१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

स्थानीय बाली मासिने किसानलाई चिन्ता

गण्डकी प्रदेशका कृषकले स्थानीय बालीका बीउ मासिने चिन्ता व्यक्त गरेका छन्। 

गण्डकी प्रदेशसभामा पेस गरिएको ‘गण्डकी प्रदेशमा बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ छलफलमा सहभागी किसानले स्थानीय बाली मासिने चिन्ता व्यक्त गरेका हुन्।

नवलपुर प्रगतिनगरका किसान त्रिलोचन भट्टराईले स्थानीय बालीका बीउ कम हुँदै गएको बताए। ‘हामीले बढी उत्पादन हुने भन्दै हाइब्रिड बीउमा जोड दिएका छौं’, उनले भने, ‘यही कारण हाम्रा स्थानीय बाली मासिने खतरा बढेको छ।’

स्थानीय बालीका बीउ संरक्षणका लागि बीउ बिमा र अनुदानमा जोड दिनुपर्नेमा भट्टराईले जोड दिए। उनले भने, ‘स्थानीय बाली संरक्षणका लागि राज्यले बीउमा बिमा र अनुदान दिनुपर्छ।’ उन्नत जातका बीउ उत्पादनमा अनुदान नदिन पनि उनको आग्रह थियो।

कास्कीका किसान टेकनाथ बरालले परम्परागत बाली कोदो, कागुनो, स्थानीय सेतो मकै, जौ, उवा फापर, जेठोबुढो धान लगाउनेको संख्या घट्दै गएको बताए। ‘हामीले लगाउने बालीको माग बढेको छ, तर हाइब्रिडले उत्पादन घटाएको छ’, उनले भने, ‘जग्गा प्लटिङको पनि समस्या छ। मेरोमा स्थानीय र हाइब्रिड बालीको उत्पादन उस्तैउस्तै छ। समग्र गाउँतिरको हेर्दा भने घटेको छ। यसमा राज्यले भूमि बैंकको अवधारणा अघि सार्नुपर्छ।’

लमजुङ घनपोखराका किसान भक्तबहादुर गुरुङले भारतले हाइब्रिड बीउमा रोक लगाउने हो भने नेपालमा अनिकाल समस्या निम्तिने चिन्ता व्यक्त गरे। उनले भने, ‘भारतले हाइब्रिड बीउ रोकिदिने हो भने अबको दुई वर्षमा नेपालमा अनिकाल समस्या व्याप्त हुने सम्भावना देखेको छु।’ सरकारले स्थानीय बाली बीउ जोगाउने कार्यक्रम नल्याएको किसान भक्त बहादुरको गुनासो छ।

गण्डकी प्रदेशको बीउविजन प्रयोगशालाका निमित्त प्रमुख अमृत रेग्मीले हाइब्रिडसँगै रैथाने बाली संरक्षण गर्दै जानुपर्ने बताए। राष्ट्रको समग्र नीतिअनुसार उत्पादन र उत्पादकत्व बढाउने रहेकाले यसका लागि हाइब्रिड बीउ नै आवश्यक पर्ने उनको भनाइ थियो।

प्रदेश सरकार बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने तयारीमा रहेको रेग्मीले जानकारी दिए। उनका अनुसार यसका लागि सामाजिक विकास तथा कृषि समितिले विभिन्न सरोकारवालासँग छलफल गरिरहेको छ। विधेयक पास भएपछि स्थानीय बालीको बीउ जोगाउन सहयोग पुग्ने सामाजिक विकास तथा कृषि समितिका सभापति फडिन्द्र देवकोटाले जानकारी दिए। –रासस

प्रकाशित: ७ पुस २०८० ०९:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App