७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कुवेर मर्चेन्ट र ललितपुर फाइनान्स समस्यामुक्त

काठमाडौं– नेपाल राष्ट्र बैंकले कुवेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सलाई समस्याग्रस्त संस्थाबाट सर्तसहित मुक्त गरेको छ । राष्ट्र बैंकले यी दुई संस्थालाई छुट्टाछुट्टै निर्देशन दिँदै समस्याग्रस्त संस्थाबाट मुक्त गरेको हो । 
राष्ट्र बैंकको नीतिगत व्यवस्था अनुसार चुक्ता पुँजी र पुँजी कोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ता प्रवेश गरेर संस्थालाई सुचारु गर्ने प्रतिबद्धता जाहेर गरी सुधारोन्मुख अवस्थामा रहेको भन्दै सर्तसहित समस्याग्रस्तबाट मुक्त गरिएको उसले बताएको छ ।
वित्तीय सूचकांकमा उल्लेखनीय सुधार गरेका कारण समस्याग्रस्त सूचीबाट हटाइएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले नागरिकलाई बताए । ‘अझै सातवटा संस्था समस्याग्रस्त अवस्थामा छन्,’ उनले भने, ‘तीमध्ये चारवटा छिट्टै समस्याग्रस्तबाट मुक्त हुने अवस्थामा र तीनवटा अदालती प्रक्रियामा छन् ।’ 
मुक्त भएका दुवै संस्थालाई राष्ट्र बैंकले ३५ दिनभित्र पुँजी वृद्धि योजना पेस गर्न भनेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार अब यी दुई संस्थाले ०७६ मंसिर १८ गते सम्ममा राष्ट्र बैंकले तोकको चुक्तापुँजी पु¥याउनु पर्नेछ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार राष्ट्रिय स्तरको फाइनान्स कम्पनीले ८० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी पु¥याउनुपर्ने हुन्छ ।
केन्द्रीय बैंकले कुवेर मर्चेन्ट फाइनान्सलाई २०६८ पुस २३ गते र ललितपुर फाइनान्सलाई २०७१ चैत १६ गते समस्याग्रस्त घोषणा गरेको थियो ।
राष्ट्र बैंकको निर्देशन अनुसार दुवै कम्पनीले तोकेको चुक्तापुँजी पु¥याउन पुँजी वृद्धि योजना ३५ दिनभित्र राष्ट्र बैंकमा पेस गर्नुपर्ने छ । खराब कर्जा घटाउँदै लगेर तोकिएको सीमाभित्र राख्नुपर्नेछ । संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली र जोखिम व्यवस्थापन पनि चुस्त राख्नुपर्ने छ ।
हाल तोकिएको चुक्ता पुँजी नपुगेको अवस्थामा एकल ग्राहक कर्जा सीमा कोर क्यापिटलको १० प्रतिशत कायम गर्ने तथा तोकिएको चुक्ता पुँजी पूरा भएको अवस्थामा हाल विद्यमान अवस्था अनुरुप एकल ग्राहक कर्जा सीमा कायम हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

 

प्रकाशित: २८ मंसिर २०७४ ०३:४९ बिहीबार

कुवेर मर्चेन्ट ललितपुर फाइनान्स समस्यामुक्त