‘कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन, उद्योग तथा व्यापारको प्रवद्र्धन’ भन्ने मूल ध्येयका साथ प्रदेश नम्बर ४ स्तरीय कृषि, पर्यटन औद्योगिक व्यापार मेला तथा बागलुङ महोत्सव–२०७४ शुक्रबारदेखि बागलुङमा सुरु हुँदैछ । महोत्सले स्थानीय उत्पादनको बजारीकण, पर्यटकीय गन्तव्यको प्रचारप्रसार सहित कला, संस्कृतिमा संरक्षणमा टेवा पुग्ने आयोजको दाबी छ । महोत्सवले बागलुङको व्यापार प्रवद्र्धन, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा पार्ने प्रभावका विषयमा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारीसँग नागरिककर्मी संगम घर्तीमगरले गरेको कुराकानी ः
महोत्सव आयोजना गर्नुको उद्देश्य के हो ?
यहाँ हामीले पाँचौपटक महोत्सव आयोजना गरिएको छ । यहाँको कृषि र घरेलु उत्पादनलाई प्रचार गर्न चाहान्छौं । स्थानीय उत्पादन हातेकागज, अल्लोको धागो, सिस्नुको पाउडर, तारखोला, ढोरपाटनको आलुको बजार प्रवद्र्धन गर्दैछौं ।
ताराखोलाको स्लेट ढुंगा यहाँ उत्पादन भएर पोखरा त पुग्छ तर त्यहाँका व्यवसायीले पोखराको ढुंगा भनेर बेचेकाले ताराखोलाको ढुंगा भनेर पहिचान दिलाउन सकेका छैनौं । स्थानीय उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन चाहन्छौं ।
बागलुङमा थुप्रै पर्यटकीय सम्भावना बोकेका ठाउँ, विभिन्न कला संस्कृतिको प्रचार गर्ने लोकदोहोरी गीतको उद्गमस्थल धौलागिरी हो । कला, संस्कृतिका लागि यानीमाया, सालैजोको संरक्षण गरी दोहोरी गीतको प्रतिस्पर्धा गराउछौं । विभिन्न जनजातिको आ–आफ्नै संस्कार र संस्कृतिलाई प्रवद्र्धन गर्न, कला, संस्कृतिको जगेर्ना, पर्यटकीय गन्तव्य र स्थानीय उत्पादनको प्रचारपसार गर्न महोत्सव आयोजना गरेका हौं ।
महोत्सवमा मुख्य आकर्षण के छन् ?
दोहोरी गीत, भलिबल, छेलो र महिलाका लागि मात्रै लठो तान्ने प्रतियोगिता छन् । लोकनृत्य, मरुभूमिमा पाइने उँट यहाँ लाइएर उँटको नृत्यसमेत प्रदर्शन गर्दैछौं । बाल उद्यान र रमाइलो मेला राखेका छौं । एक सय ८० व्यावसायिक र स्थानीय उत्पादनका स्टल छन् । पर्यटकीय स्थलको फोटो प्रदर्शनी पनि छ । अँग्रेजी नयाँ वर्ष बागलुङमा मनाउने व्यवस्था मिलाएका छौं । युवायुवती काठमाडौं, पोखरासम्म जान नपरोस भनेर लाइभ डिजे कन्सर्टका साथ नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने कार्यक्रम छ ।
विगतमा चैतमा गरिँदै आएको महोत्सव अहिले किन पुसमा ?
विगतमा हामीले चैत्राष्टमीको समयमा महोत्सव गथ्र्यौं । यहाँको बागलुङ कालिका मन्दिर र चैते दसैंको आफ्नै पहिचान छ । चैते दसैंमा स्वतस्फूर्त दर्शनार्थी आउँछन् । अहिले महोत्सव आयोजना गर्दा दुईपटक बागलुङ बजारको व्यापार प्रवद्र्धन भई अर्थतन्त्रलाई गति दिन सहयोग पुग्नेछ । चाडबाडमा मात्र नभएर मेला महोत्सवमा पाहुना आकर्षण गरी यहाँको अर्थतन्त्रलाई टेवा पु¥याउन अहिले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवले स्थानीयलाई के फाइदा पुग्छ ?
तत्कालका लागि व्यापार, व्यवसाय प्रवद्र्धन गर्न सहयोग पुग्छ । स्थानीय व्यापार वृद्धि हुन्छ । कला, संस्कृतिको प्रदर्शन, पर्यटकीय क्षेत्रको प्रचारप्रसार, स्थानीय उत्पादन प्रदर्शनीले दीर्घकालीन बजार विस्तारमा टेवा पुग्छ । लोकगीत, भलिबलका लागि नयाँ खेलाडी र कलाकार तयार हुन्छन् । महोत्सवमा आउने पर्यटकले होटलदेखि किसानसम्म, किराना पसलदेखि फेन्सी व्यवसायीले राम्रो व्यापार गर्छन् । यहाँ लगानीबारे पनि जानकारी हुन्छ ।
जिल्लाको पर्यटन प्रवद्र्धनका लागि के पहल गरिरहनु भएको छ ?
यहाँका पर्यटकीय गन्तव्यबारे प्रचारप्रसारका साथै पर्यटन बोर्डसँग समन्वय पनि गरेका छौं । देशभरका उद्योग वाणिज्य संघका एक सय ११ वटा उद्योग वाणिज्य संघमा जानकारी गराएको छौं । बागलुङ जन्मथलो भई काठमाडौं, बुटवल, पोखरा बसोबास गर्ने बागलुङेलाई जिल्लासँग जोड्ने प्रयत्न गरिरहेका छौं ।
भकुण्डेको होम–स्टेलाई व्यवस्थित गर्न तालिम दिएका छौं । दीर्घकालीन रुपमा पञ्चकोट, कालिका भवगती मन्दिर, भकुण्डे, बिहुँ रामकोटको मन्दिर, घोडाबाँधे, घुम्ते धुरी, ढोरपाटन लगायत क्षेत्रको प्रचारप्रसार महोत्सवमार्फत गर्ने र त्यसलाई विस्तार र विकास गर्नका लागि सबैसँग हातेमालो गर्दैछौं ।
बागलुङ रेमिटेन्सको जिल्ला भनेर चिनिन्छ । रेमिटेन्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउने कस्ता योजना छन् ?
विदेशमा रहेका जति पनि बागलुङेहरु साथी छन्, उद्योग वाणिज्य संघको नेतृत्वमा लगानी गर्न उनीहरु तयार छन् । त्यसका लागि तयारी गरिरहेका छौं । विदेशमा कमाएको पैसाले घरघडेरी मात्रै जोड्ने नभई एउटा परियोजनामार्फत उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण बनाउँछौं । उद्योग स्थापना वा हाइड्रोपावर निर्माणका लागि परियोजना बनाउँदैछौं ।
बागलुङको व्यापारको अवस्था कस्तो छ ?
बागलुङ–पोखरा राजमार्गको स्तरोन्नति, कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग सम्पन्न भएपछि बागलुङ बजार आर्थिक हब बन्ने अपेक्षा गरेका छौं । ग्रामीण क्षेत्रमा सडक पुगेपछि बजारमा व्यापार घटेको जस्तो देखिएको छ । अब बढ्छ । यहाँ पर्यटक आगमनको चाप पनि बढ्दैछ ।
विगतमा महोत्सवबाट के उपलब्धि पायौं ?
महोत्सवले बागलुङको व्यापार प्रवद्र्धन र लगानी आकर्षणमा टेवा पुगेको छ । उत्पादनकर्ताले आफ्ना उत्पादनलाई बजारको पहुँचमा पु¥याएका छन् । व्यापारमात्र नभएर महोत्सवमा बचेको रकमबाट सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग वाणिज्य संघको खर्च र पहलमा बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरेका छौं ।
जसले गर्दा बागलुङ बजार सुरक्षित छ भन्ने सन्देश गएको छ । बजारमा हुने अपराधिक क्रियाकलाप पनि घटेका छन् । जिल्ला समन्वय समिति र नगरपालिकाको समन्वयमा कालो प्लास्टिकमुक्त नगर बनाउन सफल भएका छौं । बजारको सरसफाइ लगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएका छौं ।
बागलुङमा लगानी भित्र्याउने कस्ता योजना छन् ?
हामीले निजी, सहकारी र सरकारी क्षेत्रलाई आर्थिक क्षेत्रको साझेदार बनाउने योजना अनुसार काम गरिरहेका छौं । निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य महासंघको नेतृत्व पनि यहाँ आउँदै हुनुहुन्छ । हाम्रा योजना उहाँहरुलाई सुनाउछौं । अहिले नेपालमा गैरआवासीय नेपालीको लगानीको पनि सम्भावना छ । त्यही भएर अहिलेको महोत्सव उद्घाटनमा एनआरएन अध्यक्ष भवन भट्टलाई पनि आमन्त्रण गरेका छौं ।
बागलुङबाट भकुण्डे गएर भकुण्डेबाट भैरवस्थानसम्म केबुलकार, बागलुङ–पञ्चकोट केबुलकारको सर्भे भइसकेको छ । कालिका मन्दिरदेखि पर्वत पाङसम्म जोड्ने झोलुंगे पुललाई अहिले यान्त्रिक पुलको रुपमा अगाडि बढाउने कि भन्ने चर्चा छ । यहाँ अन्य विभिन्न लगानीका क्षेत्र छन् । हाइड्रोपावर निर्माणका लागि दरमखोला निकै सम्भावनाको ठाउँ हो । यी मध्ये कुनै परियोजनामा उद्योग वाणिज्य संघ र एनआरएनको सहकार्यमा एउटा परियोजना सञ्चालन गर्नेबारे छलफल चलिरहेको छ ।
यहाँ एउटामात्रै मेगा प्रोजेक्ट सञ्चालनमा ल्याउन सक्यौं भने यहाँको आर्थिक र पर्यटन विकासमा सघाउ पुग्ने छ । यहाँका सामाजिक काममा एनआरएनको सहयोग हुन सक्छ । पत्रकार महासंघ बागलुङको भवन निर्माणमा पनि सहयोग जुटाउने माध्यम बन्न सक्छ ।
प्रकाशित: १४ पुस २०७४ ०१:२१ शुक्रबार