२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

बैंक सञ्चालकको संख्या घटाउन निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको संख्या घटाउन निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाले यथाशीघ्र साधारण सभा बोलाई सञ्चालक घटाउन केन्द्रीय बैंकले सोमबार निर्देशन दिएको हो।

'क' वर्गका वाणिज्य बैंक, 'ख' वर्गका विकास बैंक, 'ग' वर्गका वित्त कम्पनी र 'घ' वर्गका लघुवित्त विकास बैंकलाई राष्ट्र बैंकले सञ्चालकको संख्या घटाउन भनेको छ। कम्तीमा पाँच र बढीमा सात सदस्यीय सञ्चालक समिति बनाउन केन्द्रीय बैंकले निर्देशन दिएको हो। यसअघि सञ्चालक समितिमा कम्तीमा सातजना र बढीमा नौजनाको सञ्चालक समिति हुन्थ्यो।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ (बाफिया) लागू भएपछि राष्ट्र बैंकले उक्त ऐनमा भएको व्यवस्था भए अनुसार गर्न बैंक तथा वित्तीय संस्थालाई धमाधम निर्देशन जारी गर्दैछ। 'बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानुनमा भएको व्यवस्था बमोजिम बैंक तथा वित्तीय संंस्थाको सञ्चालक समितिमा कम्तीमा पाँच र बढीमा सातजना सञ्चालक हुने गरी संस्थापक सेयर समूह र सर्वसाधारण सेयर समूहबाट सेयर स्वामित्वको अनुपातका आधारमा  प्रतिनिधित्व हुनुपर्ने भएकोले बैंक तथा वित्तीय संस्थाले यथाशीघ्र साधारण सभा/विशेष साधारण सभा बोलाई आ–आफ्नो प्रबन्धपत्र र नियमावली संशोधन/समायोजन/परिमार्जन गरी प्रचलित कानुन अनुरुप सञ्चालक समिति गठन गर्ने व्यवस्था मिलाउने निर्णय भएको जानकारी गराइन्छ,' केन्द्रीय बैंकद्वारा जारी निर्देशनमा उल्लेख गरिएको छ।

केन्द्रीय बैंकको उक्त निर्देशनले ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थाका सञ्चालक संख्या कटौती हुनेछ।

प्रकाशित: २३ जेष्ठ २०७४ ०४:२६ मंगलबार

बैंक सञ्चालकको संख्या घटाउन निर्देशन