७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

हलेसीको लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा

नदी किनारमा लिफ्टिङका लागि जडान गरिएको सौर्य उर्जा प्लान्टमा जनप्रतिनिधि र उपभोक्ताहरू। तस्विरः महेश्वर

वर्षौँदेखि खानेपानी अभावमा तड्पिँदै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्माणाधीन लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ। 

खानेपानीको चरम अभाव बेहोर्दै आएका हलेसीबासीलाई शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले स्थानीय सरकारले ०७४ सालमा ‘सुक्खाग्रस्त क्षेत्र’ घोषणा गर्दै खानेपानी योजना निर्माण थालेको थियो।

नगरवासीलाई दीर्घकालीन र स्थायी तवरले खानेपानी उपलब्ध गराउन सुरु गरेको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’ अन्तरगत दूध नदीको पानी लिफ्टिङ प्रविधिमार्फत ल्याउने निर्माणाधीन आयोजना ९० प्रतिशत हाराहारी सकिएको छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय खोटाङको रेखदेखमा निर्माणाधीन आयोजनाको पहिलो चरणमा नगरको १ नं. वडामा पर्ने भुम्जु डाँडामा नदीको पानी निकालिएको छ। वडा नं. १ को बाहुनीडाँडास्थित लुलिमाबाट २ नं. वडाको डिकुवास्थित भुम्जु डाँडामा लिफ्टिङ प्रविधिको खानेपानी भर्खरै निकाल्न सफल भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खोटाङका प्रमुख इन्जिनियर (डिई) हिराकाजी महर्जनले बताए।

डिई महर्जनका अनुसार दूध नदीदेखि ४ हजार ५ सय मिटर उचाइमा रहेको भुम्जुडाँडामा १ सय ५० एमएम (मिलिमिटर) साइजको एचडिपी पाइप (फलामे नाला) मार्फत पानी निकालिएको छ। दुधकाेशीबाट भुम्जु डाँडासम्म ६ वटा लिफ्ट ट्यांकी बनाइएको छ भने डाँडामा पानी जम्मा गरेर वितरण गर्नका लागि सातौं ट्यांकी निर्माण गरिएको छ। भुम्जुडाँडामा पानी निकाल्ने परीक्षण सफल भएसँगै स्थानीयहरूको वर्षौँदेखिको खानेपानी समस्या सधैँका लागि समाधान हुने महर्जनको आकलन छ।

नदीको पानी लिफ्ट गरेर हलेसी तुवाचुङका ७ वटा वडाका कम्तीमा ३ हजार ७ सय ५६ घरधुरी उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको उनले बताए। त्यो लक्ष्य चाँडै पूरा गर्न तीव्र गतिमा काम भइरहेको पनि डिई महर्जनले बताएका छन्।

आयोजनाका लागि दुधकोशी नदी किनारमा ३ लाख क्षमताको ट्यांकी निर्माण गरिएको छ भने भुम्जुडाँडामा ४ लाख लिटर क्षमताका अन्य ३ वटा ट्यांकी बनाइएको छ।

त्यस्तै नदीदेखि भुम्जुडाँडासम्मकोबीच खण्डमा विभिन्न ५ ठाउँमा १-१ लाख लिटर क्षमताका थप ५ वटा लिफ्ट ट्यांकी निर्माण गरिएको छ। नदीको पानी डिकुवाको भुम्जुडाँडा र ७ नं. वडा महादेवस्थानको काभ्रे डाँडामा निकालेर दर्जन बढी बस्तीमा वितरण गर्ने योजना रहेको छ।

 त्यसका लागि ६ वर्षअघि २०७४ सालमै लिफ्टिङ खानेपानी आयोजना निर्माण कार्य अघि बढाइएको थियो। नदी किनारको लुलिमाबाट भुम्जुडाँडा र महादेव बेँसीबाट काभ्रे डाँडासम्म लिफ्ट प्रविधिबाट पानी निकाल्ने मुख्य पाइप लाइनको ठेक्का लिने दिवा-महादेव-खिम्ती जेभीले धमाधम काम गरिरहेको महर्जनले बताएका छन्।

त्यस्तै नदीदेखि भुम्जुडाँडासम्मको बीच खण्डमा विभिन्न ५ ठाउँमा १-१ लाख लिटर क्षमताका थप ५ वटा लिफ्ट ट्यांकी निर्माण गरिएको छ। नदीको पानी डिकुवाको भुम्जुडाँडा र ७ नं. वडा महादेवस्थानको काभ्रे डाँडामा निकालेर दर्जन बढी बस्तीमा वितरण गर्ने योजना रहेको छ।

उनका अनुसार महादेव बेँसीबाट काभ्रे डाँडामा पानी निकाल्न पम्प जडानको काम मात्र अब बाँकी छ। भुम्जुडाँडामा ल्याइएको पानी बाहुनीडाँडा, टिकुवा, च्यास्मीटार र बडहरे बस्तीबासीलाई वितरण गर्न वितरण लाइनको ठेक्का लामा कन्ट्रक्सनले पाएको छ।

त्यस्तै काभ्रे डाँडामा निस्केको पानी महादेवस्थान, दुर्छिम र मंगलटारबासीलाई वितरण गर्ने कामको ठेक्का रमन-सगरमाथा-घिमिरे जेभीले पाएको आयोजना कार्यालयले जनाएको छ।

आयोजनाको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) बनाउँदा ट्रिटमेन्ट प्लान्ट (प्रशोधन केन्द्र) बनाउने स्किम छुटेको भन्दै पुनः प्राविधिक इस्टिमेट गरेर थप बजेट माग गर्दै मन्त्रालयमा पत्राचार गरिएको पनि कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार ट्रिटमेन्ट प्लान्ट बनाउन आवश्यक जग्गा व्यवस्थापन भइसकेको छ भने १९ करोड ९५ लाख थप बजेटको मागसहित नयाँ इस्टिमेट बनाएर मन्त्रालयमा पेस गरिएको छ। नदीको पानी सिधै तानेर उपभोग गर्न उपयुक्त नहुने हुँदा शुद्धीकरण गरी पिउनयोग्य बनाउन अनिवार्य प्रशोधन गर्नुपर्ने सुझाव प्राविधिकको छ। जसअनुसार प्रशोधन केन्द्र बनाउन २ ठाउँमा १८ रोपनी जमिन व्यवस्था गरिएको छ।

हलेसी तुवाचुङका पूर्व नगरप्रमुख तथा बृहत् खानेपानी आयोजना उपभोक्ता समिति अध्यक्ष इवन राईले प्रशोधन केन्द्र निर्माण गर्न २ ठाउँमा जमिन व्यवस्थापन गरिएको बताए। उनका अनुसार लिलिमा बेँसीमा ९ रोपानी र र महादेव बेँसीमा ९ रोपनी जग्गा व्यवस्था गरिसकिएको छ।

कार्यालयका अनुसार ट्रिटमेन्ट प्लान्ट बनाउन आवश्यक जग्गा व्यवस्थापन भइसकेको छ भने १९ करोड ९५ लाख थप बजेटको मागसहित नयाँ इस्टिमेट बनाएर मन्त्रालयमा पेस गरिएको छ।

राईका अनुसार नगरपालिकाका ११ वटै वडाबासी स्थानीयले वर्षौँदेखि भोग्दै आएको खानेपानीको समस्या यो आयोजनाले अन्त्य गर्ने लक्ष्यका साथ आफ्नै कार्यकालमा निर्माण सुरु भएको हो। ढिलै भए पनि दुधकोशी नदीको पानी लिफ्टिङ प्रविधिमार्फत स्थानीयबासीको घरघरमा वितरण गर्ने आफ्नो सपना सफल हुन लागेकोमा पूर्व मेयर राईले खुसी व्यक्त गरेका छन्।

सो आयोजना निर्माणका लागि नेपाल सरकार, संघीय खानेपानी मन्त्रालयले ९६ करोड ४५ लाख लगानी गर्दैछ।

५ वर्षअघि निर्माण थालिएको सो आयोजनाको काम हालसम्म ९० प्रतिशत पूरा भइसकेको छ। अन्य काम ठेकेदारले गर्ने तथा पाइप लाइनको काम भने स्वयं उपभोक्ताले गर्नुपर्ने सर्त छ। जसअनुसार मेनलाइनको पानी नदीबाट निकाल्न सफल भएपछि स्थानीयवासीले आआफ्नो क्षेत्रमा पाइप लाइनको काम गरिरहेको राईले बताए।

वर्षामा आकाशे पानी घरको छानामा पाइप जडान गरेर जम्मा गरेर उपभोग गर्दै आएका हलेसीबासी हिउँदयाममा घटौँ टाढा दुधकोशीको पानी पिठ्युँमा बोकेर खादै आएका छन्। पछिल्लो समय कच्ची सडक बिस्तार भएपछि भने ट्याक्टर र ट्यांकरमार्फत नदीको पानी ड्रमका ड्रम ल्याएर खाने गरेका छन्।

प्रकाशित: २७ जेष्ठ २०८० ०७:४४ शनिबार

खोटाङको हलेसी तुवाचुङ नगरपालिका खानेपानीको चरम अभाव बेहोर्दै आएका हलेसीबासी बृहत हलेसी पम्पिङ खानेपानी आयोजना