९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

कोरला नाकाः चीनले खोल्दैछ, तर, नेपालतर्फ भने पूर्वाधार नै छैनन

नाका नजिकै तिब्बततर्फ बनाइएको पूर्वाधार। फाइल तस्बिरः नागरिक

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाका कात्तिक २७ (आगामि सोमबार) देखि खुल्ने भएको छ। कोरला नाका खुलाउन लामो समयदेखि गण्डकी प्रदेशका बासिन्दाले माग गर्दै आएका थिए।  

नाका खुलेर व्यावसायिक रुपमा संचालनमा ल्याउन सके त्यसले नेपाली अर्थतन्त्रमा बलियो अर्थ राख्ने सरोकारवालाको भनाई छ। प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदा कोरला नाका खुलाउने बारे प्रयास गर्न गण्डकी प्रदेशबासीले आग्रह समेत गरेका थिए। प्रधानमन्त्रीको भ्रमणसँगै नाका खुल्ने अपेक्षा समेत बढेको थियो।

चीनले आगामि २७ गतेदेखि कोरला नाका खुला गर्ने तयारी गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए। उनका अनुसार तत्कालका लागि लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि आउजाउमा सहज हुने गरि नाका खोल्ने तयारी भएको छ। त्यसका लागि स्थानीय प्रशासनमार्फत पास उपलब्ध गराइएको उनले बताए।

‘कात्तिक २७ गतेदेखि चीनले नाका खोल्ने निर्णय गरेको छ। दुईवटा गाउँपालिका(लोमान्थाङ र लो घेकर दामोदरकुण्ड गाउँपालिका) का बासिन्दालाई करिब ३५  किलोमिटर परसम्म जान पाउने गरि पास पनि दिइएको छ,’ उनले भने, ‘चीनले भव्य तरिकाले नाका खोल्दैछ। तर, नेपालतर्फ भने अझै पनि नाका संचालन गर्ने तयारी छैन।’ तत्कालका लागि नाका खुल्ने भएपनि नेपालले संरचना बनाउन नसक्दा उत्तिसारो लाभ लिन नसक्ने उनले बताए।

गण्डकी प्रदेशका पूर्व सदस्य इन्द्रधारा विष्टका अनुसार चीनले नाका खुलाएपनि नेपालतर्फ संरचना नभएकोले पूर्ण रुपमा संचालनमा भने आउन समय लाग्नेछ। ‘चीनले नाका खुलाउन थालेको हो। चीनले आफ्नोतर्फ पर्याप्त पूर्वाधार पनि बनाएको छ। त्यसै अनुसार उद्घाटन तयारी गरेको छ,’ विष्टले भने, ‘नाका खोल्ने सहमति अनुसार नै अहिले चीनले तयारी गरेको हो। तर, नेपालले आफ्नो तर्फको काम नसक्नु कमजोरी हो। द्विपक्षीय रुपमै नाका खुलाएर आउजाउ सहज बनाउन सकेको भए त्यसबाट लाभ मिल्थ्यो । तर, अहिले त्यो अवस्था छैन।’

विष्टका अनुसार नाका खुलाएर ३५ किलोमिटर दूरीसम्म नेपालीलाई विशेष पासमार्फत प्रवेश दिँदा नेपाली युवाले तिब्बती क्षेत्रमा काम पाउने सम्भावना रहनेछ। ‘कम्तिमा नेपालका युवाहरु तिब्बती भेगमा काम गर्न जान पाउनेछन्। पहिला पहिला पनि काम गर्न जाने गरेका थिए। गोठाला, उन कात्ने काम नेपालीले तिब्बतमा पाउनेछन,’ विष्टले भने, ‘अहिलेका लागि त्यही पनि रोकिएको थियो। तर अब मजदूरी गर्न जानेका लागि बाटो खुल्नेछ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नेपाल र चीनबीचकै सहमति अनुसार नाका खुल्न थालेको बताए । चीनले अहिले पूर्ण आकारमै नाका खुलाउन थालेको उनले बताए।

 ‘कोरना नाका खुल्न थालेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणमै कोरला लगायतका नाका खुलाउने सहमति भएको थियो। त्यही अनुसार कोरला नाका खुल्न थालेको हो,’ पन्तले भने, ‘चीनले पर्याप्त पूर्वाधार बनाएको। नेपालतर्फ पनि जे जति पूर्वाधार छन्। तिनैलाई उपयोग गरेर नाका संचालन गर्नेछौ।’ उनले अहिलेका लागि क्वारेन्टाइन, भन्सार, पहुँचमार्ग, सुरक्षा लगायतका पूर्वाधारलाई वृद्धि गर्दै अघि बढ्ने बताए।  

‘द्विपक्षीय रुपमै नाका खुल्न लागेको हो। चिसो सुरु भएकोले तत्कालै आउजाउ सहज नहुन सक्छ। हिमपातको समय भएकोले अबका चारमहिना नाकाबाट आउजाउ हुन सक्दैन,’ पन्तले भने, ‘बिस्तारै संरचना थपिँदै गएपनि व्यावसायिक गतिविधि पनि बढ्दै जानेछन। केही पूर्वाधार अहिले पनि छन्। अपुग संरचना थपेर नाकालाई पूर्ण रुपमा संचालनमा ल्याउने सरकारी तयारी।’

कोरला नाका खुलाउनका लागि लामो समयदेखि पहल गरिरहेका नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी चीनले नाका खुलाएर यसअघि रोकिएको व्यापारिक मेला निरन्तर रहेको सन्देश दिन खोजेको बताउँछन। ‘कोरोना संक्रमण सुरु हुनु अघि पनि तिब्बततर्फ वर्षेनी मेला लाग्थ्यो। त्यो मेला नाका भन्दा केही दूरी पर लाग्थ्यो। तर, अब नाका खुलाएपछि स्थानीय बजारमै आर्थिक गतिविधि बढाउनेछ,’ मुल्मीले भने, ‘मेलालाई निरन्तर र बाहै्रमास संचालन गर्न चाहेको सन्देश दिनका लागि अहिले चीनले नाका खुलाउन थालेको छ।’

चीनले आफ्नोतर्फबाट नाका खुलाउन थालेपनि नेपालको तर्फ त ओत लाग्ने ठाउँ समेत नभएकोले तत्काल लाभ लिन सक्ने अवस्था नरहेको उनले बताए। ‘चीनले नाका खुलाएपछि त्यसको दवाव नेपाल सरकारलाई पनि पर्नेछ। चीनको तयारी भव्य छ। तर, नेपालतर्फ केही छैन। चीनले त नाका क्षेत्रमा पूर्वाधार बनाउन ठूलो लगानी पनि गरेको छ,’ मुल्मीले भने। चीनले कोरला नाकालाई अन्यत्रको तुलनामा बढी महत्व दिएको पनि उनले बताए। रसुवागढी र तातोपानी भन्दा पनि कोरला नाका सहज भएकोले चीनको प्राथमिकता रहेको उनले बताए।  

नाका खुलेपनि नेपालतर्फ पर्याप्त पूर्वाधार नभएकोले तत्काल ठुलो आकारमा व्यावसायिक गतिविधि संचालन भने हुन नसक्ने उनले बताए। तरपनि नेपालबाट जिम्मु, यार्सागुम्बा जस्ता जडिबुटी र क्यूरियो, गलैंचा लगायतका बस्तु चीनतर्फ निर्यात गर्न भने सकिने उनले बताए। नाका खुलेपछि नेपालतर्फ लत्ताकपडा, जुत्ताचप्पल जस्ता सामान भिœयाउन सकिने उनले बताए। 

‘सानो आकारको व्यावसायिक कारोबार मात्र हुनसक्छ । ठूलो कारोबार हुन त त्यही अनुसारका पूर्वाधार चाहिन्छ। जुन नेपालले तयार पार्नै सकेको छैन,’ मुल्मीले भने, ‘नाका खुल्यो भन्ने सन्देश भने पुग्नेछ। चीनले नाका खुलाउँदा त्यसको दवाव नेपाललाई पनि अवश्य पनि पर्नेछ। किनभने अब खुलेको नाका बाहै्र महिना खुला हुनेछ।’

प्रकाशित: २१ कार्तिक २०८० १०:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App