झापा – झापामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको धान सुपरजोनमा सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको छ । भूमिगत पानी तानेर आधुनिक सौर्य ऊर्जा प्रविधिबाट सिँचाइ गर्न थालिएको सुपरजोन इकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार सिँचाइका लागि स्थायी प्रकृति विद्युत् आपूर्ति व्यवस्था गर्न र लागत न्यून बनाउन सौर्य ऊर्जा उपयोगमा ल्याइएको हो । ‘एउटा सौर्य बोरिङ जडान गर्न पाँच लाख लाग्छ,’ उनले भने, ‘सुपर जोन क्षेत्रमा कम्तीमा दुई बाली व्यावसायिक खेती गर्ने कृषक समूह वा कृषि सहकारीलाई छनोट गरी लागतको ८५ प्रतिशतसम्म अनुदान दिइने छ ।’
सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराईले कम लागतमा धेरै उत्पादन लिन र कृषकलाई बजारमा प्रतिस्पर्धा गर्नसक्ने बनाउन सौर्य बोरिङमा जोड दिइएको बताए । यसका लागि कृषकबाट लागतको १५ प्रतिशत बेहोर्नुपर्छ । उनले भने, ‘छनोट प्रक्रिया पूरा गरेर किसानलाई सौर्य बोरिङ उपलब्ध गराइनेछ ।’ हालसम्म सुपरजोन क्षेत्रका कृषकले पाँचवटा सौर्य बोरिङ जडान गरिसकेका छन् ।धान उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले दक्षिणी झापाको पृथ्वीनगर, केचना, बालुबाडी, पथरिया, बनियानी र पाठामारीमा यो प्रविधि सञ्चालनमा ल्याएको छ । दुई वर्षयता परियोजनाले नयाँ÷नयाँ प्रविधि भिœयाएर व्यावसायिक कृषितर्फ किसानलाई आकर्षण गर्ने काम गरिरहेको छ ।
त्यस्तै, परियोजना अन्तर्गत किसानलाई ब्याड नराखी सिधैं रोप्न सकिने प्रविधिको आधुनिक औजार ‘ड्रम सिडर मेसिन’ उपलब्ध गराएको छ । धान सुपरजोन कार्यान्वयन इकाइ बनियानीका प्रमुख तिमल्सिनाका अनुसार यो मेसिनको प्रयोगले किसानको ८० प्रतिशत श्रम र लगानीको बचत हुने बताए ।परियोजनाअन्तर्गत किसानलाई मेसिन खरिद गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराइन्छ । एउटा मेसिनको मूल्य १५ हजार रुपैयाँसम्म पर्छ । यसवर्ष सुपर जोन क्षेत्रको पाँच सय बिगाहा जमिनमा चैत धान लगाइने भएको छ ।
प्रकाशित: ६ फाल्गुन २०७४ ०४:०१ आइतबार