१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

टीकापुरमा केरा खेती फष्टाउँदै

कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ। यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ। बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन्।

टीकापुरमा केरा खेतीमा समर्पित कालु हमाल सुरुवातमा १० बोटबाट व्यवसाय सुरु गरेको बताउँछन। यहाँ केराका लागि सुहाउँदो माटो भएका कारण हमालसँगै यतिबेला सयौँ किसानले व्यावसायिक केरा खेती गर्दैआएका छन। हमाल भन्छन, ‘त्यो बेला केराको व्यवसाय गर्ने म एक्लो थिए। अहिले धेरै किसान यसमा लागेका छन्।’

हमालले केरा खेतीलाई पर्यटन व्यवसायसँग जोडेका छन। केराको मात्रै परिकार पाइने बनानाज रिसोर्ट निकै चर्चित छ। यहाँ उत्पादन भएको केराको चिप्स देशभर बिक्रीका लागि पठाइन्छ। उनी  उत्कृष्ट कृषकका रुपमा सम्मानित भइसकेका छन।

टीकापुर क्षेत्रमा हाल एक हजार दुई सय बिघा क्षेत्रफलभन्दा बढीमा केरा खेती हुँदै आएको तथ्याङ्क छ। बर्सेनी केरा खेती विस्तार हुँदै गएको केरा व्यवसायी टेकेन्द्र धामी बताउँछन। ‘किसान केरा खेतीमा आकर्षित हुँदै गएका छन्। बजारीकरणको समस्या छैन, एकपटक खेती गर्दा तीन पटकसम्म आम्दानी लिन सकिन्छ’, उनी भन्छन, ‘टीकापुरमै सहजै केराको बेर्ना उपलब्ध हुन्छ।’

धामीले केराको बेर्ना टीकापुरमै उपलब्ध गराउँदै आएका छन। उनले सात वर्षदेखि टिष्युकल्चर प्रविधिबाट केराको बेर्ना हुर्काएर किसानलाई बिक्री गर्दै आएका हुन। केही वर्ष पहिले भारतबाट बेर्ना मगाउने धामी अहिले नवलपरासीबाट बेर्ना ल्याएर त्यसलाई माटो सुहाउँदो हावापानीमा हुर्काएर किसानलाई बिक्री गर्छन। गत वर्ष करिब दुई लाख केराको बिरुवा बिक्री गरेको उनले बताए।

केराको बजारीकरणका लागि टीकापुरमा समस्या छैन। टीकापुरमा उत्पादन भएको केरा कैलालीका अन्य ठाउँका साथै बर्दिया, बाँके, दाङ, रुपन्देही हुँदै पोखरा, काठमाडौँसम्म बिक्री हुने गरेको छ। व्यवसायी राजकुमार चौधरीले व्यापारी बारीमै आएर केरा खरिद गर्ने गरेका बताउँछन।

केरा खेतीका लागि राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन इकाइले किसानलाई सहयोग गर्दै आएको छ। कार्यान्वयन इकाइले केराको बेर्ना खरिद, मलखाद, विषादी, कृषि उपकरणहरु ५० प्रतिशत अनुदानमा सहयोग गर्दै आएको छ। कार्यान्वयन इकाइका सूचना अधिकारी दिलीपजङ्ग रानाले चालू आर्थिक वर्षमा मात्रै केरा खेतीका लागि आयोजनाले रु ६० लाख विनियोजन गरेको बताउँछन। कार्यान्वयन इकाइले टीकापुरमा विषादीरहित केराको बजारीकरणका लागि केरा पकाउने च्याम्बर पनि निर्माण गरेको छ।च्याम्बर पूर्णरुपमा सञ्चालनमा भने आउन सकेको छैन।  

प्रकाशित: २३ असार २०८० ११:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App