाउँसारी गरेका छन्।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा दुई सय ५८ वटा उद्योग दर्ता भएका छन्। साना उद्योगतर्फ ती फर्महरू दर्ता भएका हुन्। गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको पाइएको उनले बताए।

सोही समयमा व्यावसायिक फर्महरू एक सय ८१ वटाको लगत कट्टा गरिएको छ। १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको उनले जानकारी दिए। व्यावसायिक फर्मतर्फ दुई सय ७३ वटा नयाँ दर्ता भएका छन्  गत आर्थिक वर्ष २०७९/८० मा व्यवसाय बन्द गर्नेको सङ्ख्या चार सय ३४ रहेको थियो।

यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए। गत आर्थिक वर्ष २०७९/८० मा दुई सय ६९ वटा उद्योग बन्द भएका थिए। उनका अनुसार गत आर्थिक वर्षमा आठ सय ५९ वटा उद्योग दर्ता भएका थिए। सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकहरूले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए।

वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए।

उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जान बन्द गर्नेहरूको सङ्ख्या उच्च रहेको उनले बताए। उनले भने, ‘ पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्महरू पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ।’

आर्थिक मन्दी, कोरोना असरका कारण समेत साना उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उनले बताए।

कार्यालयमा दर्ता हुन आउने उद्योगहरू अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन्। राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरूको सङ्ख्या बढेको खनालले बताए। चालु आर्थिक वर्षमा एक सय ३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरूषका नाममा एक सय ११ वटा दर्ता भएका छन्।

प्रकाशित: १६ माघ २०८० ०६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App