२६ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

खाद्यमेलामा ढिँडोदेखि स्थानीय खाद्य उत्पादन

चितवन- जुम्लाको सिमी, फापर, कोदो, मार्सी धानको चामल, चिनो चामल, कालो चामल बेच्दै गरेका लालबहादुर रेश्मीमगरलाई भ्याइनभ्याई छ। नवलपरासीको गैँडाकोट नारायणी नदी किनारमा अघिल्लो शुक्रबारदेखि खाद्य मेला सुरु भएको हो। मेलामा विभिन्न जिल्लाका खाद्य उत्पादन बिक्री भइरहेको छ।

लालबहादुरले यस्ता खाद्यान्न बिक्री मात्रै गरेनन्, जिज्ञासु ग्राहकलाई अनौठा खालका खाद्यान्नबारे बुझाए पनि।

मेलामा पाल्पाको च्याउ, नवलपरासीको खुवा, लमजुङको भीरमौरीको मह पनि बिक्री भइरहेको छ। बेल र सुन्तलाको सर्वत, विभिन्न खालका फलफूलका अचार पनि बिक्रीमा छन्। नेपाल सरकार कृषि विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले मेला आयोजना गरेको हो।

महोत्सव परिसरमा ६० स्टल छन्। स्टल राख्ने र मेला हेर्न आउनेले कुनै शुल्क तिर्नुनपर्ने मेला सहआयोजक उद्योग वाणिज्य संघ गैंडाकोट अध्यक्ष अमृत भट्टचनले बताए। संघ मेलाको सहआयोजक हो। कृषि उत्पादन मात्रै नभएर जातजातिका परिकार र परम्परागत खाना पनि मेलामा बिक्रीका लागि राखिएका छन्। नेपाली खाना र कृषि उत्पादन पोसिलो भएका कारण प्रवर्द्धन गर्न यस्तो मेला राखिएको हो।

'मेला हेर्न आउनेले बनाउने परम्परागत खाना र परिकार खान मात्रै पाउँदैनन्, परम्परागत खाना बनाउने उपकरण औजार र नेपाली उत्पादन पनि किन्न पाउँछ,' गैँडाकोट उद्योग वाणिज्य संघ उपाध्यक्ष दीपक सापकोटाले भने, 'मेलामा नेवारी र थारु समुदायका परिकार चाख्न पनि धेरै हुरुक्क हुन्छन्।' मेलामा सो समुदायका समेत स्टल रहनेछन्। नवलपरासीका थारु समुदाय चिच्चर र घोँगी बेच्न बसेका छन्।

'विश्व बजारमा पाइने तयारी खाजा हैन, नेपाली भान्सामा पाक्ने खाने कुरा मेलामा राखिएको छ। मेला हेर्न आउनेले खान पनि पाउनेछन्। पकाउन चाहेमा ज्ञान पनि लिनेछन्,' मेला आयोजक क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्तबहादुर राईले भने। यस्तो खालको मेला दोस्रोपटक गरेको उनले बताए।

गत वर्ष लमजुङमा यस्तो प्रकारको खाद्य मेला गरेको उनले जानकारी दिए। 'जाति, जनजातिका खानाका परिकार छन्। ढिँडो पकाएर बिक्री गरिन्छ। च्याउ र केराका परिकार छन्,' प्रमुख राईले भने। नेपाली परम्परागत खानालाई विदेशी खाजा पिज्जा, बर्गर, चाउचाउले विस्थापित गर्ने खतरा बढेका कारण सरकारले नेपाली ज्ञानलाई संरक्षण गर्न र फैलाउन यस्तो मेला गर्न थालेको उनले बताए।

'पोषणका दृष्टिले निकै उपयोगी खाद्य पदार्थ हामी नेपालीकै भान्सामा तयार हुने गरेको छ। हाम्रै खेतबारीमा फलेका छन्। तर, हामी आफ्ना खानाभन्दा बाहिरी तयारी खानामा बढी लोभिन थालेका छौँ। त्यसैले, परम्परागत परिकारको प्रवर्द्धन आवश्यक देखेर सरकारले यो अभियान ल्याएको हो,' राईले भने।

खाद्य पदार्थमा हुने मिलावट थाहा पाउने विधि पनि दर्शकले जान्न पाउनेछन्। नेपाल खाद्य प्रविधि विद्यार्थी समाज अध्यक्ष प्रज्ज्वल पोखरेल, उपाध्यक्ष जितेन्द्र शाही, सचिव सन्दीप लामिछानेसहितको टोली मिसावट जाँच्ने सरल तरिका सिकाउँदै थिए। दैनिक जीवनमा उपभोग हुने मसला, घिउतेलमा हुने मिसावट जान्ने सरल विधि उनीहरुले सिकाउँदै थिए।

त्यस्तै, नेपाली भान्सामा तयार हुने खानाबाट पाइने पोषणबारे जानकारी दिन खाद्य तथा पोषण समाजले स्टल राखेको छ। 'तपाईंहरु १० जना मिलेर बोलाउनुहुन्छ भने हामी यस्ता पोसिला खाने कुरा बनाउन सिकाउन तपाईंकै घरआँगनमा आउँछौँ,' समाजका सहअध्यक्ष सर्वेशकुमार साहले भने। मेला शनिबार सकिँदै छ।

प्रकाशित: २२ माघ २०७३ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App