१० मंसिर २०८१ सोमबार
image/svg+xml
अर्थ

मधेसका किसानलाई जल र मलको पिरलो

कृषिलाई मधेस प्रदेशको समृद्धिको मूल आधार मानिन्छ। प्रदेश सरकारले प्रदेश समृद्ध बनाउने ध्येयले कृषि, सिँचाइ र कृषि उत्पादन बढाउन व्यावसायिक कृषि प्रणालीमा जोड दिँदै आएको छ। धान रोपाइँ गर्ने बेलामा भने मधेसका किसान जल र मल बिना छटपटाउँदै निरीह देखिएका छन्।  

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार मधेस प्रदेशमा अहिलेसम्म ९.५२ प्रतिशत रोपाइँ भएको छ। कुल चार लाख एक हजार छ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने मधेस प्रदेशमा हालसम्म ३८ हजार २ सय ७५ हेक्टर अर्थात् ९.५२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ।

यस प्रदेशमा सबैभन्दा बढी सिरहा र सप्तरीमा १५-१५ प्रतिशत, धनुषामा ५ प्रतिशत, महोत्तरीमा ५ प्रतिशत, सर्लाहीमा १२ प्रतिशत, रौतहटमा ५ प्रतिशत, बारामा १० प्रतिशत र पर्सामा ६ प्रतिशत रोपाइँ सकिएको जानकारी कृषि मन्त्रालयका कमलदेव कुशवाहाले दिए।

सप्तरीमा ८१ हजार ६ सय ६८ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ६८०० हेक्टरमा धान रोपाइँ हुन्छ। जसमध्ये १० हजार २०० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। सिराहामा ७३ हजार ९ सय १४ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ५४ हजार हेक्टरमा धान रोपाइँ हुन्छ। जसमा ८ हजार १ सय क्षेत्रफलमा रोपाइँ सकिएको छ।

धनुषामा ७६ हजार ५ सय ३१ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ५८ हजार हेक्टरमा धान रोपाइँ हुन्छ। जसमा २ हजार ९ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। महोत्तरीमा ६४ हजार ४ सय ४२ हेक्टर कूल खेतीयोग्य जमिनमध्ये ४७ हजार ५ सय हेक्टरमा धान रोपाइँ हुन्छ। जसमा २ हजार ३ सय ७५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।  

सर्लाहीमा ८४ हजार ६ सय ७८ हेक्टर कुल खेतीयोग्य जमिनमध्ये ४६ हजार ७ सय हेक्टरमा धान रोपाइँ हुन्छ। जसमा ५ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। रौतहटमा ६५ हजार ९ सय ६९ हेक्टर कुल खेतीयोग्य जमिन मध्ये ३५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ।

जसमा १ हजार ७ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। बारामा ६९ हजार ५ सय १६ हेक्टर कुल खेती योग्य जमिनमध्ये ४६ हजार २० हेक्टरमा धान रोपाइँ हुन्छ। जसमा ४हजार ६ सय २ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ। पर्सामा ५४ हजार ७ सय ३२ हेक्टर कुल खेती योग्य जमिनमध्ये ४७ हजार १ सय ३० हेक्टरमा धान रोपाइँ हुन्छ। जसमा २ हजार ८ सय २८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ।

मधेस प्रदेशमा कुल ५ लाख ७४ हजार ३ सय ६० हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ४ लाख १ हजार ६ सय ५० हेक्टर जमिनमा धान रोपाइँ हुन्छ। अहिलेसम्म ३८ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ। वर्षा निरन्तर भइदिएको भए रोपाइँको क्षेत्रफल बढ्ने थियो।

मधेस प्रदेशमा रोपाइँको क्षेत्रफल खुम्चिनुको मूल कारण मल र पानी नै भएको विज्ञ बताउँछन्। वर्षा भएको बेला किसानलाई मल उपलब्ध हुँदैन, मल उपलब्ध भएको बेला वर्षा हुँदैन। सरकारी स्वामित्वको आपूर्ति कम्पनीसँग मलको मौज्दात थोरै भए पनि किसानमा वितरण हुन नसक्दा किसान रोपाइँका लागि रन्थनिँन पुगेका छन्।

सधैं मलकै पिरलो

मधेसका किसानको सदाबहार पिरलो मल हो। धानखेतीको समयमा रासायनिक मलको अभावले पिरोल्दै आएका मधेसका किसानलाई यस वर्ष पनि मलकै पीडाले पिरोल्ने देखिन्छ।

यस वर्ष असार महिनासम्म चाहिने जति मल कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जको गोदाममा रहेको जनाइएको छ। त्यसपछि चाहिने मलको सुनिश्चितता हुन नसक्दा यसपालि पनि मधेसका किसानले मलको अभाव झेल्नुपर्ने देखिन्छ।

हुन त साउनसम्म धानखेतीका लागि रासायनिक मल अभाव नहुने कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चम्लागाईंको भनाइ छ। उनकाअनुसार हाल युरिया छ हजार मेट्रिक टन र डिएपी तीन हजार मेट्रिक टन मल गोदाममा छ।

गोदाममा मौज्दात रहेको मल असारसम्मका लागि पुग्ने र साउनको पहिलो साता थप मल आउने भएकाले साउनसम्म धानखेतीका लागि मल अभाव नहुने उनले बताए। कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगञ्जमा चालु आर्थिक वर्ष २०७९-८० को १० महिनामा एक लाख ७० मेट्रिक टन रासायनिक मल प्राप्त भएको उनले बताए। चालु आव २०७९-८० को साउनदेखि वैशाखसम्ममा एक लाख मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डिएपी मल प्राप्त भएको बताउँदै उनले भने, २०–२० हजार टन युरिया र डिएपी खरिदका लागि बोलपत्र स्वीकृत गर्ने प्रक्रियामा छ।

अहिलेसम्म युरिया र डिएपी गरी एक लाख ७० हजार मेट्रिक टन मल आइसकेको छ। ५० मेट्रिक टन मल आउने क्रममा छ। ४० हजार मेट्रिक टन मलको आपूर्तिका लागि बोलपत्र स्वीकृत प्रक्रियामा छ। बोलपत्र खरिद प्रक्रियामा रहेको ४० हजार मेट्रिक टन मल आयो भने पनि त्यो साउनसम्म मात्र धान्न सक्ने उनले बताए। थप मलका लागि प्रक्रिया सुरु भइसकेकाले धानखेतीको समयमा मल अभाव नहोला कि भन्ने हाम्रो अनुमान हो तर मागको ५० प्रतिशत मात्र आपूर्ति भयो भने चाहिँ अभाव हुन्छ, उनले भने।

प्रकाशित: १९ असार २०८० ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App