६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सहकारी डुबाउन मुख्य भूमिका सञ्चालकको

अध्यक्ष तथा पूर्व अध्यक्षको बद्मासीले सहकारीका हजारौं बचतकर्ताको करिब तीन अर्ब रूपैयाँ जोखिममा परेको छ। कास्कीभित्र सञ्चालित विभिन्न पाँचवटा सहकारी डुब्दा खाई नखाई बचत गरेका सर्वसाधारण बचतकर्ताको रकम जोखिममा परेको हो।  

ती सहकारी अपचलन गराउन सञ्चालक समितिका अध्यक्ष र पूर्वअध्यक्ष हावी भएको पुष्टि पनि भएको छ। किनकि डुबेका सहकारीका अध्यक्ष र पूर्व अध्यक्षसहित सञ्चालक समितिका पदाधिकारी पक्राउ पर्ने डरले फरार छन्।  

कास्कीका सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, मित्रमिलन बचत तथा ऋण सहकारी संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, बलिदानी बचत तथा ऋण सहकारी संस्था र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था डुब्दा सर्वसाधारण बचतकर्ताको २ अर्ब ८३ करोड ३७ लाख ७१ हजार रूपैयाँ जोखिममा परेको प्रहरीमा उजुरी परेको छ। डुबेका पाँच सहकारीका ३ हजार ६ सय ९ जनाले आफ्नो रकम डुबेको भन्दै प्रहरीमा उजुरी दिएका छन्।

सञ्चालकले ऐनअनुसार सहकारी नचलाई बचत अपचलन गर्दा आफूहरू जोखिममा परेको भन्दै बचतकर्ताले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको कास्की प्रहरीले जनाएको छ। उजुरीमा सहकारी सञ्चालकले ठगी गरेको बचतकर्ताले उल्लेख गरेका छन्।

कास्कीको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका ७ सय १४ जनाले उजुरी दिएका छन्। मित्रमिलनमा ३ हजार ४ सय ४६ जनाले १८ करोड २ लाख ३४ हजार ४ सय ९७ रूपैयाँ बचत गरे पनि ७ सय १४ जना बचतकर्ताले मात्रै उजुरी हालेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) श्रवणकुमार विकले जानकारी दिए। उनका अनुसार ती बचतकर्ताले संचालक समितिका पदाधिकारीसहित ३२ जनाविरुद्ध उजुरी दिएका छन्। तीमध्ये ५ जना पक्राउ गरिएको र बाँकी २७ जना फरार रहेको डिएसपी बिकले बताए।  

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सदस्य गोपाल खनाल, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल रहेका छन्। सहकारीका उपाध्यक्ष विजय लम्साल, पूर्व लेखा समिति सदस्य अर्जुन गिरीलगायत भने फरार रहेको डिएसपी विकले बताए।  

सहकारीको शाखा खोल्न भनेर १ करोड ५ लाख रूपैयाँ घुस लिएको आरोपमा स्याङ्जा वालिङ नगरपालिका–११ धनपुरे घर भई पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ५२ वर्षीय उदयबहादुर पराजुलीलाई पनि पक्राउ गरिएको उनले जानकारी दिए।

त्यस्तै सूर्यदर्शनका ११ सय जनाले प्रहरीमा उजुरी हालेका छन्। उनीहरूले सहकारीका १९ जना सञ्चालकविरुद्ध उजुरी हालेका हुन्। सहकारीका ११ सय बचतकर्ताले १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८ सय ९९ रूपैयाँ जम्मा गरेका थिए। सञ्चालकमध्ये सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई पक्राउ गरिएको प्रहरीले बताएको। दर्लामीलाई बिहीबार मात्र पक्राउ गरिएको हो।  

सहकारीका पूर्वअध्यक्ष गीतेन्द्रबाबु (जिबी) राईसहित वर्तमान तथा पूर्व सञ्चालक समिति र लेखाका कर्मचारीसहित अन्य १७ जना अझै फरार छन्। पूर्व अध्यक्ष जिबी राई, भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा र पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) विरुद्ध इन्टरपोलको ‘डिफ्युजन नोटिस’ जारी गर्न कास्की प्रहरीले पत्राचार गरिसकेको पनि उनले बताए।

यसैगरी ईमेज सहकारीका ५ सय २४ जनाले आफूहरू ठगिएको भन्दै उजुरी हालेको कास्की प्रहरीले जनाएको छ। उनीहरूले सहकारीका १५ जना सञ्चालकबिरुद्ध उजुरी दिएका छन्। इमेजका बचतकर्ताले ६४ करोड ८८ लाख ६० हजार ४ सय ७९ रूपैयाँ बचत भएको बताएका छन्। त्यसमध्ये ५७ करोड रूपैयाँ बढी रकम जोखिममा परेको उनीहरूको उजुरीमा उल्लेख छ। उजुरी परेकाहरूविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य विमला गुरुङ, लेखा समिति संयोजक शक्ति किसान, लेखा समिति सदस्य भूमि भण्डारी, निशा कार्की र विष्णु पौडेललाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएकामा २ जना पुर्पक्षका लागि थुनामा पठाइएको डिएसपी विकले जानकारी दिए। अन्य ४ जना भने धरौटीमा छुटिसकेको उनले बताए। बाँकी ९ जना फरार रहेको प्रहरीको भनाइ छ।  

सहकारीका अध्यक्षसमेत रहेका बागलुङको ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली अहिले पनि फरार छन्। नेपालीले केही समय अघि एक विज्ञप्ती प्रकाशित गरेर बचतकर्ताको रकम फिर्ता गर्ने बचन पनि दिएका थिए। तर, उनी अहिलेसम्म फरार छन्।

त्यस्तै बलिदानी सहकारीका १ सय ९८ बचतकर्ताले आफूहरूको रकम अपचलन गरेको भन्दै उजुरी हालेका छन्। उनीहरूले सहकारीका १५ जनाबिरुद्ध उजुरी हालेका छन्। बलिदानी सहकारीमा ६ हजार ३ सय ४५ जनाले १० करोड ६९ लाख ३५ हजार ८ सय ४४ रूपैयाँ बचत गरेका थिए। त्यसमध्ये आफूहरूको ४ करोड २८ लाख ५३ हजार ६० रूपैयाँ अपचलन भएको उजुरीमा भनिएको छ।

उजुरी परेकामध्ये अध्यक्ष अजय श्रेष्ठ, उपाध्यक्ष राजन लम्साल, कोषाध्यक्ष सुवर्णमान नकर्मी, सदस्य डिल्लीराम सिग्देल र लेखा समिति सदस्य सचिना थापालाई पक्राउ गरिएको डिएसपी विकले जानकारी दिए। उनका अनुसार अन्य १० जना अझै फरार छन्।  

यस्तै शिवशिखर सहकारीका १ हजार १ सय ३९ जनाले ठगिएको भन्दै उजुरी हालेका छन्। सो सहकारीमा ७ हजार १ सय ७० जनाले ५४ करोड २३ लाख ८५ हजार ३ सय ६८ रूपैयाँ बचत गरेका थिए। त्यसमध्ये ४३ करोड ५९ लाख ८६ हजार २ सय ४२ रूपैयाँ अपचलन गरेको भन्दै उनीहरूले एघार जनाविरुद्ध उजुरी दिएका हुन्। उजुरी परेकामध्ये सदस्य अमिश राज भण्डारी, पुस्कर मल्ल, पूर्वअध्यक्ष केदारनाथ शर्मा र व्यवस्थापक लीलानाथ शर्मालाई पक्राउ गरिएको डिएसपी विकले जानकारी दिए। बाँकी ७ जना फरार रहेको उनको भनाइ छ।

सहकारी क्षेत्रमा समस्या बढेको र प्रहरीमा उजुरी पर्न थालेपछि कास्की प्रहरीले सहकारी अपचलन सम्बन्धी अनुसन्धान गर्न पोखरा महानगरपालिकासमक्ष विज्ञ उपलब्ध गराउन अनुरोध गरेको थियो। त्यसपछि महानगरले चार्टर्ड एकाउन्टेन्ट अनिल लामिछाने र सहकारी क्षेत्रका जानकार दीपकप्रकाश आचार्यलाई विज्ञका रूपमा पठाएको थियो।

महानगरको सहकारी शाखा प्रमुख भरतराज पौडेलका अनुसार विज्ञको रूपमा प्रहरीलाई सघाएका लामिछाने र आचार्यद्वयले पोखराका सूर्यदर्शन, इमेज र बलिदानी सहकारीको अध्ययन गरेर प्रहरीलाई मुद्दा अभियोजनका लागि सघाएका थिए। पौडेलले भने, ‘प्रहरीले विज्ञ चाहियो भनेपछि हामीले लामिछाने र आचार्यलाई पठाएका हौँ। उहाँहरूले सहकारीबारे अध्ययन गरेर प्रहरीमा बुझाउनु भएको हो।’

अध्यक्ष पौडेलले नियमनकारी निकाय कमजोर बन्दा सहकारीमा समस्या देखिएको बताए। ‘सहकारी छाडा तरिकाले सञ्चालन हुँदा समस्या देखिएको रहेछ। महानगरको विज्ञ समूहले पनि त्यही निष्कर्ष निकालेका छन्,’ उनले भने, ‘सहकारीलाई एनजिओ जसरी छाडा छोड्दा यो अवस्था आएको हो। लोभी बचतकर्ता, सहकारीको पृष्ठभूमिको भेउ नपाएका सञ्चालक र सहकारी ऐन कडाई नगर्दा समस्या देखिएको हो।’ यसलाई नियमन गर्न ढिलाई गरे अन्य सहकारीमा पनि समस्या थपिन सक्ने उनको भनाइ छ। कास्कीमा सबैगरी ३६४ सहकारी छन्।

पोखरा महानगरपालिका सहकारी समिति सदस्य तथा सहकारीका जानकार दीपकप्रकाश आचार्य सहकारी आफैं स्वनियमन हुनुपर्नेमा हन नसकेको र त्यहाँ व्यक्ति प्रधान (हर्ताकर्ता) हुँदा समस्या देखिएको बताउँछन्। ‘सहकारीमा सुशासन पनि कमजोर भयो,’ उनले भने, ‘सेयर सदस्यले नियमन गर्नुपर्ने हो, तर सकेनन्। मुख्य पदाधिकारी (अध्यक्ष) हाबी हुँदा सहकारीमा मनोमानी र अपचलन बढेको पाइयो।’  

कतिपय सहकारीमा पूर्वअध्यक्ष नै हर्ताकर्ता बनेर वर्तमान समितिमाथि हैकम लाद्दासमेत सहकारीमा समस्या थपिएको उनको भनाइ छ। ‘कतिपय सहकारीमा अध्यक्ष सक्षम छैनन्। सहकारी क्षेत्र नबुझेको अध्यक्ष भएपछि कर्मचारीले आफू अनुकूल चलाउँदा पनि सहकारीमा जोखिम थपियो,’ उनले भने।

उनका अनुसार सहकारी ऐनले सदस्य नबनेसम्म आर्थिक कारोबार गर्न दिँदैन तर ऋण लिनलाई अधिकांश व्यक्ति बुझ्दै नबुुझी सदस्य बने। जसले गर्दा कार्यसमितिमा उनीहरूको पहुँच पुगेन र मनोमानी भइरहँदा पनि नियमन गर्न सम्भव भएन।

प्रकाशित: १४ पुस २०८० ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App