७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाढीपहिरोमा विद्युत् आयोजना: क्षति न्यूनीकरण पूर्वतयारी अभाव

गत असारमा आएको बाढीले क्षतिग्रस्त सुपर हेवाखोला जलविद्युत् परियोजनाको संरचना। तस्बिर सौजन्य: केशव अर्याल

गत असार २ गते संखुवासभाको चैनपुरस्थित निर्माणाधीन ६ मेगावाट क्षमताको सुपर हेवाखोला जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी र कामदार बेलुकाको खाना खाएर सुतेका थिए।

राति साढे ९ बजेतिर हेवाखोलामा आएको भीषण बाढीले नदी किनारमा बस्न बनाइएको पालसँगै १८ जना कामदार र कर्मचारीलाई मात्रै बगाएन, आयोजनाका आधा दर्जन बढी संरचनामा पनि क्षति गर्यो।  

सुपर हेवाखोला जलविद्युत् आयोजनाको सिभिलतर्फ निर्माण जिम्मेवारी पाएको ईशान कन्स्ट्रक्सन प्रालिका निर्देशक केशव अर्यालले बाढी आउनुभन्दा केही समयअघिसम्म तिनै कर्मचारी र कामदारसँगै खाना खाएका थिए। उनी एक/आधा घण्टाअघि मात्रै त्यो ठाउँ छाडेर अर्को ठाउँमा गएकाले जोगिए। आयोजनामा कार्यरत १८ जनामध्ये चारजनाको मात्र शव फेला पर्यो, अरू अझै फेला परेका छैनन्।

‘बाढी आउँदा २०७२ सालको भूकम्पमा जस्तै जमिन थर्थराएको थियो। बाढीले ठुल्ठुला ढुंगा, रुख बगाएर ल्याएको थियो,’ बाढी आएको क्षण सम्झँदै अर्यालले भने, ‘एक्कासि आएको भीषण बाढीकै कारण सुतिरहेका ती साथीहरूले भाग्ने मौकासमेत पाएनन्। हेर्दाहेर्दै उनीहरूलाई बाढीले बगायो ।’

सुपर हेवा पावर कम्पनी लिमिटेडका अध्यक्ष हर्कबहादुर तामाङ हेवाखोलामा आएको बाढीले मानवीय र भौतिक क्षति गरेको बताए। उनले भने, ‘बाढी आएर यति ठुलो क्षति पुर्याउँला भनेर कल्पनासमेत गरेका थिएनौं।’

अध्यक्ष तामाङका अनुसार बाढीले आयोजनाको बाँध, विद्युत् गृह, पानी थिग्राउने पोखरीलगायतका आधा दर्जन बढी भौतिक संरचना क्षति गर्दा २२ करोड रूपैयाँको नोक्सानी भएको छ। बाढीले क्षतिग्रस्त आयोजनाको संरचना पुनर्निर्माण गर्न ५० करोड रूपैयाँ लाग्ने उनको आकलन छ।

सरकारले नदीनाला र खोलाखोल्सीबाट जलविद्युत् उत्पादन गरी स्वदेशमा खपत बढाउने र विदेशमा समेत बेचेर मुनाफा कमाएर जनताको जीवनस्तर उकास्ने योजना बनाइरहेको छ। तर जलवायु परिवर्तनका कारण प्रत्यक्ष/प्रत्यक्ष रूपमा मनसुनसँगै वर्षाको प्रकृतिमा आएको बदलावले गर्दा सरकारको यो योजना कति दिगो र भरपर्दो हुन सक्छ भने प्रश्न उठ्न थालेको छ।

केही वर्षयता बेमौसमी भारी वर्षाका कारण भीषण बाढीपहिरो आउँदा देशका विभिन्न भागमा जनधनको क्षति भएको छ। यसको असर जलविद्युत् आयोजनामा पनि परेको छ।

पूर्वी नेपालमा गत जेठ ३० गतेदेखि असार पहिलो सातासम्म लगातार आएको बाढीले विद्युत् उत्पादन गर्दै आएका १०७.५४ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनामा क्षति पुर्यायो।

बाढीले कारण संखुवासभा, भोजपुर, पाँचथर, ताप्लेजुङमा निर्माणाधीन ३६९.३३ मेगावाट क्षमताका २० वटा जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले हालसालै सार्वजनिक गरेको तथ्यांकले देखाउँछ। इप्पानका अनुसार पूर्वी नेपालमा बाढीले ३१ वटा जलविद्युत् आयोजनाका भौतिक संरचनामा क्षति पुर्याउँदा ८ अर्ब रूपैयाँभन्दा बढीको नोक्सानी भएको  छ।

मनसुन सुरुअघि नै भारी वर्षा

२०८० सालको मनसुन सुरु हुनुअगावै पूर्वी नेपालका चार जिल्लामा भारी वर्षा भयो। जल तथा मौसम विज्ञान विभागले २०८० जेठ ३१ गतेदेखि नेपालमा मनसुन भित्रिने बताएको थियो। तर पूर्वी नेपालमा मनसुन भित्रिने समयभन्दा अघि नै भारी वर्षा भयो। विभागका प्रवक्ता सुनिल पोखरेल पूर्वी नेपालमा भारी वर्षाकै कारण बाढीपहिरो आएको बताउँछन्।

‘संखुवासभाको अरूण उपत्यकामा प्राकृतिक रूपमा पनि विशेष खालको मौसम पाइन्छ। त्यहाँ नेपालको अन्य भूभागमा भन्दा फरक खालको मौसम हुने भएकाले पनि छुट्टै खालको वर्षा हुन्छ,’ उनले भने, ‘जलवायु परिवर्तनकै कारण पछिल्लो समयमा वर्षाकोे प्रकृतिमा बदलाव आइरहेको छ। यसकै कारण वर्षाको प्रकृतिमा बदलाव आएको हो कि भन्ने हामीलाई लागिरहेको छ। तर यसलाई वैज्ञानिक रूपमा पुष्टि गर्न भने गाह्रो छ।’

विभागको मौसम राडारले संखुवासभाका विभिन्न ठाउँमा बाढी आउँदाको समयमा प्रतिघण्टा ६०/७० मिलिमिटरभन्दा धेरै वर्षा भएको देखाउँछ। जेठ ३० गते संखुवासभाको नुम स्टेसनमा १४१.६ मिलिमिटर वर्षा भएको रेकर्ड छ।

पाँचथरको फिदिम स्टेसनमा पनि ४९.४ मिलिमिटरको वर्षा भएको रेकर्ड देखिन्छ। त्यसपछिका एक सातासम्म पूर्वी नेपालमा वर्षा नियमित रूपमा भइरह्यो। संखुवासभास्थित नुम स्टेसनमा जेठ ३१ मा ५०.२ मिलिमिटर, जेठ ३२ मा २२ मिलिमिटर, असार १ गते १२३ मिलिमिटर वर्षा भएको रेकर्ड छ।

असार २ गते भने निकै कम अर्थात् ९ मिलिमिटर वर्षा भयो। असार ३ गते १११.४ मिलिमिटर र ५ गते ३८७.४ मिलिमिटर वर्षा भयो। असार ५ गतेको मध्यरातको दुई घण्टाको अवधिमा १८३.६ मिलिमिटर वर्षा भएको रेकर्ड छ। जलस्रोत इन्जिनियर नरेन्द्रमान शाक्य पूर्वी नेपालमा अत्यधिक वर्षाकै कारण जलविद्युत् आयोजनामा ठुलो क्षति भएको बताउँछन्।

‘पूर्वी क्षेत्रमा बाढी आउनुमा अचाक्कली वर्षा नै देखिन्छ,’ उनले भने, ‘एकै दिनमा झन्डै चार सय मिलिमिटर पानी पर्नु राम्रो संकेत होइन।’

सामान्यतया नेपालजस्तो भूबनोट भएको ठाउँमा आधा वा एक घण्टाको अवधिमा एक सय मिलिमिटर पानी पर्नुलाई भारी वर्षाको रूपमा लिइन्छ। धरानस्थित जल–मौसम कार्यालयका अनुसार संखुवासभाको नुममा सन् १९९७ को जुन ११ तारिखमा ३८८.३ मिलिमिटर वर्षा भएको थियो।

त्यस्तै सन् २००१ अप्रिल २२ तारिखमा ३९४.५ मिलिमिटर वर्षा भएको रेकर्ड छ। कार्यालयका अनुसार गत असार ५ गते संखुवासभामा ३८७.४ मिलिमिटर वर्षा भएको नुम स्टेसनको रेकर्डमा छ।

वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ अरूणभक्त श्रेष्ठ जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा बाढीपहिरोजन्य विपद् छिटोछिटो आउने गरेको बताउँछन्। ‘नेपालमा जलवायु परिवर्तनको असर देखा नपर्दा पनि बाढीपहिरो र भू–स्खलन नआउने भन्ने थिएन्,’ उनले भने, ‘विगतमा लामोलामो समयको अन्तरमा आउने बाढीपहिरा अहिले जलवायु परिवर्तनका कारण छिटोछिटो आउने सम्भावना बढेको छ।’ 

उनले अहिले नेपालमा आइरहेको बाढीपहिरो जलवायु परिवर्तनकै कारण हो कि भनेर शंका गर्ने ठाउँ पर्याप्त रहेको बताए। ‘विगतमा उच्च हिमाली भेगमा भारी वर्षा हुँदैनथ्यो। तर अहिले हिमाली भेगमा पनि एकैदिनमा एक सय मिलिलिटर पानी पर्दै आइरहेको छ। यो गतिको पानी प्राकृतिक हिसाबले पर्ने कुरा होइन्,’ उनले भने, ‘पछिल्ला वर्षमा हिउँ पर्ने ठाउँमा पनि भारी वर्षा हुन थालेको छ ।’

उनले नेपालसँग वर्षा मापन गर्ने साधन पर्याप्त नहुँदा पनि वैज्ञानिक रूपमा व्याख्या तथा विश्लेषण गर्न समस्या भइरहेको बताए।

२०७८ असार १ गते मादी कोरिडोर, दोर्दी कोरिडोर र मस्र्याङदी कोरिडोरमा पनि बाढीले २६ वटा जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो। त्यो बेला सञ्चालनमा रहेका १० वटा जलविद्युत् आयोजना र निर्माणाधीन १६ वटामा आयोजनामा क्षति पुगेको थियो। त्यसबाट पाँच अर्ब रूपैयाँभन्दा बढीको क्षति भएको आंकलन गरिएको थियो।

२०७८ असार १ गते बाढी आउनुअघिसम्म कास्की जिल्लामा अवस्थित ४४ मेगावाट क्षमताको सुपर मादी जलविद्युत् आयोजनाको ९५ प्रतिशत काम सकिएको थियो। तर मादी नदीमा १ गते आएको भीषण बाढीले क्षति गर्दा आयोजना निर्माण अवधि लम्बिन गई आर्थिक भारसमेत थपियो।

सुपर मादी जलविद्युत् आयोजनाको सुरुवाती लागत ७ अर्ब ४७ करोड रूपैयाँ भए पनि निर्माण अवधि लम्बिँदा यसको लागत ८ अर्ब ७० करोड रूपैयाँ पुगेको छ। सुपर मादी जलविद्युत् आयोजनाका सञ्चालक पुष्पज्योति ढुंगाना जलवायु परिवर्तनका कारण जलविद्युत् परियोजनमा गम्भीर प्रकृतिका चुनौतीसँग जुध्नुपर्ने अवस्था आएको बताउँछन्।

‘अर्बाैं रूपैयाँ खर्चेर निर्माण गरेको जलविद्युत् आयोजना बाढीको चपेटामा परिरहेका छन्,’ उनले भने ।’ बाढीकै कारणले निर्माण सम्पन्न हुने तर्खरमा रहेको सुपर मादी आयोजनाको लागत झन्डै ५४ करोड रूपैयाँ बढ्यो भने आठ महिना निर्माण अवधि लम्बियो। २०७८ असारमा मादी बेसिनका मात्रै होइन, दोर्दीखोला बेसिनका जलविद्युत् आयोजनामा पनि बाढीले क्षति पुर्याएको थियो। ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना, १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत् आयोजनालाई पनि बाढी क्षति पुर्यायो।

निर्माण लम्बिँदा आर्थिक भार पनि थपिने

२०७६ असार मसान्तसम्म २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको ९५ प्रतिशत काम भइसकेको थियो। आयोजनाले सोही सालको चैतमा काम सक्ने योजना बनाएको थियो। तर २०७६ साउन ८ गते दोर्दी खोलामा आएको भीषण बाढीले लमजुङको दोर्दी गाउँपालिकामा रहेको २५ मेगावाट क्षमताको दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको भौतिक संरचनामा क्षति पुर्यायो।

बाढीले बगाएर आयोजना निर्माणमा खटिएका ६ जना कामदारको मृत्यु भयो। बाढीले बगाएका चारजनाको अवस्था अझै अज्ञात छ। पहिला बाढीले भत्काएर क्षतिग्रस्त संरचना पुनर्निर्माण नसक्दै फेरि २०७८ असार १ मा आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा थप क्षति पुर्याएको थियो। बाढीकै कारण निर्धारित समयभन्दा ३४ महिनापछि अर्थात् २०७९ मंसिर १७ गतेदेखि मात्रै आयोजनाले व्यावसायिक रूपमा बिजुली उत्पादन गर्न थाल्यो। बाढीपहिरोले आयोजनाको निर्माण अवधि बढ्दा आयोजनाको लागत (सुरु लागत तीन अर्ब ९६ करोड २६ लाख ८२ हजार) बढेर ६ अर्ब ६४ करोड ७७ हजार रूपैयाँ पुग्यो।

जलस्रोत इन्जिनियर शाक्य जलविद्युत् आयोजनाका संरचना बाढीपहिरो र जलवायु परिवर्तनको असर थेग्न सक्नेगरी बनाउनुपर्ने बताउँछन्। जलाधारविद् मधुकर उपाध्याय अप्रत्यासित वर्षा र बाढीपहिरोको जोखिमलाई ध्यानमा राखेर आयोजनाको डिजाइन र निर्माण गर्नुपर्ने बताउँछन्।

उनी भन्छन्, ‘सरकारी निकायले जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिँदा, निर्माण र हस्तान्तरणसम्मको अवधिमा पनि नियमन गर्ने परिपाटीको विकास गर्न आवश्यक छ।’

विद्युत् विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौत नेपाल जलवायु परिवर्तन र बाढीपहिरोको उच्च जोखिमयुक्त मुलुकमा पर्ने भएकाले आयोजनाका संरचना निर्माण गर्दा विचार पुर्याउनुपर्ने बताउँछन्।

‘अब प्राकृतिक विपद् तथा जलवायु परिवर्तनमैत्री संरचना निर्माण गर्न जरुरी भइसकेको छ। अर्बाैं रूपैयाँ लगानी गरेर निर्माण गरिएका आयोजना निर्धारित समयभन्दा ६ महिना ढिला हुँदा पनि करौडौं रूपैयाँको भार थपिन्छ।’

महानिर्देशक चटौतले सरकार जलविद्युत् परियोजना निर्माणमा अन्तर्राष्ट्रियस्तरका नीति नियम बनाउनेगरी जुटिरहेको बताए।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले मनसुनजन्य बाढीले ठूला खालका जलविद्युत् परियोजनाको पूर्वाधारमा ठुलै क्षति पुर्याउँदै आएको बताए। उनले नेपालमा विभिन्न विपद्को कारक जलवायु परिवर्तन भए पनि वैज्ञानिक अध्ययन र शोध नभएकाले सरकारले क्षति तथा नोक्सानीबापतको रकम दाबी गर्न नसकेको बताए।

सुपर हेवा पावर कम्पनी लिमिटेडका अध्यक्ष तामाङ मनसुनजन्य विपद्का कारणले आगामी दिनमा जलविद्युत् आयोजना निर्माण गर्दा सावधानी अपनाउनुपर्ने बताउँछन्।

इन्टरेक्टिभ म्याप हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित: १३ माघ २०८० ००:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App