मुलुकको आन्तरिक अर्थतन्त्रमा समस्या देखिए पनि बाह्य अवस्थामा भने उल्लेख्य सुधार भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा रहेका नेपालीले एक खर्ब १६ अर्ब रूपैयाँ रेमिट्यान्स पठाएका छन्। गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आवको सोही अवधिमा २५.८ प्रतिशतले बढेर एक खर्ब १६ अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको हो।
नेपाल राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०८०/८१) को पहिलो महिनाको तथ्याङ्कमा आधारित प्रतिवेदन सार्वजनिक गर्दै नेपाल भित्रिएको रेमिट्यान्स बढेको जनाएको छ। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकका अनुसार चालु खाता एवम् शोधनान्तर स्थिति समीक्षा अवधिमा चालु खाता १२ अर्ब ९९ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५ अर्ब १३ करोडले घाटामा रहेको थियो।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा नौ करोड ८५ लाखले बचतमा रहेको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोडले बचतमा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा एक हजार पाँच सय ३९ अर्ब ३६ करोड रूपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले वृद्धि भई २०८० साउन मसान्तमा १५ खर्ब ७३ अर्ब १२ करोड पुगेको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रूपैयाँ रहेकोमा २०८० साउन मसान्तमा १.२ प्रतिशतले वृद्धि भई ११ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ। बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले वृद्धि भई १३ खर्ब ८५ अर्ब २४ करोड पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा २०८० साउन मसान्तमा २.९ प्रतिशतले कमी आई १८७ अर्ब ८९ करोड कायम भएको छ। २०८० साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ।
राष्ट्र बैंकका अनुसार आव २०८०/८१ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १२.५ महिनाको वस्तु आयात र १०.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखाएको छ।
२०८० साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २९.२ प्रतिशत, ८५.७ प्रतिशत र २६.३ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए।
राष्ट्र बैंकका अनुसार २०८० को साउन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.२६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४२ प्रतिशत रहेको छ।
राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आवको पहिलो महिना साउनमा कुल वस्तु निर्यात ८.७ प्रतिशतले कमी आई १३ अर्ब ५३ करोड रूपैयाँ मात्रै भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८.७ प्रतिशतले कमी आएको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात २०.८ प्रतिशतले कमी आएको छ भने र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ५२७.२ प्रतिशत र १५.४ प्रतिशतले वृद्धि भएको छ।
आव २०८०/८१ को पहिलो महिनामा कुल वस्तु आयातमा १.६ प्रतिशतले कमी आई १२९ अर्ब २४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १२.९ प्रतिशतले कमी आएको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः ३.३ प्रतिशत र १७.० प्रतिशतले वृद्घि भएको छ भने अन्य मुलुकबाट भएको आयात २३.१ प्रतिशतले कमी आएको छ।
वस्तुगत आधारमा धान तथा चामल, एमएस तार, छड, बार तथा क्वाइल, रासायनिक मल, हट रोल्ड सिट, विद्युतीय उपकरण लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एमएस विलेट लगायतका वस्तुको आयात घटेको छ।
प्रकाशित: १ आश्विन २०८० ०२:५४ सोमबार