काठमाडौं- नेपालमा निजी क्षेत्रबाट सिमेन्ट उत्पादनको इतिहास धेरै लामो छैन्। पुगनपुग १५ वर्ष जति भयो होला। त्योभन्दा पहिला निजी क्षेत्रले सिमेन्टको कारोबार त गर्थ्यो तर सबै भारतबाट आउँथ्यो। छोटो समयमै नेपाली सिमेन्ट उद्योगले फड्को मारिसकेको छ। गुणस्तरका हिसाबले अन्तर्राष्ट्रिय स्तरको छ भने संख्याको हिसाबले पनि चार दर्जन सिमेन्ट उद्योग पुगिसकेका छन्। एक उद्योगले कम्तिमा पनि ५० करोड रुपैयाा लगानी गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा अर्घाखाँची सिमेन्टका सञ्चालक पशुपति मुरारका अनुसार बैंकहरूले यस उद्योगमा करिब १ खर्ब रुपैयाँ लगानी गरेका छन्। जिम्मेवार निकायले गम्भीर रुपमा काम गर्ने हो भने मुलुकबाट सिमेन्ट निर्यात गर्ने अवस्थामा देश रहेको छ।
'हामीले सिमेन्ट उत्पादन गर्न लागेको १५ वर्ष पुग्न लाग्यो,' जगदम्बा सिमेन्ट उत्पादन गर्ने सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपानले भने, 'नेपाली सिमेन्ट उत्पादनको इतिहास पनि झन्डै १५ वर्ष नै हो।' उनका अनुसार यो छोटो अवधिमा नेपाली सिमेन्टले ठूलो फड्को मारिसकेको छ।
१५ वर्षअघि नेपालमा सिमेन्ट उत्पादन नभए पनि व्यापार भने हुन्थ्यो। भारतबाट सिमेन्ट ल्याएर नेपालमा निर्माण कार्य भइरहको थियो। भारतबाट सिमेन्ट ल्याउनेका काम अहिले पनि जारी छ तर आयत भने घट्दो क्रममा छ। न्यौपानेले नै सिमेन्टको व्यापार गर्न लागेको २० वर्ष भइसकेको बताउँछन्।
सिमेन्टको प्रयोग सहर हँुदै विस्तारै ग्रामिण भेगमा जाँदैछ। गाउँ गाउँमा पक्की घर बन्न थालेका छन्। पूर्वाधार निर्माण कार्य पनि सिमेन्टको प्रयोग बढ्दै गएको छ। भूकम्पपछि त झन् बलियो घर बनाउने चेतना बढेको छ। यसले गर्दा व्यवसायमा तीव्रता देखिएको छ भने केही वर्षको तुलनामा उत्पादन पनि बढी भएको व्यवसायी बताउँछन्।
'अहिले वार्षिक ५० लाख टन सिमेन्ट उत्पादन भइरहेको छ,' नेपाल सिमेन्ट व्यवसायी संघका अध्यक्ष ध्रुब थापाले, 'उत्पादन वृद्धि भइरहेको छ, व्यवसायी पनि थपिँदै गएका छन्।' १० वटा सिमेन्ट उद्योगले आफैं क्लिङ्कर र सिमेन्ट उत्पादन गरिहेका छन््।
नेपाली सिमेन्टले छोटो समयमा ठूलो उपलब्धि गरे पनि यो व्यवसायलाई सक्षम र दिगो बनाउन अझै केही कामहरू बाँकी छन्। सबैभन्दा पहिला गरिहाल्नु पर्ने काम भनेको ग्रेडिङ हो। अन्तर्राष्ट्रिय प्रचलन अनुसार सिमेन्टको गुणस्तर ३३, ४३ र ५३ ग्रेड भनेर छुट्याउने गरिन्छ। नेपालमा भने अहिलेसम्म यो लागु हुन सकेको छैन। नेपालमा ओपिसी ( अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट), पिपिसी ( पोर्टल्याण्न् पोज्जोलाना सिमेन्ट) र पिएससी (पोर्टल्यान्ड स्ल्याग सिमेन्ट) सिमेन्ट उत्पादन हुन्छन्।
नेपाली सिमेन्टलाई पनि अन्तर्राष्ट्रिय स्तरमा ग्रेडिङ गर्ने तयारीमा गरिएको छ। लामो सयम हुँदा पनि अहिलेसम्म काम हुन सकेको छैन। 'ग्रेडिङ गर्ने काम दुई तीन हप्ता भित्रैमा सकिन्छ,' नियामक निकाय गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, 'ग्रेडिङ गर्ने काम केही ढिला भएको मात्र हो।' ग्रेडिङको व्यवस्था भएमा नेपाली सिमेन्टलाई व्यावसायिक फाइदा पुग्ने व्यवसायी बताउँछन्।
'ग्रेडिङको व्यवस्था भएमा सिमेन्ट व्यवसायमा सहज हुनेछ,' थापाले भने, 'अन्तर्राष्ट्रिय स्तरको पनि हुनेछ।' विदेशी कम्पनीहरूले ग्रेडिङ गरेको सिमेन्ट खोज्ने गर्छन्। ठूूला आयोजना निर्माण गर्न ग्रेडका सिमेन्ट चाहिने भएकाले भारतबाट सिमेन्ट आयात भएको व्यवसायी बताउँछन्। विशेष गरी आइबिसी (इन्टरनेसनल बिडिङ कम्पिटिसन) का कारण सिमेन्ट र डन्डी ल्याउँदा भन्सार छुट पाइने भएकाले आयात गरिएको हो। कुनै पनि ठूलो आयोजनालाई कुनै विशेष किसिमको सिमेन्ट जस्तो ५३ ग्रेडको चाहियो भन्ने प्रावधानका कारण बाहिरबाट सिमेन्ट आएको छ।
दिगो निर्माणमा सिमेन्टको भूमिका ठूलो छ। यो एक निर्माण सामग्री मात्र होइन। बलियो निर्माणको आधार पनि हो। यसको लागि गुणस्तरीय सिमेन्ट हुनु आवश्यक छ। मुलुकमा उत्पादन भइरहेका अधिकांश सिमेन्ट गुणस्तरीय नै रहेको व्यवसायी बताउँछन्।
ग्रेडिङ बाहेक सरकारले स्थानीयस्तरमा भएका समस्या पनि समाधान गरिदिनु पर्ने व्यवसायीको माग छ। व्यवसायीका अनुसार सबैभन्दा धेरै समस्या ढुवानीमा रहेको छ। सिमेन्ट ढुवानी गर्ने सडकको अवस्थमा नाजुक छ भने खानीसम्म पुग्ने बाटो बन्न सकेको छैन। मुलुकका प्रायः ठाउँमा ढुवानी गर्ने बाटो १० टनभन्दा धेरै बोक्न सक्ने अवस्थमा छैन। त्यत्तिमात्र होइन, धेरै लामो गाडी चलाउनलाई पर्याप्त घुम्ने ठाउँ छैन। उच्च भार वहन गर्न सक्ने क्षमताको सडक नभएकाले धेरै सामान ओसारपसार गर्न साना ट्रकलाई धेरै पटक ओहोरदोहोर गराउनुपर्ने अवस्था छ। यसले सिमेन्ट उत्पादनको लागत खर्च नै बढाएको छ। व्यवसायीका अनुसार सिमेन्ट उत्पादनको लागत खर्चमा यातायात मै झन्डै २० प्रतिशत खर्च हुने गरेको छ। सरकारले सडक स्तरोन्नति गरेर यातायातको लागि सहज बनाउन व्यवसायीको आग्रह छ।
यी लगायत ऊर्जा, दक्ष जनशक्ति जस्ता विषयमा सरकारले सम्बोधन गर्ने हो भने देशमा सिमेन्ट उद्योगले राम्रो प्रगति गर्ने देखिन्छ। यसै बेला मुलुकमा निर्माण कार्यको उपयुक्त समय आएको छ।
भूकम्प जानु आफैंमा नराम्रो पक्ष भए पनि त्यसपछिको पुनर्निर्माण सिमेन्ट व्यवसायीको लागि उपयुक्त अवसर हुन सक्छ। देशभरमा लाखौं संरचना, घर, भवन, पुरातात्विक संरचना बनाउनुपर्ने छ। यो निर्माणको अवसर हुनसक्छ। जसले गर्दा सिमेन्ट व्यवसाय बढ्ने अनुमान पनि छ।
तर, पुनर्निर्माण तथा पूर्वाधारमा देशले गति लिन सकेको छैन। पुनर्निर्माण कुन गतिमा हुन्छ भन्ने खाका अझै पनि आइसकेको छैन। ४–५ वर्षमा पुनर्निर्माण सकिन्छ कि सकिँदैन भन्ने नै शंका छ।
अर्कोतिर सरकारले पूर्वाधारका ठूला योजनाहरू अगाडि सारेको छ। फास्ट ट्र्याक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, सुरुङ मार्ग र विभिन्न रेल योजनाले वास्तविक रुप लिने हो भने नेपाली सिमेन्ट उद्योगलाई स्वर्णिम युग हुने छ।
छोटो समयमै नेपाली सिमेन्ट आत्मनिर्भरताको बाटोमा छ। सरकार तथा व्यवसायीले दुई ती वर्षभित्रैमा आत्मनिर्भर हुने बताए पनि अझै पनि केही सिमेन्ट भारतबाट आइरहेको छ। नेपालले गत आर्थिक वर्ष २०७२/७३ मा झन्डै दुई अर्ब बराबरको सिमेन्ट आयात गरेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्षमा भारतबाट एक अर्ब ८७ करोड ९६ लाखको सिमेन्ट आयात भएको थियो।
सिमेन्टमा पूर्णरुपमा आत्मनिर्भर हुन क्लिङ्करमा पनि आत्मनिर्भर हुनुपर्छ। सिमेन्ट उत्पादन गर्न चाहिने प्रमुख कच्चा पदार्थको रुपमा रहेका क्लिङ्कर पनि भारत लगायत विभिन्न देशबाट आउने गरेको छ। हरेक वर्ष २० देखि २५ प्रतिशत क्लिङ्कर विदेशबाट आउने गरेकाले नेपाली सिमेन्ट पूर्णरुपमा आत्मनिर्भर बन्न नसकेका हुन्।
गत वर्षको तथ्यांक अनुसार नौ अर्ब ८३ करोड ५४ लाखभन्दा धेरैको क्लिङ्कर आयात भएको छ। सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुनका लागि बर्सेनि आउने क्लिङ्कर स्वदेशमै उत्पादन बढाउनुपर्ने व्यवसायीको भनाइ छ। क्लिङ्कर उत्पादन गर्न स्वदेशमै प्रशस्त चुनढुंगा खानी रहेका छन्।
प्रकाशित: २७ फाल्गुन २०७३ ०४:४२ शुक्रबार