२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटक तान्दै भक्तपुरको रानीकोट

भक्तपुरको रानीकोट क्षेत्र ।

भक्तपुर – भक्तपुरको रानीकोट क्षेत्र पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । सूर्यविनायक नगरपालिका–७ रानीकोटमा दैनिक आन्तरिक पर्यटक आउन थालेको स्थानीयले बताए । भक्तपुरको सूर्यविनायकबाट दक्षिणको पहाडमा रहेको यो ठाउँंको मुख्य विशेषता भनेकै उच्च भूभागमा रहनु हो । उच्च पहाडी क्षेत्रमा परेकोले यहाँंबाट उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक बस स्टपबाट दक्षिण पाइलट बाबा, घ्याम्पेडाँंडा हुँंदै रानीकोट पुग्न सकिन्छ । सूर्यविनायकबाट झन्डै सात किलोमिटरको छोटो दुरीमै रानीकोट पर्छ । पछिल्लो समय पाइलट बाबा र घ्याम्पेडाँंडा पर्यटकको आकर्षक गन्तव्यस्थलको रुपमा परिचित हुँंदा त्योभन्दा माथिको क्षेत्रमा रहेको रानीकोट पर्यटकको पछिल्लो आकर्षण बन्न थालेको देखिएको हो ।

अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको सूर्यविनायक बस स्टपबाट दक्षिण पाइलट बाबा, घ्याम्पेडाँडा हुँदै रानीकोट पुग्न सकिन्छ ।

यो ठाउँ पुग्न पनि सहज छ । यहाँसम्म मोटरबाटो पुगिसकेको छ । त्यसमा पनि पाइलट बाबामात्रै नभई त्योभन्दा माथिको घ्याम्पेडाँंडासम्म नै कालोपत्रे भइसकेको छ । घ्याम्पेडाँंडाबाट माथि भने कच्ची मोटरबाटो छ । जंगलैजंगलको बीच बाटोबाट तलको मनोरम दृश्य हेर्दै रानीकोट पुग्दाको मज्जा नै भिन्न छ ।

‘एक–दुई वर्षदेखि यहाँं विशेष गरेर मोटरसाइकल लिएर घुम्न आउनेको संख्या निरन्तर बढ्दो छ,’ स्थानीय माइली तामाङले भनिन्, ‘विशेष गरेर शनिबारको दिन त दर्जनौं मोटरसाइकलमा यहाँ घुम्न आउनेहरु हुन्छन् ।’ यसबाहेक पनि काठमाडौं उपत्यकाका विभिन्न ठाउँंहरुबाट यहाँ घुम्न आउनेहरु देखिएको उनले बताइनन् । शनिबार पिकनिकका लागि आउनेहरु पनि रहेको उनले सुनाइन् ।

यो ठाउँको अर्काे आकर्षण बाघभैरव हो । रानीकोट चोकबाट दुई सय मिटर पश्चिममा पहाडको बीचमै ठूलो ढुंगामा रहेको बाघभैरव यहाँ घुम्न आउनेहरुको आकर्षणको केन्द्र बन्ने गरेको छ । प्राकृतिक ढुंगा बाघको आकारमा रहेकोले स्थानीयले त्यसलाई साक्षात प्रकृतिरुपी श्री बाघभैरव मन्दिर नामकरण गरेका छन् र यो ठाउँलाई सुरक्षित पारेका छन् । चोकबाट केही मिटरमै रानीकोट गढी भ्यू प्वाइन्ट पनि पुग्न सकिन्छ ।

पर्यटक घुम्न आउने क्रम बढेपछि यो ठाउँमा ठुल्ठूला तारे होटेलसमेत बन्न थालेका छन् । साथै स्तरीय रेस्टुरेन्ट तथा रिसोर्ट पनि आधा दर्जनको संख्यामा पुगेका छन् । एक दर्जन जति मात्रै बसोबास देखिएको यो ठाउँमा त्योभन्दा बढी होटल रेस्टुरेन्ट खुल्ने क्रम बढ्दो छ ।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले रानीकोट क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गरेकोले त्यसलाई अझ व्यवस्थित बनाएर लैजाने योजना रहेको सुनाए । विदेशी पर्यटकका पनि आकर्षणका लागि घ्याम्पेडाँडादेखि माथिको ग्राभेल सडकलाई पनि कालोपत्रे गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

यो ठाउँं भक्तपुर र काभ्रेको सिमानामा छ । गाउँमा तामाङ, नेवार र क्षेत्री–बाहुनको संयुक्त बसोबास छ । रानीकोटबाट माथि पुगेपछि फुलचोकी डाँडा पुगिन्छ ।


 


 

प्रकाशित: २५ पुस २०७४ ०१:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App