२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

‘कामदारको मागपत्र प्रमाणीकरण दूतावासबाट मात्रै गरिनुपर्ने’

काठमाडौँ(रासस)-  वैदेशिक रोजगारीका लागि आउने नेपाली कामदारको मागपत्र प्रमाणीकरण सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाट मात्रै गरिनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले जोड दिएका छन्।

‘सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जाल’ले आज यहाँ आयोजना गरेको ‘सुरक्षित वैदेशिक रोजगारीका लागि कूटनीतिक निकाय र सम्बन्धित सरकारी निकायको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रममा सहभागीले दूतावासबाट मागपत्र प्रमाणीकरण भएकालाई मात्र श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने सुझाव दिए।

विदेशमा नेपाली कामदारलाई भनेअनुसारको काम, तलब नदिने कम्पनीलाई कालोसूचीमा राखी ती कम्पनीको मागपत्र प्रमाणीकरण रोक्ने, प्रमाणित भएको मागपत्र सम्बन्धित देशमा रहेको नेपालस्थित दूतावासले आफ्नो वेभसाइटमा सार्वजनिक गर्नुपर्नेलगायत कार्य गर्नसके नेपालीको वैदेशिक रोजगारीको यात्रा सुरक्षित र जोखिममुक्त हुने कार्यक्रमका सहभागीको भनाइ छ।

नेपालको विदेशस्थित दूतावासमा कर्मचारीको अभाव रहेको तथा कामदारको चापअनुसार श्रम सहचारी र श्रम काउन्सिलरको व्यवस्था हुन नसकेकाले सो संख्या बढाउनुपर्ने उनीहरुको सुझाव छ । साउदी अरबका लागि नेपालका पूर्वराजदूत उदयराज पाण्डेले मागपत्र प्रमाणीकरण दूतावासबाट मात्रै गर्ने व्यवस्था लागू गरिए कामदारका ९० प्रतिशत समस्या समाधान हुने टिप्पणी गरे।

अहिले दूतावासबाहेक सम्बन्धित देशको नोटरी पब्लिक र चेम्बरले प्रमाणीकरण गरेका मागपत्रलाई पनि श्रम स्वीकृति दिँदा कामदार ठगीका घटना बढिरहेको उनको भनाइ छ। श्रम तथा रोजगार मन्त्रालयका पूर्व सहसचिव गोविन्दमणि भुर्तेलले वैदेशिक रोजगार विभागमा परेका उजुरीको तत्काल सुनुवाइ, गलत कार्यमा संलग्न मेनपावर कम्पनीलाई तत्काल कारबाही र उसको कसुरअनुसार इजाजतपत्र रद्दसम्मका सजायलाई प्रभावकारी रुपमा कार्यान्वयन आवश्यक रहेकामा जोड दिए।

परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागका निर्देशक होमप्रसाद लुइँटेलले वैदेशिक रोजगारीको क्रममा समस्या आए निवेदन, गुनासो तथा उजुरी अनलाइनमार्फत नै दिन सकिने व्यवस्था विभागले मिलाएको जानकारी दिए।

 

प्रकाशित: ४ पुस २०७४ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App