७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

द्रुत बस सेवा अलपत्र, थप २० लाख खर्च गरिँदै

तीन करोडभन्दा बढी लगानीमा सञ्चालनमा आएको द्रुत बस सेवा अलपत्र परे पनि सडक विभागले त्यसलाई प्रभावकारी बनाउने भन्दै करिब २० लाख रूपैयाँ थप खर्च गर्ने तयारी गरेको छ। द्रुत बस सेवाका लागि रातो रंग लगाउन र संकेत अक्षर राख्न तीन करोड १० लाख रूपैयाँ भुक्तानी गर्न चारवटा कम्पनीबाट सडक विभागमा बिल पेस भइसकेको छ। बिल भुक्तानी नहुँदै विभागले द्रुत बस सेवा रुटमा डिभाइडर राख्न अरू २० लाख खर्च गर्ने भएको हो ।  

द्रुत बस सेवा रुटलाई डेडिकेटेड (छुट्टै लाइन) बनाउन विभागले करिब ६ सय वटा गह्रुँगो किसिमका डिभाइडर खरिद गर्ने भएको छ । एउटा डिभाइडरको बजार मूल्य तीन हजार रूपैयाँ पर्ने बताइएको छ। यसैगरी विभागले अन्य प्रयोजनका लागि डोरी पनि खरिद गर्ने भएको छ। डोरी र डिभाइडर खरिद गर्न करिब २० लाख खर्च हुने अनुमान गरिएको छ। 

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले दु्रत बस सेवा प्रभावकारी बनाउन डिभाइडर राख्ने विषयमा छलफल भइरहेको बताए। तर, सूर्यविनायक–धुलिखेल–सिन्धुली बर्दिबास सडक आयोजनाका सिनियर डिभिजन इञ्जिनियर (सिडिइ) नारायण लामिछानेले भने जडिबुटीदेखि सूर्य विनायकसम्म डेडिकेडेड लाइन बनाउन एक सयभन्दा बढी डिभाइडर खरिद गर्न सडक विभागबाट मौखिक निर्देशन आएको बताए। सोही आयोजानले नै जडिबुटीदेखि सूर्यविनायकसम्मको रुटमा रातो रंग लगाएको थियो।

विभागका अनुसार सडक डिभिजन काठमाडौंलाई अरू सयवटा डिभाइडर खरिद गर्न अह्राइएको छ। बाँकी डिभाइडर विभागले आफैं खरिद गर्ने भएको छ। द्रुत बस सेवा सञ्चालन गर्न यातायात व्वयस्था विभागलाई जिम्मा दिइएको छ। रातो रंग, संकेत अक्षर राख्न तथा डेडिकेटेड लाइन बनाउन भने सडक विभागलाई जिम्मेवारी दिइएको छ।  

संविधान दिवसका दिन असोज ३ गतेबाट निकै तामझामका साथ सञ्चालनमा आएको द्रुत बस सेवा अहिले निष्क्रियजस्तै छ। तिहारपछि सेवा प्रभावकारी बनाउने र डिभाइडर राखी छुट्टै रुट बनाउन तयारी भएको सिडिइ लामिछानेले बताए। उनका अनुसार दु्रत बस सेवाको लागि छुट्टै रुट नबन्दा दु्रत बस सेवा प्रभावकारी नभएको हो। ‘अहिले लगाएको रातो रंगमा अन्य गाडीहरू पनि प्रवेश गर्छन । त्यसबाट दु्रत वस सेवा छिटो र प्रभावकारी हुन सकेन भन्ने गुनासो आइरहेको छ। त्यसैले डिभाइडर राखी छुट्टै रुट बनाउने तयारी भएको हो,’ उनले भने।  

बस सेवाका लागि सडकमा रातो रंग लगााउन र संकेत मात्रै सरकारी कोषबाट करिब तीन करोड १० लाख खर्च हुने भएको छ। रत्नपार्कदेखि सूर्यविनायकसम्म रंग लगाएको र संकेत लेखिएको बिल भुक्तानी गर्न सडक विभागको कार्यालयमा फाइल पुगको एक महिना भइसकेको छ। विभागका अनुसार यस रुटमा रंग लगाउन र संकेत लेख्न चारवटा कम्पनीलाई जिम्मा दिइएको छ। कम्पनीले त्यसको बिल सडक विभागलाई बुझाएका छन्। अझै बिल भुक्तानी भइनसकेको विभागका कर्मचारी बताउँछन। तीन करोड १० लाख रूपैयाँ खर्च गरेको लगाएको रंग केही दिनमै ठाउँठाउँमा उप्किएको विभागकै इञ्जिनियरहरू स्वीकार गर्छन् । रंग उप्किनुनमा रंगको गुणस्तरमै प्रश्न उठेको छ। उप्किएको रंगमा फेरि रंग थप्ने काम भएको विभागका इञ्जिनियरहरू बताउँछन्।  

द्रुत बस सेवाका लागि छुट्टै लेनको संकेत गर्न रातो रंग लगाइएको हो। रातो रंग र संकेत लेख्ने काम रत्नपार्कदेखि जडिबुटीसम्म काठमाडौं सडक डिभिजन कार्यालय र जडिबुटीदेखि सूर्य विनायकसम्म, सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले गरेको हो।  

काठमाडौं सडक डिभिजन कार्यालयका अनुसार रत्नपार्कदेखि जडिबुटीसम्म रातो रंग लगाउन के एएम कन्स्ट्रक्सन तथा अनिता बिजनेस हाउस पुतलीसडकलाई जिम्मा दिइएको थियो। यसैगरी, रत्नपार्कदेखि जडिबुटीसम्म साइनपोष्ट र साइनबोर्ड (रातो रंगभित्र लेखिएका अक्षर र बोर्ड) लेख्न सौरभ आटर्स एन्ड मिडिया सर्भिसेजसलाई जिम्मा दिइएको थियो।  

यसैगरी, काठमाडौंको जडिबुटीदेखि भक्तपुरको सूर्यविनायकसम्म नयाँ युग प्रालिले रंग लगाएको हो। जडिबुटीदेखि सूर्यविनायकसम्म साइन पोष्ट र साइनबोर्ड बनाउने काम पनि सोही कम्पनीलाई जिम्मा दिइएको थियो। सडक विभाग काठमाडौंका अनुसार रत्नपार्कदेखि जडिबुटीसम्म रंग लगाउन, पेन्टिङ गर्न तथा साइनबोर्ड राख्न भ्याटसहित एक करोड ५० लाख खर्च हुने अनुमान गरिएको छ। यसैगरी, जडिबुटीदेखि सूर्यविनायकसम्मको रुटमा यी काम गर्न एक करोड ६० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

भदौ दोस्रो साता काठमाडौंको कुनै ठाउँमा दु्रत बस सेवा सञ्चालन गर्ने निर्णय प्रधानमन्त्री कार्यालय तहबाट गरिएको थियो। त्यसपछि यसको जिम्मा भौतिक पूर्वाधार मन्त्रालयलाइ दिइयो। भदौ तेस्रो साता मन्त्रीस्तरीय निर्णयबाट रत्नपार्कदेखि सूर्यविनायकसम्म दु्रत बस सेवा सञ्चालन गर्ने निर्णय गरियो। त्यसभन्दा पहिले काठमाडौंका दुई तीनवटा सम्भावित रुटको अध्ययन गरिएको थियो। अध्ययनबाट सबैभन्दा उपयुक्त रुट रत्नपार्कदेखि सूर्यविनायकसम्मको रुट देखिएको थियो। रत्नपार्कदेखि सूर्यविनायकसम्म करिब १८ किमि लामो सडक छ।

प्रकाशित: २१ कार्तिक २०८० ०१:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App