२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

भूकम्पले सुकेको मूलको संरक्षण

ललितपुर– २०७२ को वैशाख १२ गते गएको भूकम्पपछि काठमाडौंको पूर्वीदक्षिण कुनाको विष्टछाप गाउँको सिरानको पानीको मूहानमा साविकभन्दा दोब्बर तेब्बर पानी आयो । तर वैशाख २९ गतेको पराकम्पपछि पानीको मूल आश्चर्यजनक ढंगमा सुक्यो । के गर्ने, कसो गर्ने गाउँलेहरू आत्तिए ।

पूर्खादेखि पानी खाँदै आइरहेको मूल सुकेपछि पानीको लागि के गर्ने भन्ने चिन्ता मडारियो । नजिकै पानीको स्रोत केही थिएन । भूमम्पअघिसम्म धोवीखोला तीनधाराबाट बग्ने पानीमा गाउँलेहरू आश्रित थिए । खाने पानी मात्रै होइन पूरै फाँटलाई खेती गर्ने पानी नै तिनधाराबाट आउँथ्यो । त्यो पानी बगेर गोदावरी खोलामा मिसिन्थ्यो । फाँटमा सिंचाइ नहुने भएपछि गाउँलेले खेत इँटाभट्टालाई भाडामा दिन थाले । भाडाबापतको रकमले खर्च जोहो हुन थाल्यो । तर खानेपानीको समस्या जस्ताको तस्तै थियो ।

मूल त जेनतेन रसायो । तर पहिलाजस्तो पर्याप्त पानी आएन । मूल संरक्षण गर्दा खानेपानीलाई काकाकुल हुनु नपर्ने निचोड निस्क्यो । जनश्रमदान गर्दा पनि मनग्गे सहयोग जुट्ने भयो । अनि गाउँलेले मूहान संरक्षण गर्ने काम आँटे । यही क्रममा गाउँलेलाई एकीकृत शहरी विकास केन्द्रले पनि सहयोगको हात बढायो । र, सम्भव भयो ७० घरधुरीलाई स्वच्छ र सफा खानेपानीको व्यवस्था ।
‘मूलको पानी खुल्ला रूपमा खाइरहेकै थियौं । भूकम्पले मूल सुकाइदियो । मुहानै पचास मिटर दबिएछ । बल्ल अहिले आएर मूहान संरक्षण गरेका छौं । घरघरमा धारा लगेका छौं,’ धोवीखोला तीनधारे खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष पुरुषोत्तम विष्टले भने, ‘अब खानेपानीलाई दुःख भएन ।’

उनले पानीको उपलब्धताले गोदावरी नगरपालिकाको वडा नम्बर २ का घरघरमा मानिसहरूले करेसाबारीमा तरकारी लगाउने मात्रै होइन व्यवसायिक तरकारी खेती पनि सुरु भएको बताए । साविक विशंखुनारायण विष्टछाप गाउँमा अहिले १२ हजार लिटर क्षमताको रिजर्भ ट्यांक बनेको छ । त्यही ट्यांकबाट घरघरमा धारा लगिएको छ । ओभरफ्लो हुने पानीलाई जगेडा गर्न गाउँलेले पाँच हजार लिटर क्षमताको ट्यांकीको पनि व्यवस्था गरेको छन् ।

गत ०७३ पुसमा निर्माण थालिएको ट्यांक आठ महिनामा गत भदौमा निमार्ण सम्पन्न भएको हो । जसको कुल लागत जनश्रमदानसहित १२ लाख ७१ हजार भएको थियो ।

‘हाम्रो यो गाउँमा दाउरा र पानीकै त सुविधा थियो नि,’ स्थानीय मञ्जु भारतीले भनिन्, ‘भूकम्पपछि छाप्रोको बसाइमा काकाकुलले धेरै सतायो । धन्न अहिले भने पानीको दुःख हटेको छ ।’

एकीकृत सहरी विकास केन्द्रकी मानस्वी शाहले आफ्नो संस्थाले गाउँमा खानेपानीको साथै स्वस्थ समुदाय बनाउन तीस घरलाई सरसफाईको पूर्वाधार निर्माणमा पनि सहयोग गरेको बताइन् । साथै शाहले केन्द्रले अक्सफामको सहयोगमा स्थानीय तुलसा देवी प्राथमिक विद्यालयलाई शौचालय निर्माणमा सहयोग गरिदिएको तथा स्थानीय एक सय पचास घरधूरीमा शौचालय निमार्ण गरिदिएको बताइन् । ‘हाम्रो संस्थाले सरसफाइमा विषेश काम गर्दै आएको सन्दर्भमा धोबीखोला तीनधारे खानेपानी, तुसलादेवी प्रावी तथा गोदावरी नगरपालिका वडा नम्बर २ मा स्वच्छ समुदाय निर्माणमा सहयोग गरेका हौं,’ उनले भनिन्, ‘साथै हामीले गोदावरी नगरपालिकाको सहयोगमा वडा नम्बर २ र ३ लाई खुला दिसामुक्त क्षेत्र घोषणालगायत स्वस्थ्य चेतना जागृतिका लागि कामहरू गरिरहेका छौ।’

 

प्रकाशित: १९ पुस २०७४ ०१:४८ बुधबार

भूकम्पले सुकेको मूलको संरक्षण