काठमाडौं- निर्माण सम्पन्न भएका योजनाको रकम समयमा भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीले डिभिजन सडक कार्यालय काठमाडौं – १ को कार्यालयमा ताल्चा लगाएका छन्। काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले आर्थिक वर्ष २०७३–७४ सम्म निर्माण सम्पन्न गरेका योजनाको रकम भुक्तानी नगरेको भन्दै बुधबार कार्यालयमा ताल्चा लगाएका हुन्।
संघले बुधबार १२ देखि एक बजेसम्म एक घण्टा कार्यालयको मुख्य गेटमा ताल्चा लगाएर विरोध प्रदर्शनमा उत्रिएका थिए। कार्यालयमा प्रमुख तथा अन्य कर्मचारी भित्रै थुनिएका थिए। निर्माण व्यवसायीले बारम्बार भुक्तानी तोकेता गर्दा समेत सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं १ ले बारम्बार आलटाल गरिरहेको व्यवसायीले दावी गरेका छन्। काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका अध्यक्ष बालकृष्ण थापाले गत असार मशान्तसम्म निर्माण सम्पन्न गरेका योजनाहरुको रकम भुक्तानी नभएकाले बाध्य भएर ताल्चा लगाएको बताए।
‘निर्माणसम्पन्न भइसकेका योजनाको बारम्बार भुक्तानीको लागि तोकता गर्यौं। तर, बारम्बार आलटाल गरेर नै ताल्चा लगाउन बाध्य भएका हौं,’ उनले भने,‘ समयमा नै रकम भुक्तानी नपाउँदा निर्माण व्यवसायी मर्कामा परेका छौँ।’ उनका अनुसार करिव ३० करोड भुक्तानी लिन बाकीँ रहेको छ। नयाँयुग निर्माण सेवा प्रालीका सञ्चालक टिकाराम सुवेदीले पुष्पाञ्जली मार्ग कोटेश्वरमा सडक निर्माण सम्पन्न गरेपनि हालसम्म ७० लाख रुपैयाँ भुक्तानी नपाएको दावी गरे। ‘गत असार मशान्तभित्रै निर्माण सम्पन्न मात्रै होइन्, भ्याटविल समेत भुक्तानी गरिसक्यौं,’ उनले भने,‘निर्माणसम्पन्न गरेको ६ महिनाभन्दा धेरै भइसक्यो। तर,अझैसम्म भुक्तानी पाउन सकेका छैनौ।’
राजधानी कन्स्ट्रक्सन प्रालीले डिभिजन सडक कार्यालसँग भएको सम्झौता अनुसार राष्ट्रिय अनुसन्धान परिषद्ले सिंहदरबार परिसरको सडक कालोपत्रे गरेपनि अझैसम्म ६० लाख रुपैयाँ भुक्तानी नपाएको सञ्चालक कविता भट्टराईले दावी गरिन् । ‘समयमा नै भुक्तानी नपाउँदा निर्माण सामग्री सप्लायर्सले हैरान पारिसके,’ उनले भनिन्, ‘बैंकबाट ऋण लिएर काम थाल्नुपर्छ ।तर, समयमा नै भुक्तानी नहुँदा निर्माण व्यवसायी ऋणमा डुब्ने जोखिम बढेको छ ।’ गौरीघाट–बौद्धसडक निर्माण सम्पन्न भइसकेपनि समयमा नै भुक्तानी नपाएको रौताहा/साप जेभीका सञ्चालक केदार बुढाथोकीले बताए ।
निर्माण व्यवसायीका अनुसार विभिन्न योजनामा करिव २ सय निर्माण व्यवसायीले भुक्तानी नपाएको दावी गरेका छन् । डिभिजन सडक कार्यालय काठमाडौं–१ का प्रमुख मुकुन्दराज अधिकारीले अर्थमन्त्रालयले समयमा रकम निकासा नगर्दा ठेकेदार कम्पनीलाई रकम भुक्तानी गर्न नसकेको बताए। ‘मन्त्रालयले समयमा नै रकम निकासा नगर्दा गत आर्थिक वर्षका निर्माण सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी गर्न सकेका छैनौं,’ उनले भने,‘मन्त्रालयमा पटक–पटक तोकेता गर्दा समेत रकम उपलब्ध नहुँदा समस्या भएको हो ।’ डिभिजन सडक कार्यालय काठमाडौं–१ले १ सय ९१ वटा योजना ठेक्का लगाएको छ। उनका अनुसार निर्माण सम्पन्न भइसकेका योजनाका करिव ३० करोड रुपैयाँ ठेकेदारलाई भुक्तानी गर्न बाकीँ छ। प्रमुख अधिकारीले अर्थमन्त्रालय र सडक विभागसँग समन्वय गरेर छिट्टै निर्माण व्यवसायीलाई रकम भुक्तानी गर्ने योजना रहेको बताउँछन् । काठमाडौं उपत्यका निर्माण व्यवसायी संघले भुक्तानी रकम नपाएसम्म चरणबद्ध रुपमा आन्दोलनमा उत्रिने जनाएको छ । संघका अनुसार विहीबार क्षेत्रिय सडक निर्देशनालय बबरमहल र डिभिजन सडक कार्यालय काठमाडौं १ मा विहान ९ बजेदेखि १ बजेसम्म ताल्चा लगाउने कार्यक्रम रहेको जनाएको छ।
प्रकाशित: १० माघ २०७४ १०:०४ बुधबार