२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्थानीय तहमा अझै पुगेनन् बैंक

बैंकिङ सेवाबिहीन गौमुखी गाउँपालिका–५ ठूलाबेंसी बजार । तस्बिर:शम्सेर विक्रम/नागरिक

प्युठान – स्थानीय तहको निर्वाचन सकिएको ६ महिना बितिसक्दा पनि प्युठानका दुरदराजसम्म बैंकिङ सेवा विस्तार हुन सकेको छैन । स्थानीय तहको निर्वाचनपछि सबै स्थानीय तहमा बैंकिङ सेवा पु¥याउने लक्ष्य राखिएपनि प्युठानका सबै स्थानीय तहमा अहिलेसम्म बैंकिङ सेवा पुग्न सकेको छैन । 

बैंकिङ कारोबारका लागि सबै स्थानीय तहमा बैंक सञ्चालन गर्ने निर्णय भएपनि प्युठानका दुई स्थानीय तहमा बैंकको शाखासमेत खुल्न सकेको छैन । जिल्लास्थित नौ स्थानीय तहमध्ये सातवटा स्थानीय तहमा विभिन्न बैंकले आफ्नो सेवा सञ्चालन गरेको भएपनि दुई स्थानमा बैंकिङ सेवा पुग्न नसकेको हो । 

जिल्लाको सबैभन्दा दुर्गम मानिएको गौमुखी गाउँपालिका र प्युठान तथा रोल्पा जिल्लाको मुख्य द्वारको रुपमा रहेको माण्डवी गाउँपालिकामा अझै बैंकिङ सेवा सञ्चालनमा आउन सकेको छैन ।

दुई नगरपालिका र पाँच गाउँपालिकामा मात्रै सेवा पुगेको छ । अन्य दुई स्थानमा बैंकिङ सेवा पुग्न सकेको छैन । बैंकहरुको ढिलासुस्तीले जिल्लाका माण्डवी गाउँपालिका र गौमुखी गाउँपालिकामा बैंकिङ सेवा सुरु भएको छैन । दुई गाउँपालिकाका स्थानीय अहिले बैंकिङ सेवाका लागि छिमेकी गाउँपालिकासम्म पुग्नुपर्ने बाध्यतामा छन् । 

माण्डवी गाउँपालिकाका स्थानीय कहिले प्युठान नगरपालिका त कहिले स्वर्गद्वारी नगरपालिकामा जाने गरेका छन् । यस्तै गौमुखी गाउँपालिकामा स्थानीय बैंकिङ सेवाका लागि झिमरुक गाउँपालिका र जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । स्थानीय तहमा बैंक स्थापना नहुँदा बैंकिङ कारोबारमार्फत गर्नुपर्ने कार्य गर्न समस्या परेको स्थानीय अधिकारी बताउँछन् । ‘सिंहदरबार गाउँगाउँमा आयो त भन्छन् तर सेवा सुविधा हेर्दा गाउँमा त्यसको कुनै छनक छैन,’ गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीले भने । 

‘सानो कामका लागि पनि अन्य गाउँपालिका र जिल्ला सदरमुकाम जानुपर्छ,’ अध्यक्ष गिरीले भने । बैंकिङ सेवा नपुगेका स्थानीय तहमा छिट्टै बैंकिङ सेवा पु¥याउने भनिए पनि अहिलेसम्म बैंक जाने कुनै सुरसार नै छैन । राष्ट्र बैंकको निर्देशनमा जिल्लाका स्थानीय तहमा शाखा कार्यालय स्थापना गरी बैंकले सेवा दिनुपर्ने बताइएको थियो । तर राष्ट्र बैंकले निर्णय गरेको पनि आधा वर्ष बित्नै लाग्दा पनि काम भने सिन्को भाच्ने पनि भएको छैन ।

विकास निर्माण, स्थानीय तहका कार्य तथा विदेशबाट आउने रेमिटेन्स लिनका लागि दैनिक गौमुखी गाउँपालिकावाट दर्जनभन्दा बढी स्थानीय जिल्ला सदरमुकाम र झिमरुक गाउँपालिका जानुपर्ने बाध्यता रहेको प्युठान उद्योग वाणिज्य सघंका अध्यक्ष तथा गौमुखी गाउँपालिका ठूलाबेंसीका स्थानीय ज्ञामुराम न्यौपानेले बताए । ‘दैनिक सानो बैंकिङ कामका लागि गाउँपालिका बाहिर नै जानुपर्छ साह्रै गाह्रो छ ।’ स्थानीय तहको सरंचनापछि गौमुखी ‘गाउँपालिकामा एसबिआई बैंकले आफ्नो शाखा स्थापना गर्ने बताएपनि अझै केही प्रक्रिया समेत भएको छैन,’ स्थानीय रामचन्द्र पौडेल भन्छन्, ‘यस्तै माण्डवी गाउँपालिकाका स्थानीय पनि बैंकिङ कामका लागि प्युठान नगरपालिकामा धाउनुपर्ने बाध्यता छ ।

उपत्यका केन्द्रित बैंकिङ सेवा बढ्दो 
स्थानीय तह र दुर्गममा बैंकिङ सेवा विस्तार नभइरहेका बेला प्युठानको झिमरुक उपत्यकामा भने बैंकिङ सेवाले प्राथमिकता पाएको छ । झिमरुक उपत्यका र जिल्ला सदरमुकाममा अहिले दर्जनभन्दा बढी बैंकिङ संस्था सञ्चालनमा छन् । जिल्लाको बाग्दुला, बिजुबार नयाँबजार जुर्मीमा मात्रै अहिले आधा दर्जन बैंक सञ्चानमा आएका छन् । बजार क्षेत्रमा लगानी बढी हुने र कर्जा प्रवाह पनि राम्रो हुने बैंक सञ्चालकले बताउने गरेका छन् ।

अहिले बिजुबार र जुर्मी क्षेत्रमा एनआइसी एसिया, बैंक अफ काठमाडौं, जनता बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, साइन रेसुंगा बैंक, सिभिल बैंकलगायतले आफ्नो सेवा विस्तार गरिरहेका छन् । यस्तै जिल्ला सदरमुकाममा पनि नेपाल बैंक, साइन रेसुंगा बैंक लगायतले बैंकिङ सेवा प्रदान गरिरहेका छन् । ग्रामीण क्षेत्रमा मुनाफा कमाउन नसकिने भएकाले बैंकहरु शाखा खोल्न आलटाल गरिहेका बेला जिल्ला सदरमुकाम र बजारकेन्द्रित बैंकहरु भने दिनप्रतिदिन बढ्दै गएका छन् । 

 

प्रकाशित: ३० पुस २०७४ ०४:०९ आइतबार

स्थानीय तहमा पुगेनन् बैंक