काठमाडौं-संसद्को सार्वजनिक लेखा समितिको बैठकमा नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दीगम्भर झा बोल्दै थिए। उनले भने, ‘म हजुरहरूसमक्ष एक वास्तविकता देखाउन चाहन्छु।’
एनसेललाई दिन लागेको फोरजी र उसले नतिरेको पुँजीगत लाभकरको विषयमा छलफल गर्न बोलाइएको लेखा समितिको बैठकमा झाले वास्तविकताको कुरा बताउँछु भन्दा सबै सांसद चनाखो भए । कतै एनसेल कारोबारको पुँजीगत लाभकरमा केही नयाँ कुरा बोल्दै त छैनन् !
तर, कुरा त्यो होइन । दूरसञ्चार कम्पनीमा दुई किसिमका ग्राहक हुँदा रहेछन् भन्दै उनले दर्ता ग्राहक र एक्टिभ ग्राहकबारे एक वास्तविकता खोले । ‘मैले यो समितिमा एक वास्तविकता देखाउन चाहन्छु,’ समितिमा उपस्थित सांसदसमक्ष झाले भने, ‘नेपाल टेलिकमको एक्टिभ ग्राहकको संख्या धेरै निराशाजनक छ ।’
झा एकछिन रोकिएपछि सांसदले अनुरोध गरे, ‘भन्नुस न कति छन् ।’
‘जम्मा ७० लाख,’ झाले भने ।
लामो इतिहास बोकेको र धेरै उपभोक्ताले मन पराइएको कम्पनी भने पनि झाको तथ्यांकले सबैलाई अचम्म पा¥यो । नेपाल टेलिकमभन्दा धेरैपछि मात्र आएको निजी क्षेत्रको एनसेलको भन्दा उसका एक्टिभ ग्राहक धेरै कम रहेको तथ्य उनले खोले । उनका अनुसार नेपाल टेलिकमका दर्ता ग्राहक (सिमबिक्री) भने १ करोड ५७ लाख रहेका छन् ।
त्यस्तै, झाले प्रस्तुत गरेको तथ्यांकअनुसार एनसेलको एक्टिभ ग्राहक नेपाल टेलिकमको भन्दा निकै माथि छ । ‘एनसेल एक्टिभ ग्राहक १ करोड १८ लाख छन्,’ झाले भने, ‘उसका दर्ता ग्राहक भने १ करोड ४९ लाख रहेका छन् ।’
प्रकाशित: ५ माघ २०७३ ०२:२८ बुधबार