२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सिद्धबाबाको सुरुङ खन्ने काम वर्षायामपछि

वर्षायाम सकिएसँगै बहुप्रतिक्षित बुटबल-पाल्पा सुरुङमार्गको निर्माण कार्य थालिने भएको छ। यो खण्डमा बारम्बार पहिरो गएका कारण ठूलो धनजनको क्षति भएको हुँदै आएकाले १.१२६ किलोमिटर सुरुङमार्ग निर्माण गर्न लागिएको हो। बुटबल–तानसेन खण्ड अन्तर्गतको सिद्धबाबा मन्दिरको उत्तरतर्फ चिडियाखोलाको छेउदेखि दोभानसम्मको सुरुङमार्ग खन्न लागिएको हो।

सिद्धबाबा सुरुङमार्ग योजनाका योजना प्रमुख रामपुकार जयसवालले वर्षायाम सकिएसँगै सिद्धबाबा सुरुङको मुख्य सुरुङ खन्ने काम सुरु गरिने बताए।

‘अहिलेसम्म सिद्धबाबा सुरुङ खन्ने काम सुरु भइसकेको छैन,’ उनले भने, ‘सुरुङ खन्नुअघि आवश्यक पर्ने कामदार बस्ने क्याम्प लगायतको संरचना तयार भइसकेको छ। सम्भवत केही समयभित्रै सुरुङ खन्ने काम सुरु गरिनेछ।’

यो सुरुङमार्ग निर्माण गर्ने ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पाेरेसनले पाएको थियो। ठेक्का सम्झौता २०७८ फागुन २५ गते भएको थियो। ठेक्का सम्झौताअनुसार यो सुरुङमार्ग पाँच वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ।

योजना कार्यालयका अनुसार केही समयअघि सिद्धबाबा सुरुङमार्गको केही भाग पहिरोले पुरिए पनि ठूलो क्षति पुगेको छैन। योजना प्रमुख जयसवालले निर्माण कम्पनीले बर्सात अघि नै काम गर्न खोजे पनि पहिरोका कारण केही ढिलो भएको बताए।

‘निर्माण कम्पनीले बर्सातअघि नै काम गर्न खोजेको थियो तर पहिरोका कारणले सो सम्भव हुन सकेन,’ उनले भने, ‘बर्सातको कारणले केही समय रोकियो। अब केही दिनभित्रै मनसुन सकिने भएकाले पनि खन्ने काम गरिन्छ।’

योजना प्रमुख जयसवालले मुख्य डिजाइन तयार भइसके पनि केही थपघट भइरहने बताए। ‘आवश्यकता अनुसार डिजाइनमा केही फेरबदल भइरहन्छ,’ उनले भने, ‘अब सुरुङ खन्न डिजाइनकै कारणले रोकिने अवस्था छैन।’

यो सुरुङमार्गको लम्बाइ १.१२६ किलोमिटर रहनेछ। यो सुरुङमार्ग दुई लेन अर्थात् साढे सात मिटर चौडा हुनेछ। ठेकेदार कम्पनीले सुरुङमार्गसँगै सात सय ८० मिटर क्षेत्रको सडकमा रकसेटको संरचनासमेत तयार पार्नुपर्नेछ।

अहिलेको सडकलाई दुई लेनमा बिस्तार गरिनेछ। योजना कार्यालयका अनुसार सुरुङमार्गको आवश्यक सर्भे जिओलोजिकल इन्भेस्टिगेसन कार्य, जिओटेक्निकल लगायतका काम हुँदै आइरहेको छ।

निर्माण व्यवसायीबाट सम्पन्न डिजाइन स्वीस कन्सल्टयान्टबाट रिभ्यु हुँदै आइरहेको छ। सिद्धबाबा टनेलको दुवै पोर्टलको स्लोब स्टेबलाइजिङ कार्य र सब होरिजेन्टल कंक्रिट स्ल्याबको डिजाइन ड्रइङहरू स्विस कन्सल्ट्यान्टबाट सिफारिस भई सडक विभागबाट स्वीकृत भइसकेको छ।

सिद्धबाबाको टनेल निर्माण कार्यको आइइई रिपोर्ट तयार भई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट स्वीकृतिका लागि अन्तिम चरणमा रहेको छ। सुरुङ निर्माणको लागि आवश्यक पर्ने विस्फोटक पदार्थको संकलन र भण्डारणको काम पनि भइरहेको छ।

योजना कार्यालयका अनुसार निर्माण व्यवसायी साइटमा परिचालन भई कन्ट्रयाक्टर क्याम्प, थ्री फेज इलेक्ट्रिकल लाइन र ट्रान्सफर्मर जडान लगायतका कार्य भइसकेका छन्। सिद्धबाबा सडक खण्डमा रहेका ओभरह्यांगिङ चट्टानहरू हटाउने काम भइरहेको छ। आव २०८०/८१ मा सुरुङ खन्ने काम सुरु गरिनेछ।

यो आवमा चार सय मिटर सुरुङ खन्ने लक्ष्य राखिएको छ। सिद्धबाबा सुरुङमार्गको ठेक्का चाइना स्टेटले सात अर्ब ३४ करोड २१ लाख चार हजार सात सय ३४ रूपैयाँमा पाएको हो। सुरुङमार्गको प्राविधिक छनोटमा चारवटा कम्पनी परेका थिए। प्राविधिक प्रस्ताव पेस गरेकामध्ये सबैभन्दा कम कबोल गर्ने चाइना स्टेट छानिएको हो।

योजना कार्यालयका अनुसार यो खण्डमा सुरुङमार्ग मात्रै नभएर दुई लेनको सडकसमेत बिस्तार गरिनेछ। तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७७ मंसिर १ गते मन्त्रीस्तरीय निर्णय गरी सिद्धबाबा सुरुङमार्ग निर्माणको लागि १० अर्ब १५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेका थिए।

सिद्धार्थ राजमार्ग अन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको खण्डमा अत्यधिक मात्रामा पहिरोको जोखिम छ। सो खण्डमा हिउँद र बर्खा याममा समेत पहिरोको कारण बर्सेनि दर्जनौंले ज्यान गुमाइरहेका छन्।

माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको इलाकामा स्विस सरकारको विकास सहयोगमा भौगर्भिक तथा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो। स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कर्पोरेसनले सिद्धबाबा सुरुङमार्गको पूर्वसम्भाव्यतता अध्ययन गरेको थियो। यो खण्डमा पहिरोमा परेर अहिलेसम्म चार सय ५० भन्दा धेरैले ज्यान  गुमाइसकेका छन्।

प्रकाशित: १५ आश्विन २०८० ०२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App