५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालबाट पहिलो पटक पशु आहार ‘हाइलेज’ चीन निर्यात

नेपालबाट पहिलो पटक पशु आहार (हाइलेज) चीन निर्यात गरिएको छ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेपालका लागि चिनियाँ राजदूत चेन सङ तथा कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले संयुक्त रुपमा पशु आहार हाइलेज निर्यातको शुभारम्भ गरे।

भरतपुरमा शनिबार कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले हाइलेज निर्यात सामान्य जस्तो लागे पनि दुई देशबीचको व्यापारिक सम्बन्धमा ऐतिहासिक माइलस्टोन हुनसक्ने बताए।

‘नेपाल र चीनबिच राम्रो सम्बन्ध रहेको छ। आर्थिक विकास र समृद्धिलाई ध्यानमा राखेर काम गरिएको छ,’ उनले भने, ‘हाइलेज निर्यातले आयात प्रतिस्थापन गर्न सहयोग पुर्‍याउँछ।’

उनले व्यापार घाटालाई कम गर्नका लागि हाइलेजले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। गृहमन्त्री श्रेष्ठले निर्यात गर्ने सामानलाई गुणस्तरीय नयाँ सामान उत्पादन गर्दै लैजानुपर्ने धारणा राखे।

‘गुणस्तरीय वस्तु उत्पादन गर्न सक्यौँ भने व्यापार घाटा कम गर्न सक्छौँ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यसलाई (हाइलेज) विस्तार गर्ने र त्यसबाहेक अरू क्षेत्रको पनि विस्तार गर्नुपर्दछ।’

उनले नेपाल र चीन मिलेर व्यापार र पर्यटनको विकास गर्न जरुरी रहेको बताए। देशको व्यापार घाटालाई कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गरेर जानुपर्ने उनको भनाई छ।

कृषिमन्त्री डा.बेदुराम भुसालले घाँस निर्यातले चीन र नेपालसँगको व्यापारलाई थप मजबुत बनाउने बताए। नेपाल र चीन बीच आदानप्रदान ऐतिहासीकदेखि रहेको चर्चा गर्दा मन्त्री भुसालले यसलाई निरन्तरता दिनुपर्ने बताए।

उनले घाँस निर्यातले समेत कृषि क्षेत्रको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास राखे। 

‘नेपालमा एक लाख ३० हजार हेक्टर जमिन बाँझो हुनु दुःखको कुरा हो। उनले भने ‘हामीले घाँस उत्पादन गर्न सक्यौँ भने व्यापार घाटा गर्न सक्छौँ।’

नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपाल र चीनबीचको सम्बन्ध निकै पुरानो भएको भन्दै आजदेखि चीन नेपालबाट पशु आहार जान सुरु गरेकामा खुसी व्यक्त गरे। दुई देशबीचको व्यापारिक सम्बन्ध पनि निकै राम्रो भएको उनको दाबी छ।

उद्योग सचिव मुध मरासिनीले नेपालमा साढे तीन सय अर्ब कृषि जन्य वस्तुको आयात हुने बताए। 

‘६२ प्रतिशत कृषि पेसामा छौँ। तर, अझै हामी कृषिमा बाहिरी मुलुकसँग निर्भर छौँ,’ उनले भने ‘आयात प्रतिस्थापन गर्न चीनले सहयोग गरेको छ।’ 

कृषिमा लागेको व्यक्तिको सुधार नगरेसम्म देशको विकास नहुने उनको भनाई थियो।

चितवनको भरतपुर–५ प्रेम बस्तीमा उद्योग रहेको नेपाल होराइजन इन्टरनेशनलले उत्पादन गरेको पशुआहार आजदेखि चीन निर्यात सुरु गरिएको हो। शनिबार १० वटा गाडीमा ८० टन हाइलेज चीन निर्यात गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाङले बताए। कम्पनीले प्रति वर्ष १० लाख टन हाइलेज उत्पादन गरी चीन निर्यात गर्ने तयारी गरिरहेको उनले बताए। हाल कम्पनीले तीन हजार टन हाइलेज उत्पादन गरेको उनले बताए।

कम्पनीले दैनिक २० केन्टेनर हाइलेज लैजाने तयारी गरेको छ। चीनमा हाइलेजको १० लाख टन आवश्यक रहेको झाङले बताए। चीनमा लैजानको लागि कम्पनीले भरतपुरमा २०२२ देखि काम थालेको हो।

निर्यातका लागि विभिन्न प्रक्रिया पुराउँदा अहिलेसम्म कुर्नुपरेको कम्पनीका रमेश धितालले जानकारी दिए। कम्पनीले वार्षिक दुई करोड टन निर्यात गर्ने लक्ष्य राखेको छ। एउटा गोलामा चार सय ५० किलो पशुआहार हुन्छ। यो घाँस चीनको सिगात्से पुराउने लक्ष्य राखिएको छ। सो सहर निकै चिसो हुने भएकाले त्यहाँ घाँस उत्पादन हुँदैन। पालिएका पशु चौपायाका लागि घाँस पठाउन लागिएको हो।

हाइलेज दुधिलो मकैको डाँठबाट बनाइन्छ। डाँठलाई मेसिनले टुक्रा पारिन्छ। त्यसलाई हावा नछिर्ने गरी प्लास्टिकमा प्याकिङ गरिन्छ। त्यसपछि एक सय २० दिनसम्म भण्डारण गरेपछि पशुलाई खुवाउनको लागि उपयुक्त हुन्छ। यसको आयु दुई वर्षसम्म हुने झाङले बताए।

यो कम्पनीमा पूर्ण चिनियाँ मानिसको लगानी छ। उसले ६ बिघा जमिन समेत लिएको छ। बाँकी मकै किसानसँग खरिद गर्ने गरेको छ। उसले अहिलेसम्म चितवनका किसानसँग मात्र दुधे मकै लिने गरेको छ। सबैभन्दा धेरै पूर्वी चितवनको टाँडी, खैरहनी, पर्सा, कालिका, पश्चिम चितवनको गितानगर लगायतका ठाउँका किसानबाट खरिद गरिएको छ। पहिलो चरणमा केरुङ र रसुवा नाकाबाट घाँस पठाइँदै छ।

प्रकाशित: ३० असार २०८० १३:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App