३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

२६ किलोमिटर सडकका लागि एडिबीको अनुदान

रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा एडिबीको अनुदानमा साढे २६ किलोमिटर सडक निर्माण हुने भएको छ। सहरी विकास मन्त्रालय मार्फत एसियाली विकास बैंकको लगानीमा नेपाल सरकारको ७५ प्रतिशत अनुदान र नगरपालिकाको २५ प्रतिशत लगानीमा साढे २६ किलोमिटर सडक निर्माण हुने भएको हो।

सिद्धार्थनगर नगरपालिकाको कार्यालयको पहलमा नगरमा एसियाली विकास बैंक (एडिबी) को अर्बन रेजिलेन्स लिभ्लिी हुड इम्प्रुभमेन्ट (युआरएलआई) आयोजनाअन्तर्गत सडक कालोपत्रे गरीने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए। १ अर्ब ३५ करोड लागत अनुमानमा भीमकाली पथ, गल्लामण्डीको सुगरमिल सडक, मायादेवी कोलोनी, अभयदुर्गा पथ, दुर्गा कोलोनीलगायत २८ वटा भित्री सडकहरू विस्तार गरिने प्रमुख प्रशासकीय अधिकृत पौड्यालले जानकारी दिए। आयोजना सञ्चालनका लागि दसैंअघि नै बोलपत्र आह्वान हुने पौड्यालले बताए। यस पटक पनि सहज र समयअघि नै आयोजना सम्पन्न गर्ने गरी तयारी भइरहेको उनले बताए।  

यसअघि पनि सिद्धार्थनगरमा एडिबीको ‘आरयुडिपी’र ‘आइयुडिपी’आयोजना सञ्चालन भई सम्पन्न भएको थियो। आरयुडिपी आयोजना सञ्चालनमा नगरले उत्कृष्ट कार्य सम्पादन गरेकाले एडिबीले सिद्धार्थनगरलाई उत्कृष्ट परियोजना व्यवस्थापन पुरस्कारसमेत प्रदान गरेको थियो।

एडिबीले रूपन्देहीको पाँचवटा सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकामा आयोजना सञ्चालन गर्न लागेको छ। पाँचवटै पालिका प्रमुख, आयोजना व्यवस्थापक, सहरी विकास मन्त्रालयअन्तर्गत आयोजना समन्वय कार्यालय र एडिबीबिच भएको अनलाइन छलफलमा एडिबीका वरिष्ठ आयोजना अधिकृत नरेश गिरी र आयोजना समन्वय कार्यालयको आयोजना निर्देशक रोशन श्रेष्ठले सिद्धार्थनगर नगरपालिकामा एडिबीको आयोजना प्रभावकारी, सहजै र समयमै सम्पन्न हुने भएकाले अन्य पालिकाभन्दा सबैभन्दा अघि सिद्धार्थनगर नगरपालिकामा आयोजना सञ्चालन हुने बताए।

छलफलमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्य पालिकाभन्दा सिद्धार्थनगरमा सबैभन्दा अघि आयोजना सञ्चालन गर्न लागिएकामा खुसी व्यक्त गर्दै आयोजना सम्पन्नका लागि पालिकाबाट पूर्ण साथ र सहयोग हुने प्रतिबद्धता जनाए। उनले नगरपालिकामा क्रमशः विकास भइरहेकाले केही समयमा कामको परिणाम देखिने बताए।  

निर्माण हुने सडकखण्ड दुवैतर्फ नाला, फुटपाथ, आवश्यकताअनुसार स्ट्रिट लाइट हुनेछ भने निर्माण हुने संरचना बालबालिका, अपांगमैत्री हुने सिद्धार्थनगर नगरपालिकाका आयोजना व्यवस्थापक साकार श्रेष्ठले बताए।

नगरमा सडक संरचनासहितको निर्माणले नगरवासी लाभान्वित विश्वास लिइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन्। सडकका साथै नगरपालिकाको कार्यालयले नगरवासी र पर्यटकलाई लक्षित गरी डन्डा नदीलाई पनि करिडोरका रूपमा विकास गर्नका लागि प्रक्रिया अघि बढाएको छ। जसका लागि विस्तृत गुरुयोजना तयार हुने क्रममा रहेको आयोजना व्यवस्थापक साकार श्रेष्ठले बताए। प्रथम चरणका लागि ७० करोड रूपैयाँ अनुमान गरी विनियोजन गरिएको छ। डन्डा नदी र जग्गाको संरक्षणका लागि तटबन्ध निर्माण गरिने, साइकल मार्ग, पैदल यात्रु हिँड्डुल मार्ग, नदीमा बोटिङ, रेस्टुरेन्ट, ध्यान केन्द्र, बालबालिकाका लागि फनपार्कलगायत संरचना निर्माण हुने श्रेष्ठले जानकारी दिए।  

प्रकाशित: २३ असार २०८० ०१:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App