१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयनःअध्यक्षमा ढकाल, वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार ढकाल अध्यक्ष भएका हुन्। वरिष्ठ उपाध्यक्ष ढकाललाई अध्यक्ष शेखर गोल्छाले अध्यक्ष पदमा बिहीवार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। अब गोल्छा निवर्तमान अध्यक्ष बनेका छन् भने ढकाल अध्यक्ष भएका छन्।

दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। महासंघका नवनिर्वाचित अध्यक्ष ढकाल आइएमई ग्रुपका संस्थापक अध्यक्ष हुन्। व्यावसायिक क्षेत्रमा चार दशक बिताएका ढकालले उद्यम व्यवसाय तथा लगानी गर्दा तीनवटा सिद्धान्तलाई सधैं प्राथमिकतामा राखेर काम गर्दै आएका छन्।

बागलुङको अमलाचौरमा २०२२ सालमा जन्मेका ढकालले वि.सं. २०४५ बाट आफ्नो व्यवसाय सुरु गरेका थिए। नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट स्थापना गरेरका अध्यक्ष ढकालले छोटो समयमा ठूलो व्यावसायिक सफलता प्राप्त गरेका छन्। आइएमई ग्रुपसँग आवद्ध दुई दर्जनभन्दा बढी व्यवसाय तथा उद्योग प्रतिष्ठानहरू स्थापित छन्। ग्लोबल आइएमई बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, आइएमई लिमिटेड, आइएमई जनरल इन्स्योरेन्स, आइएमई डिजिटल सोलुसन्स्, हिमालय पावर पार्टनर, माउन्टेन इनर्जी, चन्द्रागिरि हिल्स लिमिटेड, आइएमई मोटर्स, डिस मिडिया नेटवर्कलगायतका कम्पनीहरूमा ढकाल नेतृत्वको आइएमई ग्रुपको प्रमुख हिस्सा छ।

ढकाल नेतृत्वको आइएमई ग्रुपले २० हजारभन्दा बढीलाई प्रत्यक्ष र ४० हजार जनाभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएका छन्। ढकालको नेतृत्वमा आइएमई ग्रुपले आफ्नो लगानी तथा उद्यमशीलतालाई सेवा क्षेत्र, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी दुई दर्जनभन्दा बढी कम्पनी स्थापना तथा सञ्चालन गरी व्यवसाय विस्तार गरिरहेको छ। यसअन्र्तगत रेमिट, बैंकिङ, व्यापार, सूचना प्रविधि, सञ्चार, ऊर्जा, पर्यटन, होटल तथा रिसोर्ट, अटोमोबाइल, बिमा, खेलकुद तथा मनोरञ्जनको क्षेत्रका कम्पनीहरू बजारमा प्रतिस्पर्धी र गतिशील छन्।  

पछिल्लो समय पर्यटन पूर्वाधारमा लगानी बिस्तार गर्दै ढकाल सातवटै प्रदेशमा केवलकारसहितका नयाँ पर्यटकीय गन्तव्य निर्माणमा सक्रिय छन्। अर्थतन्त्रको मेरुदण्ड मानिने रेमिट्यान्सलाई वैधानिक माध्यमबाट स्वदेश भित्र्याउने व्यवसाय मार्फत् देशको औपचारिक अर्थतन्त्र विकासमा अध्यक्ष ढकालको उल्लेखनीय योगदान छ। औपचारिक माध्यममार्फत् ठूलो मात्रामा रेमिट्यान्स नेपाल ल्याउने सफल संस्थाको नेतृत्वको रूपमा ढकाल, नेपाल सरकारले पटक पटक ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति सम्मान–सिआइपी’ बाट सम्मानित भएका छन्। यस्तै रेमिट्यान्स व्यवसायहरू मध्येबाट सबैभन्दा बढी कर तिरेको आधारमा लगातार चार पटकसम्म ‘ठूला करदाता सम्मान’ बाट आइएमई पुरस्कृत भएको छ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्यदूतको रूपमा रहेका ढकाललाई २०७२ को महाभूकम्पका समयमा उद्धार र राहतमा गरेको योगदानको प्रशंसा गर्दै गणतन्त्र इन्डोनेसियाको परराष्ट्र मन्त्रालयले समेत सम्मान गरेको थियो। अध्यक्ष ढकाल, नेपाल सरकारबाट प्रदान गरिने प्रतिष्ठित सुकीर्तिमय राष्ट्रदीप, गोरखा दक्षिणबाहु चौथो र प्रबल जनसेवाश्री चौथो लगायतका मानपदवीबाट सम्मानित व्यक्तित्व हुन्। महासंघको नव–निर्वाचित अध्यक्षको रूपमा ढकालले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउदै अर्थतन्त्रमा निजीक्षेत्रको योगदान वृद्धि गर्ने, सार्वजनिक–निजी साझेदारीको प्रवद्र्धन गर्ने तथा स्वदेशी–विदेशी लगानी प्रवद्र्धन सँगसगै निजीक्षेत्रको सम्मान वृद्धि गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।महासंघ अध्यक्षको अबको कार्यकालमा प्रत्येक जिल्ला तथा नगर उद्योग वाणिज्य संघ रहेका स्थानमा उद्यम तथा लगानी बढाउने, रोजगारी केन्द्रित ‘सीप तथा व्यवसाय प्रवद्र्धन प्रणाली’ विकास गरी साना तथा मझौला उद्योगमा लगानी विस्तार गर्ने लक्ष्य लिएको ढकालले बताए।

महासंघको निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले महत्वका साथ हेरिएको थियो। वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघईबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणको निर्वाचनमा अन्जनले ३७.९९ प्रतिशत मत, उमेशले ३१.७१ प्रतिशत र रामचन्द्रले ३०.४६ प्रतिशत मत पाएका थिए। कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसके दोस्रो चरणमा प्रवेश गरेको थियो। पहिलो चरणबाट रामचन्द्र बाहिरिएपछि उमेशले अन्जनलाई सहयोग गरेपछि अन्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्। महासंघका पूर्व अध्यक्ष, वरिष्ठ उपाध्यक्षलगायतको पहलमा उमेशलाल अन्जनलाई छाड्न तयार भएका हुन्। तीन वर्षे कार्यकालमा आधा–आधा समय बाँडेर पदीय जिम्मेवारी लिने र नमिलेमा उमेशलाललाई विशिष्ट सदस्यमा ल्याउने गरी सहमति भएको बताइएको छ।

सदस्यमा विजयी  

निर्वाचनबाट जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, एसोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। जिल्ला उद्योग वाणिज्य संघको तर्फबाट १८ जना सदस्य पदका लागि ३२ जनाले प्रतिस्पर्धा गरेका थिए। विजयी सदस्यको नाम वर्णानुक्रम अनुसार राखिएको छ।

महासंघको केन्द्रीय सदस्यमा चितवनका अनिल कृष्ण श्रेष्ठ, नेपालगन्जका अब्बुल बाहिद मन्सुरी, सिन्धुलीका अमरेशचन्द्र बैदार, बुटवलका उज्जलप्रसाद कसजु, झापाका उमेश डालमिया, दार्चुलाकी कल्पना गैर निर्वाचित भएका छन्। त्यसैगरी रोल्पाका किशोरकुमार आचार्य, नवलपरासी केशवप्रसाद भण्डारी, मकवानपुरका कृष्ण कटुवाल, दमक झापाका गोकुल श्रेष्ठ, नुवाकोटका ताराबहादुर कार्की, पाँचथरका दीपक नेपाल, मोरङका नवीन रिजाल, सुर्खेतका निरक केसी, कैलालीका पुष्पराज कुँवर, उदयपुरका प्रयास कार्की, सिन्धुपलाञ्चोकका वेदबहादुर श्रेष्ठ, धुलिखेलका मञ्जुकुमार श्रेष्ठ, पाल्पाका मोहनप्रसाद श्रेष्ठ महासंघको केन्द्रीय सदस्यमा विजयी भएका छन्।

त्यसैगरी महासंघको वस्तुगततर्फको केन्द्रीय सदस्यमा अरनिको राजभण्डारी, कमला श्रेष्ठ, सुबोधकुमार गुप्ता, नरेशलाल श्रेष्ठ, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, भक्तबहादुर हमाल, मनोज अधिकारी, रविन पुरी, रामकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, शिवप्रसाद घिमिरे, शोभा ज्ञवाली, हरिबहादुर कार्की विजयी भएका छन्। त्यसैगरी महासंघको एसोसिएटतर्फको केन्द्रीय सदस्यमा अम्बिकाप्रसाद पौडेल, अविनास बोहोरा, आनन्दकुमार अग्रवाल, उज्वलकुमार श्रेष्ठ, ऋषि अग्रवाल, गोपाल खनाल, जुना माथेमा, डा.रामशरण थपलिया, देशबन्धु बस्नेत, प्रवलजंग पाण्डे, बाबुकाजी कार्की, मनोज पौडेल, राजेशकुमार अग्रवाल, शक्तिकुमार बेगानी, सुशिल थापा, शैलेन्द्र गुरागाईं, संदिपकुमार अग्रवाल, सुनिल नारायण श्रेष्ठ, हेमन्त गोल्छा निर्वाचित भएका हुन्।

प्रकाशित: १ वैशाख २०८० ०३:०४ शुक्रबार

नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल