८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

कर्णाली करिडोरः त्रिदेशीय ट्रान्जिट बन्दै नेपालगन्ज

नेपालगन्जको जमुनाहदेखि हुम्लाको सिमीकोट हुँदै उत्तरी छिमेकी मित्र राष्ट्र चीनको तिब्बतसम्म जोडिने कर्णाली करिडोरलाई पश्चिम नेपालको एक जीवनरेखाका रूपमा हेरिएको छ । यस करिडोरलाई साबिकको मध्य तथा सुदूरपश्चिम क्षेत्रको समृद्धिको आधारका रूपमा पनि लिइएको छ। 

कर्णाली करिडोर निर्माणले पूर्वाधारको विकास हुनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहजता आउनेछ। यसले हाम्रा दुई छिमेकी मित्रराष्ट्र भारत–चीनलाई नेपालको बाटो भएर जोड्छ। कर्णाली करिडोर चीनसँग सीमा जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सीमा जोडिएको बाँकेको जमुनाहसम्म पुग्ने सबैभन्दा छोटो दुरीको मार्ग बन्नेछ । पाँच सय ३० किलोमिटर लम्बाइ भएको कर्णाली करिडोरको ढोकाका रूपमा ऐतिहासिक सहर नेपालगन्ज हुनेछ।  

पश्चिम नेपालको सबैभन्दा व्यस्त विमानस्थल पनि नेपालगन्जमै छ। यहाँबाट चीनको मानसरोवर जाने भारतीय तिर्थालुका लागि दिल्ली– नेपालगन्ज–हिल्सा रुट सुगम मानिन्छ। नेपालगन्जमा व्यापारको सुरुवात नै उत्तरको चीन र दक्षिणको भारतबाट आउने उपभोग्य वस्तुहरूको विनिमयबाट सुरु भएको हो। 

नेपालगन्जको विकास नै प्रशासनिक र व्यापारिक दुवै हिसाबले समानान्तर रूपमा भएको थियो। नेपालगन्जबाट प्रारम्भकालको व्यापारमा मुख्यगरी घ्यु, राडीपाखी, खुर्सानी, सुठो, खाद्यान्न र वन पैदावारका वस्तुहरू भारतीय बजारमा निकासी हुन्थ्यो। भारतबाट नुन, चिनी, धातुका भाडाकुँडा र लत्ताकपडा नेपालगन्ज ल्याइन्थ्यो। भौगोलिक विकटताका कारण त्यतिबेला उच्च हिमाली सीमावर्ती क्षेत्रबाहेक उत्तरी छिमेकी चीनसँग यस क्षेत्रको सम्पर्क स्थापित हुन सकेको थिएन। अहिले कर्णाली बग्ने बाटो पछ्याउँदै चीनसम्म पुग्ने करिडोर निर्माणधिन छ। यसको केन्द्रमा नेपालको एक पुरानो सहर र पश्चिम नेपालको व्यापारिक केन्द्र नेपालगन्ज छ। अब नेपालगन्जले दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनलाई जोड्ने पुलको काम गर्नेछ।

कर्णाली करिडोर पूरा भएमा नेपालगन्जबाट उत्तरी सीमा बजार हिल्सासम्म करिब १२ देखि १४ घण्टामा पुग्न सकिनेछ। यो करिडोर प्राचीन रेशम मार्ग हो। यसलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभले पनि चासोका रूपमा हेरेको विज्ञ बताउँछन्। कर्णाली प्रदेश सरकार योजना आयोगका पूर्वसदस्य योगेन्द्रबहादुर शाहीले एक लेखमा लेखेका छन्, ‘नेपाल सरकारले उत्तर–दक्षिण जोड्ने यस्ता ‘गेम चेन्जर’ राजमार्गहरूलाई जीवनदायिनी मार्गका रूपमा परिभाषित गर्नु आवश्यक छ। कर्णाली रेशम मार्ग बेल्ट एन्ड रोड इनिसिएटिभका लागि चीन र भारतबीच पहिलो सहकार्य पनि बन्न सक्छ।’

कर्णाली करिडोर पूरा भएमा नेपालगन्जबाट उत्तरी सीमा बजार हिल्सासम्म करिब १२ देखि १४ घण्टामा पुग्न सकिनेछ। प्राचीन रेशम मार्ग कर्णाली करिडोर निर्माण भएपछि नेपालगन्ज भारत–चीन जोड्ने एक महत्वपूर्ण सहरको रूपमा स्थापित हुने देखिन्छ।

यसरी ठुलो महत्व बोकेको कर्णाली करिडोरको ढोकामा छ– नेपालगन्ज। नेपालगन्ज आफैंमा एक बलियो बिरासत बोकेको सहर हो। नेपालगन्ज अलग्गै प्रदेशमा परे पनि कर्णाली प्रदेशको व्यापारिक आधारभूमि अहिले पनि यही नै हो। नेपालगन्जलाई छुटाएर न कर्णालीको विकास हुन सक्छ न कर्णालीलाई अलग राखेर नेपालगन्जको विकास हुन सक्छ। यसकारण नेपालगन्ज भविष्यमा त्रिदेशीय जीवनरेखाको एक आधार क्षेत्रका रूपमा विकसित हुनेछ।  

पानीदेखि अक्सिजन ग्याँससम्म, औषधि कारखानादेखि खाद्यान्नसम्मका ठुलठुला उद्योगहरू नेपालगन्जमा छन्। मुलुकभित्रका ठूला व्यापारिक घरानाका उद्योगदेखि मल्टिनेसनल कम्पनीले बाँकेलाई आधारभूमि बनाएर व्यापार व्यवसाय विस्तार गरिरहेका छन्। अर्काेतिर भारतीय पर्यटकहरूका लागि मानसरोवर जाने एक सजिलो मार्ग पनि यो रुट हो। त्यसको केन्द्रमा पनि नेपालगन्ज छ।

नेपालगन्ज विमानस्थल अन्तर्राष्ट्रिस्तरको हुने हो वा यहाँबाट भारतको दिल्लीसँग सोझो उडान हुने हो भने भारतीय तिर्थालु नेपालगन्ज आउँछन्। भारतबाट स्थलमार्ग हुँदै आउनेहरू रूपैडिहा नाका भएर नेपालगन्ज छिर्छन्। नेपालगन्ज आइपुग्ने तीर्थयात्री हुम्ला हुँदै मानसरोवर पुग्न सक्छन्। कैलाश मानसरोवर हिन्दु, बौद्ध तथा जैन धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल मानिन्छ। चीनमा पर्ने मानसरोवर पुग्न भारतबाटै पनि मार्ग नभएको होइन तर नेपालबाट जति सुरक्षित छैन। बेलाबखत हुने भारत–चीन द्वन्द्वका कारण मानसरोवर जाने यात्री समस्यामा पर्छन्। त्यसैले पनि भारतीय तीर्थालुका लागि एक सुरक्षित मार्ग नेपाल हुन सक्छ। नेपालगन्जबाट हुम्लाको सिमीकोट हुँदै मानसरोवर पुग्न सकिन्छ। अर्काेतिर भारतको दिल्ली र लखनउ हुँदै नेपालगन्ज आउने ६ लेनको सडक निर्माण भएको छ।

अब यस्तैखालको सडक नेपालगन्जदेखि सुर्खेतसम्म र त्यसभन्दा माथि पनि गुणस्तरीय सडक बन्ने हो भने भारतीय पर्यटकले यस रुटलाई मन पराउने छन्। नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओली नेपालगन्ज भारत–चीन जोड्ने एक महत्वपूर्ण सहरको रूपमा स्थापित हुने भविष्यको सम्भावनालाई यहाँका नीति निर्माताले बुझ्न नसकेको बताउँछन्। नेपालगन्ज स्थलमार्ग र हवाइमार्ग दुवै क्षेत्रबाट चीन र भारत जोड्ने पुल बन्न सक्ने सम्भावनालाई मूर्तरूप दिनेतिर नीति निर्माता लाग्नुपर्छ। ‘नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्छ’, उनी भन्छन्।  

यस्तो महत्व बोकेको कर्णाली करिडोरको निर्माण पनि सुस्त र योजनामुताबिक नभएको ओलीको ठहर छ। ट्र्याक खोलेर मात्रै अपेक्षित उपलब्धि हासिल नहुने उनको बुझाइ छ। ठूलो महत्वका यस्ता योजनाहरूको कार्यान्वय गर्दा त्यहीअनुसारको बजेट विनियोजन गर्नुपर्ने र कामको गति सुधार्नुपर्ने उनी बताउँछन्।

प्रकाशित: ९ वैशाख २०८० ००:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App