१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

बिजुली अभावले सेजमा उद्योग खोल्न ढिलाइ

भैरहवा – एक वर्षभित्रै उद्योग स्थापना गर्नेगरी सम्झौता गरिएको भैरहवा सेजमा वर्षदिन बित्नै लाग्दा समेत उद्योग स्थापना प्रक्रिया सुरु हुन सकेको छैन । अन्य पूर्वाधार तथा ऐन तयार भएपनि सेजमा विद्युत् नहुँदा उद्योग स्थापना हुन नसकेको हो।

गत फागुनमा विशेष आर्थिक क्षेत्र प्राधिकरण र १९ वटा औद्योगिक प्रतिष्ठानबीच सम्झौता भएको हो । सम्झौता गर्दा एक वर्षभित्रै उद्योग स्थापना गरीसक्ने भनिएको थियो । तर उद्योगका लागि अत्यावश्यक विद्युत् नहुँदा लगानीकर्ता अन्योलमा परेका छन् । ‘विद्युत् पहिलो आवश्यकता हो, तर विद्युत् नै नभइ कसरी उद्योग स्थापनाको प्रक्रिया थाल्ने अन्योलमा छौं,’ सिद्धार्थ ग्रुपका कार्यकारी निर्देशक राजेश अग्रवालले भने । विद्युत् नहुँदा कन्स्ट्रक्सनको काम सुरु गर्न नपाएको उनले बताए।

अर्का लगानीकर्ता जगदम्बा ग्रुपका डाइरेक्टर अनिल जटियाले सेजमा निर्यातजन्य उद्योग खोल्ने योजना बनाएको चार वर्ष बितिसक्दा पनि विद्युत्को व्यवस्था नहँुदा आफूहरु मर्कामा परेको बताए । तत्काल विद्युत्को व्यवस्था गरी उद्योग स्थापनाको बाटो खोलिदिन उनले सम्बन्धित निकायलाई आग्रह गरे । विद्युत् लगायत आवश्यक पूर्वाधारको व्यवस्था समयमै गर्न पटकपटक माग गरिएपनि सेज प्राधिरकणले त्यसको बेवास्ता गरेको गुनासो उद्योगीको छ ।

भैरहवा सेजमा सञ्चालन हुने १९ वटा निर्यातजन्य उद्योग दर्ता भइसकेका छन् । ती उद्योगले सात अर्बको लगानी गर्ने र एक वर्षभित्रै उद्योग सञ्चालनमा ल्याउने गरी सम्झौता गरिएको हो । तर सम्झौताको वर्षदिन बित्न लाग्दा पनि विद्युत् आइपुगेको छैन । जसका कारण लगानीकर्ता निरास भएका छन् । विद्युत् अभावका कारण समयमै उद्योग स्थापना गर्न नपाउँदा सेजभित्र खोल्ने भनिएका उद्योग अन्यत्र खोल्न बाध्य भएको उद्योगीको गुनासो छ । उद्योगी अनिल जटियाले योजना र सम्झौता बमोजिम समयमै सेजमा उद्योग स्थापना गर्न नपाएपछि अन्यत्र लगानी गर्नुपरेको बताए । ‘एउटा उद्योग खोल्न बनाएको योजना र लगानी धेरै वर्ष होल्ड गरेर राख्न सकिँदैन, त्यसैले सेजमा खोल्ने भनिएका उद्योग अन्यत्रै खोल्न बाध्य भएका छौं,’ उद्योगी जटियाले भने।

कहाँ अड्कियो बिजुली ?
२०७१ र ०७३ मा गरी दुई–दुईपटक उद्घाटन गरिएको भैरहवाको विशेष आर्थिक क्षेत्रमा प्राधिकरणले सुरुदेखि नै एक वर्षभित्रै विद्युत् लगायत सबै पूर्वाधार तयार हुने दाबी गर्दै आएको थियो । गत वर्ष उद्योगीसँगको सम्झौतामा पनि एक वर्षभित्रै विद्युत् उपलब्ध गराउने भनियो । त्यसपछि असोजमा योजना आयोगका उपाध्यक्षसहित उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय र प्राधिकरणका अधिकारीबीच  ६० दिनभित्र विद्युत् पु¥याउने  लिखित सहमती गरियो । ६० दिन बितेपछि पुसमा एकमहिने प्रतिबद्धता जनाइयो।

पछिल्लोपटक फेरि तीनमहिने प्रतिबद्धता जनाइएको छ । अर्थात चैतसम्म सेजमा अनिवार्य विद्युत् उपलब्ध गराउने प्राधिकरणका अधिकारीको दाबी छ । राजधानीमा जे जस्ता कागजी सम्झौता र प्रतिबद्धता गरिएपनि सेजमा भने छिट्टै विद्युत् आउने कुनै छाँटकाँट देखिँदैन । सेजमा तत्कालका लागि २० मेघावाट विद्युत् आवश्यक पर्छ । जसका लागि धकधही सबस्टेसनबाट लाइन तान्ने काम भइरहेको बताइएको छ । धकधहीमा ३३ केभी सबस्टेसन निर्माण हुँदैछ।

बुटवल योगीकुटीबाट ३३ केभीको डबल सर्किट सबस्टेसनसम्म ल्याएपछि एउटा सर्किट सेजमा ल्याइने छ । सेजमा विद्युत् आपूर्ति गर्ने भनिएको सो सबस्टेसन  निर्माणका काम भने निकै सुस्त गतिमा हुँदैछ । करिब ३०  किलोमिटरको दूरीमा रहेको  आयोजनामा पोल गाड्ने काम पनि सकिएको छैन।

प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना डिभिजन कार्यालय बुटवलका इन्चार्ज विश्वरञ्जन मिश्रले पाँच सय पोल गाडिएको र बाँकी डेढ सय पोल गाड्ने काम वन र स्थानीयको अवरोधका कारण रोकिएको जानकारी दिए । शंकरनगर सामुदायिक वनका केही रुख काट्नु पर्ने भएपछि वनले आयोजनासँग आइई रिपोर्ट मागेको छ । तर आयोजनाले आइई रिपोर्ट नै तयार नगरी काम थालेकाले समस्या भएको हो।

आयोजनाका इन्चार्ज मिश्रका अनुसार राष्ट्रिय हितका लािग हतारमा आयोजनाको काम सुरु गर्नु परेकाले आइई रिपोर्ट बनाउन नभ्याएको प्रतिक्रिया दिए । त्यस्तै देवदहका स्थानीयले पनि आफ्नो खेतमा पुराना पोल छँदाछँदै थप पोल गाड्न नदिने भन्दै काम रोकिदिएका छन्।

आयोजना इन्चार्ज मिश्रले स्थानीय निकाय र जनप्रतिनिधिसँग समस्या समाधानका लागि छलफल भइरहेकाले छिटै काम अगाडि बढ्ने बताए । सबैको सहयोग भए तीन महिनाभित्रै सबसटेसनमा लाइन आउने मिश्रको भनाइ छ । तर प्राधिकरणकै एक इन्जिनियर भने द्रुत गतिमा काम भयो भने पनि सबस्टेसन निर्माण हुन कम्तिमा ६ महिना लाग्ने बताउँछन्।

उता धकधही सबस्टेसनबाट सेजसम्म लाइन तान्नका लागि टेन्डर भएको एक वर्षसम्म ठेकेदारले करिब ५० पोल मात्र खसालेको छ । धकधहीदेखि सेजसम्मको नौ किलोमिटरमा करिब पाँच सय पोल गाड्नुपर्छ ।  सो कामका लागि प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलले जिम्मा पाएको थियो । उसले एक वर्षअघि जनमुखी कन्स्ट्रक्सन कम्पनी प्रालिलाई ठेक्का दिइएको हो । काम सक्नु पर्ने म्याद नाघिसकेपछि केही दिनअघि मात्रै ठेकेदारले दुई ठाउँमा केही पोल खसालेर काम देखाएको छ । काम सक्नुपर्ने समयसम्म सिन्को नभाच्ने ठेक्केदारलाई प्राधिकरणले कुनै कारबाही गरेको छैन।

प्राधिकरणको क्षेत्रीय कार्यालय बुटवलका प्रमुख सुरेशबहादुर क्षेत्रीले वर्ष दिनमा केही पोल झारेर झारा टार्ने काम गरेको ठेक्केदारबाटै तीन महिनामा सेजसम्म विद्युत् पुगिसक्ने दाबी गरे । ठेकेदारलाई तीनमहिने चेतावनी दिइएको र सो समयमा उसले काम पूरा गरिसक्ने दाबी क्षेत्रीय प्रमुख क्षेत्रीको छ।

प्रकाशित: ७ माघ २०७४ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App