चितवन– चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित प्रजनन केन्द्रमा गिद्धका बच्चा हुर्कने क्रम बढेको छ । केन्द्रमा रहेका १५ गिद्धले एकएक अन्डा पारेकामा नौवटाले बच्चा कोरलेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
‘विगतमा कुनै गिद्धले पनि बच्चा कोरल्न नसक्दा निराश थियौं’, खड्काले भने, ‘त्यसमाथि कोरलेको एउटा बच्चा पनि बचाउन नसक्दा हाम्रो उत्साह मरेको थियो तर यसपालि १५ अन्डाबाट नौवटा बच्चा निस्कँदा खुसी छौं ।’
नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, राज गिद्ध र सुन गिद्ध गरेर आठ प्रकारका गिद्ध पाइन्छन्, यीमध्ये डंगर र सानो खैरो प्रजातिको गिद्ध लोप हुने अवस्था छ
२०६५ सालमा १२ लाखको लागतमा स्थापित आधुनिक गिद्ध प्रजनन केन्द्रमा ल्याइएका गिद्धले चार वर्षपछि २०६९ मा पहिलो पटक अन्डा पारेका थिए तर तिनबाट बच्चा भने निस्केनन् । २०७० माघमा अन्डाबाट दुईवटा बच्चा निस्केकोमा एउटामात्र बाँच्न सफल भएको थियो । प्रजनन केन्द्रमा सुरुमा डंगर प्रजातिका गिद्धका १४ वटा बच्चा राखिेएकोमा हाल ५७ छन् । केन्द्र प्रमुख वेदबहादुर खड्काका अनुसार
चार वर्ष भएपछि गिद्धले आफैं गुँड बनाएर कात्तिक–मंसिरतिर एउटा मात्रै अन्डा पार्ने गर्छ ।
कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु लगायतका ठाउँमा गिद्धको प्राकृतिक वासस्थनमा माउले बनाएको गुँडका बच्चा झिकेर प्रजनन केन्द्रमा ल्याइएको थियो । आमासँग बस्न नपाउँदा उनीहरुले धेरै कुरा सिक्न नपाएको र बच्चा कोरल्न पनि नजानेको केन्द्रका कर्मचारीको अनुमान थियो । गिद्धले अन्डाबाट बच्चा कोरल्न नसक्दा कृषि विश्वविद्यालयका विद्यार्थीबाट डिएनए परीक्षण गराई भाले–पोथीको अनुपात मिलाएर खोरमा राखिएपछि धेरै अन्डाबाट बच्चा निस्केको केन्द्रका खड्काले बताए ।
मरेका जनावर र कुहिएका पदार्थ खाने भएकाले गिद्धलाई प्राकृतिक कुचिकार भनिन्छ । तर, केही वर्ष यता यसको संख्या स्वात्तै घटेको छ । तसर्थ लोप हुनबाट जोगाउन राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण संघको सहयोगमा प्रजनन केन्द्र खोलिएको हो ।
नेपाल पक्षी संरक्षण संघ चितवनका पूर्वअध्यक्ष हेम सुवेदी नेपालमा १५ वर्षअघिको तुलनामा गिद्धको संख्या निकै कम भएको बताउ“छन् । नेपालमा हाडफोर, सेतो गिद्ध, डंगर गिद्ध, सानो खैरो गिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध, राज गिद्ध र सुन गिद्ध गरेर आठ प्रकारका गिद्ध पाइन्छन् । यीमध्ये डंगर र सानो खैरो प्रजातिको गिद्ध लोप हुने अवस्था छ ।
‘सरकारले प्रतिबन्ध लगाए पनि पशुको उपचारमा प्रयोग भइरहेको डाइक्लोफेनेक औषधिले गिद्ध नाश हुँदैछ,’ सुवेदीले भने, ‘पशुको सिनोमा हुने सो औषधिको मात्राले त्यो खाने गिद्धको मृगौलामा समस्या आउँछ र तत्कालै मर्छ ।’ तर, केन्द्रमा रहेका गिद्धलाई भने डाइक्लोफेनेकमुक्त राँगाको मासु खुवाइन्छ । सरकारले पनि अचेल डाइक्लोफेनेकलाई प्रतिबन्ध लगाएको छ । प्रजनन केन्द्रका गिद्धलाई एक वर्षपछि जंगलमा छाड्ने योजना छ ।
प्रकाशित: २३ चैत्र २०७३ ०४:१२ बुधबार