१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

वैदेशिक व्यापार साढे ३ खर्ब घट्यो

आयात १६.०८ प्रतिशत, निर्यात २१.४४ प्रतिशतले गिरावट

मुलुकको वैदेशक व्यापारमा उच्च गिरावट आएको छ। गत आर्थिक २०७९-८० मा मुलुकको आयात, निर्यात दुवै घटेको छ।

मुलुकको वैदेशिक व्यापार साढे तीन खर्ब रूपैयाँ घटेको छ। आर्थिक २०७८-७९ मा मुलुकको कुल वैदेशिक व्यापारमा २१ खर्ब २० अर्ब रूपैयाँ रहेकोमा गत आव २०७९-८० मा ३ खर्ब ५२ अर्ब खुम्चिएर १७ खर्ब ६८ अर्बमा सीमित भएको छ। कुल वैदेशिक व्यापार १६.५८ प्रतिशतले कमी आएको भन्सार विभागले जनाएको छ। आयात १६.०८ प्रतिशत, निर्यात २१.४४ प्रतिशतले गिरावट आएको छ। भन्सार विभागका अनुसार गत आवमा १६ खर्ब ११ अर्ब ७३ करोड रूपैयाँको वस्तु तथा सामान आयात हुँदा नेपालबाट एक खर्ब ५७ अर्ब रूपैयाँ बराबरको सामान निर्यात भएको छ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विदेशी डलर सञ्चितिको अभाव भएको भन्दै सुविधा सम्पन्न सवारी साधन र अन्य बहुमूल्य धातुमा प्रतिबन्ध लगाएको थियो। जसको कारणले गत आर्थिक वर्षमा विदेशी मुलुकबाट हुने आयातमा पनि केही कमी आएको हो।  

पोहोरको तुलनामा गत आर्थिक वर्षमा आयात तीन खर्ब ९ अर्ब रूपैयाँले खुम्चिएको छ। आर्थिक वर्ष २०७८-७९ मा १९ खर्ब २० अर्ब रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो तर गत आर्थिक वर्ष २०७९-८० मा भने अघिल्लो वर्षको तुलनामा आयात १६.८ प्रतिशतले खुम्चिएर १६ खर्ब ११ अर्बमा झरेको छ।

गत आर्थिक वर्षमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.८८ प्रतिशत रहेको छ भने आयातको हिस्सा भने ९१.१२ प्रतिशत रहेको छ। अघिल्लो आवमा भने निर्यातको हिस्सा भने ९.४३ प्रतिशत र आयातको हिस्सा भने ९०.५७ प्रतिशत रहेको थियो।

गत आर्थिक वर्षमा आयात मात्रै होइन, निर्यात पनि धेरै खस्किएको छ। अघिल्लो आर्थिक वर्षमा दुई खर्ब रूपैयाँको निर्यात भएको थियो। सोही आवको तुलनामा गत आवमा भने निर्यातको हिस्सा २१.४४ प्रतिशतले खुम्चिएर एक खर्ब ५७ अर्ब रूपैयाँको नेपाली वस्तु तथा सामान विदेशमा निर्यात भएको हो। गत आर्थिक वर्षमा आयातको हिस्सा ९०.५७ प्रतिशत र निर्यातको हिस्सा भने ९.४७ प्रतिशत रहेको छ।  

व्यापार घाटा दुई खर्ब ६६ अर्बले घट्यो

आव २०७८-७९ मा नेपालको विदेशी मुलुकहरूसँगको व्यापार घाटा १७ खर्ब २० अर्ब रूपैयाँ रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा विदेशी मुलुकसँगको व्यापार घाटा पनि १५.४५ प्रतिशत अर्थात् २ खर्ब ६६ अर्ब रूपैयाँ घटेको छ। गत आर्थिक वर्षमा विदेशी मुलुकसँगको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रूपैयाँमा खुम्चिएको छ।

पेट्रोलियम पदार्थको आयातमा कमी

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थको आयातमा केही गिरावट आएको छ। अघिल्लो आवमा तीन खर्ब ८३ अर्बको पेट्रोलियम पदार्थ आयात भएकोमा गत आवमा भने सोको परिमाण केही घटेर तीन खर्ब ५३ अर्ब रूपैयाँको आयात भएको छ। नेपालमा प्रचुर मात्रामा जलविद्युत्को संभाव्यता भए पनि अत्यधिक मात्रामा पेट्रोलियम पदार्थ आयातको नाममा मुलुकबाट साढे तीन खर्ब रूपैयाँभन्दा धेरै रकम बाहिरिँदै आइरहेको छ।

प्रकाशित: ९ श्रावण २०८० ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App