४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल आउने पर्यटक लक्ष्यभन्दा बढी, सबैभन्दा धेरै भारतबाट

फाइल तस्बिर

सन् २०२३ मा नेपाल भ्रमणका लागि आउने विदेशीहरू सरकारी लक्ष्य भन्दा झन्डै १५ हजार बढी आएका छन्। 

सरकारले सन् २०२३मा १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य राखेको थियो। तर, सरकारले राखेको लक्ष्य भन्दा झन्डै १५ हजार बढी १० लाख १४ हजार ८ सय ८२ जना पर्यटक नेपाल भित्रिएका हुन्।

नेपाल आउने पर्यटकमा सबैभन्दा धेरै दक्षिणी छिमेकी मुलुक भारतका नागरिक छन्। भारतबाट ३ लाख १९ हजार ९ सय ३६ जना पर्यटक नेपाल आएका छन् भने जुन नेपाल भित्रिएका मध्य यो ३१.५२ प्रतिशत हो। जुन कोरोना भाइरसको सङ्क्रमण अघि २६ प्रतिशत मात्र भारतीय पर्यटक नेपाल आएका थिए।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भारतबाट नेपाल भ्रमण आउने पर्यटकहरूको वृद्धि पर्यटन क्षेत्रलाई उत्साहित बनाएको बताए। भारतीयहरूका लागि नेपाल सहज र सरल गन्तव्य भएको जनाउँदै उनले भने, ‘भारतीय पर्यटकका लागि नेपाल नजिकको गन्तव्य हो। भारतको भन्दा यहाँको मौसम राम्रो छ। यस्तै भारतसँगको हवाई कनेक्टिभिटी पनि एकदमै राम्रो अवस्थामा छ। यसले भारतीय पर्यटकलाई नेपाल आउन थप सहजता प्रदान गरेको छ।’

भारतपछि नेपाल घुम्न अमेरिकी नागरिक आएको तथ्याङ्कले देखाएको छ। अमेरिकाबाट सन् २०२३ मा १ लाख ३ सय ५७ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। नेपालका कुल पर्यटकको यो झन्डै १० प्रतिशत हो। यो सन् २०१९ को तुलनामा ८ प्रतिशतले बढी हो। युकेबाट ५२ हजार ८ सय ६६ जना, अस्ट्रेलियाबाट ३८ हजार ७ सय ५८ जना पर्यटक नेपाल भित्रिएका छन्। नेपालमा पछिल्लो समय अन्तर्राष्ट्रिय चेन होटलहरु धेरै खुलिरहेको जनाउँदै पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने भने,‘यसले अमेरिका, युके, युरोपियन मुलुकहरूलाई नेपाल आउन प्रेरित गरेको छ। अन्तर्राष्ट्रिय पर्यटकलाई यस्ता सेवा सुविधाले आकर्षित गर्छ।’

अर्को छिमेकी मुलुक चीनले भने २०२३ को मार्च देखि मात्र आफ्ना नागरिकलाई नेपाल घुम्न जाने अनुमति दिएको हो। चीनबाट ६० हजार ८ सय ७६ जना मात्र पर्यटक नेपाल आएको तथ्याङ्क छ।

विदेशी पर्यटकले नेपालमा प्राकृतिक तथा सांस्कृतिक अनुभव बटुल्नुको साथै पछिल्लो समय पर्यटक गन्तव्य र गतिविधि पनि फराकिलो बन्दा भ्रमण गर्न रुचि राख्दै आएका छन्। अहिले साहसिक पर्यटन, इको टुरिजम, वर्ड टुरिजम, स्पोर्टस टुरिजम, पुतली टुरिजम, फ्लावार टुरिजम, मसरुम टुरिजम, हनि हन्टिङ पर्यटन लगायतका क्षेत्रहरूको विकास भएको छ।

सरकारले मिटिङ इन्सेन्टिभ कन्फरेन्स एक्जिभिसनहरु लगातार गर्ने, हवाई कनेम्टिभिटिहरू बढाउने तथा निजी क्षेत्रसँग सहकार्य गरिरहेको छ। त्यसले पनि नेपाल घुम्न आउने पर्यटकहरूका लागि सह बनेको छ। साथै, सरकारले समय अनुकूल र पर्यटन व्यवसाय मैत्री नीति निर्माण भए नेपाल आउने पर्यटकको संख्या अझै बढ्न सक्नेछ।

प्रकाशित: १८ पुस २०८० १२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App