२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आक्रमक बन्दै धितोपत्र बोर्ड

काठमाडौं– नेपाल धितोपत्र बोर्डले तीन दलाल कम्पनीलाई कारबाही गरेको १५ दिन नवित्दै पुनः एक अर्को दलाल कम्पनीलाई कारबाही गरेको छ । आइतबार व्यावसायिक आचरण पालना नगरेको भन्दै नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्युरिटिज प्रालिलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

यसअघि पुस २५ गते नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकरलाई साढे २१ लाख जरिवाना गरेको थियो । बोर्डले अग्रवाल र श्रीहरि सेक्युरिटिज प्रालिलाई हाइड्रोपावर कम्पनीहरुको नक्कली सेयर कारोबार प्रकरणमा १०–१० लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । सोही कसुरमा यी कम्पनीका कार्यकारी प्रमुखलाई जनही ५०–५० हजार रुपैयाँ जरिवाना गरेको थियो । सोही प्रकरणमा बोर्डले अर्को दलाल कम्पनी सिप्रवी सेक्युरिटिजलाई ५० हजार रुपैयाँ जरिवाना र यसका कार्यकारी प्रमुखलाई सचेत गराएको थियो ।

आइतबार पुन प्रज्ञान सेक्युरिटिजलाई कारबाही गरेको छ । धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्युरिटिज प्रालिले गत चैत्रदेखि विराटनगरमा शाखा कार्यालय स्थापना गरी उक्त शाखाबाट समेत कारोबार गर्दै आएको छ । उक्त शाखाका शाखा प्रमुखले गतजेठ ४ गते हुने सिभिल बैंकको साधारण सभा अगावै सेयर किन्नुहोस्, ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाईदा हुन्छ, फाईदा गराउने जिम्मा हाम्रो भन्ने आशयको भाइवर म्यासेजमा ग्रुप बनाएर पठाएको उजुरी परेपछि बोर्डबाट सो सम्बन्धमा छानबिन गरेको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिम धितोपत्र व्यवसाय सञ्चालन गर्ने संस्थाले आफ्नो व्यवसायलाई स्वस्थ र उच्चस्तरीय राख्ने, उचित सीप, होसियारी र मेहनतका साथ धितोपत्र व्यवसाय गर्ने, धितोपत्र बजारको उच्च मर्यादा कायम राख्ने, धितोपत्र व्यवसायसँग सम्बन्धित अभिलेख राम्रोसँग राख्ने, धितोपत्र व्यवसाय सञ्चालन गर्ने सम्बन्धमा दक्ष जनशक्ति तयार गर्नका लागि कर्मचारीलाई आवश्यक तालिमको व्यवस्था गर्ने जस्ता कार्य गरी व्यावसायिक स्तर कायम गर्नुपर्ने हुन्छ । तर, बोर्डको  छानबिनबाट उक्त संस्थाले आफ्नो शाखा कार्यालयको काम कारबाहीलाई सुक्ष्म रुपमा अनुगमन नगरी व्यावसायिक आचरण कायम गराउन नसकेको र संस्थाले व्यावसायिक स्तर कायम गरेको नदेखिएकाले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम बोर्डबाट प्रज्ञान सेक्युरिटिजलाई उक्त जरिवाना गरेको हो ।

बोर्डले बजार अनुगमन तथा सुपरीवेक्षण कार्यलाई सुदृढ गर्दै लगेको  छ । उसले धितोपत्र सम्बन्धी ऐन बमोजिमको कारबाहीलाई पनि सशक्त बनाउँदै लगेको छ । यस्ता कारबाहीबाट धितोपत्र व्यवसायीलाई धितोपत्र व्यवसाय सञ्चालन गर्दा आफूले पालन गर्नुपर्ने व्यावसायिक सिद्धान्तको पालनातर्फ थप सजग गराउने र यसले दोस्रो बजार कारोबार थप स्वच्छ र पारदर्शी हुन सहयोग पुग्ने बोर्डको अपेक्षा रहेकोे जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ८ माघ २०७४ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App