१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ब्रिक्स बैंकलाई नेपालमा लगानी गराउन आग्रह

काठमाडौं-नेपाल उद्योग परिसंघको परिसंघ प्रबुद्ध परिषद्का सदस्यहरुले ब्रिक्स विकास बैंकले नेपाल जस्ता अल्पविकसित देशको पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने गरी संयन्त्र विकास गर्नुपर्ने बताएका छन्। नेपालका लागि ब्रिक्स समूहका सदस्य देशका राजदूत र परिसंघ प्रबुद्ध परिषद्बीच मंगलबार भएको अन्तक्र्रियामा सहभागीहरुले यस्तो धारणा राखेका हुन्।

परिसंघले हालै गठन गरेको प्रबुद्ध समूहले नेपालमा आर्थिक विकासका एजेन्डालाई केन्द्र बिन्दुमा राखेर राजनीतिक तथा कूटनीतिक क्षेत्रमा पैरवी गर्ने उद्देश्यस्वरुप उक्त अन्तक्र्रिया आयोजना गरेको हो ।

अन्तक्र्रिया राजनीतिक संक्रमणका बाबजुद औद्योगिक क्षेत्रमा लगानी विस्तार गर्दै आर्थिक विकासको गतिलाई तीव्रता दिन सफल ब्रिक्स देशहरुबाट नेपालले सिक्न सक्ने असल अभ्यास तथा अनुभवका विषयमा केन्द्रित थियो । ‘ब्रिक्स देशको सफलताबाट पाठ सिकेर उपयुक्त नीति निर्माणका लागि बहस÷पैरवी तथा सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण निर्माणमा अन्तक्र्रियाबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ,’ परिसंघका अध्यक्ष हरिभक्त शर्माले भने ।

नेपाल जस्ता अल्पविकसित देशहरुको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा, दक्ष व्यवस्थापन, लगानी सुरक्षा तथा रोजगारी अभिवृद्धिमा टेवा पु¥याउन ब्रिक्सलाई थप समावेशी बनाउँदै ब्रिक्स विकास बैंकले यस्ता देशमा लगानी गर्न सक्ने वातावरण निर्माणमा राजदूतहरुले सहयोग गर्नुपर्ने परिसंघ प्रबुद्ध परिषद् संयोजक शम्भुराम सिंखडाले बताए । ‘परिसंघमार्फत नेपालको निजी क्षेत्रलाई थप सशक्तीकरण गर्दै मुलुकको बदलिँदो राजनीतिक, आर्थिक एवं औद्योगिक परिवेशमा नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरणको भरपर्दो आधारशिला निर्माण गर्न छिमेकी देश तथा दातृ राष्ट्रहरुको विकास अनुभव, लगानी, प्राविधिक सहयोग उपयोगी हुन सक्छ,’ सिंखडाले भने ।

ब्रिक्सलाई थप समावेशी बनाउन सरकार, निजी क्षेत्र तथा प्रबुद्ध समूहबीच आपसी सहकार्य गर्न र विकासका लागि आवश्यक लगानी तथा अनुभव आदानप्रदान गर्न समयानुकूल र सबैलाई लाभदायक हुने गरी एक स्वतन्त्र संयन्त्र निर्माण गरेर अघि बढ्न सकिने नेपालका लागि भारतीय राजदूत रणजीत रेको भनाइ थियो ।

सो कार्यक्रममा भारतका साथै नेपालका लागि रुस र ब्राजिलका राजदूतहरु क्रमशः एन्ड्राई एस बुडनिक र मारिया टेरेसा मेसक्विटा पेसोका साथै परिसंघका पदाधिकारी र परिसंघ प्रबुद्ध परिषद्का सदस्य एवं परिसंघमा आवद्ध उद्योगीहरुको उपस्थिति थियो ।

‘नेपालमा व्यावसायिक वातावरण सुधारोत्मुख’

नेपालका लागि बेल्जियमका राजदूत यन लक्सले पछिल्लो समय नेपालमा लगानीको वातावरण सुधार भएको बताएका छन् । सोमबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको छलफलमा राजदूत लक्सले यस्तो धारणा राखेका हुन् । ‘राजनीतिक वातावरणमा भएको सुधार र नेतृत्वमा देखिएको आर्थिक समृद्धिको अभिलाषाले नेपालमा लगानीको वातावरण थप सुनिश्चित बन्दै गएको हामीले पाएका छौं,’ लक्सले भने । सकारात्मक बन्दै गएको वातावरणबाट लाभ लिन र उच्च एवं दिगो आर्थिक वृद्धि हासिल गर्न सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने उनको धारणा थियो ।

नेपाल समेत हेर्ने जिम्मेवारी पाएको भारतको नयाँ दिल्लीस्थित राजदूतावासबाट लक्सको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले परिसंघका पदाधिकारीहरुसँग परिसंघ सचिवालयमा भेटवार्ता गरेको हो । नेपालका लागि बेल्जियमका अवैतनिक महावाणिज्यदूत आङछिरिङ शेर्पा समेत सहभागी सो वार्ता दुई देशबीचको आर्थिक सम्बन्ध विकास र विस्तारमा केन्द्रित थियो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले हालसम्म नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका सबै विदेशी कम्पनीहरुले उच्च दरमा लगानीको प्रतिफल प्राप्त गरिरहेको बताउँदै बेल्जियमका लगानीकर्तालाई त्यसका लागि आह्वान गरे ।

‘प्रतिफलका हिसाबले विदेशी कम्पनीहरुले हासिल गरेको प्रगति उदाहरणीय छ,’ शर्माले भने, ‘न्यून प्राविधिक र पूर्वाधार विकासको अवस्थामा रहेको नेपालबाट यस्तो प्रतिफल सम्भव छ भनेर सबैले जानकारी पाउन जरुरी छ ।’ परिसंघले देशको आर्थिक उन्नतिको लागि सरकारसँग मिलेर विदेशी लगानी र प्रविधि भिœयाउन जोड दिइरहेको शर्माको भनाइ थियो ।

परिसंघले सरकारसँगको सहकार्यमा औद्योगिक व्यवसाय ऐन र विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा सुधारका लागि काम गरेको परिसंघका गभर्निङ काउन्सिल सदस्य योगेश्वरलाल श्रेष्ठको भनाइ थियो। ‘कुनै बेला नेपाली गलैंचाको प्रमुख बजार रहेको बेल्जियम अहिले नेपालमा वस्तु आपूर्ति गर्ने बजारमा परिणत भएको छ,’ श्रेष्ठले भने ।

अहिले दुई देशबीच कायम दौत्य सम्बन्धलाई थप विस्तार र सुदृढीकरण गर्न दुई देशबीचका व्यावसायिक संघ–संस्थाबीच समेत आपसी सहकार्य आवश्यक भएको जनाउँदै उनले राजदूतावासको पहलमा बेल्जियमस्थित यस्ता संघ–संस्थासँग सहकार्य गर्न परिसंघ इच्छुक रहेको बताए । बेल्जियमको निजी क्षेत्रका व्यावसायिक संस्थाहरुसँग आपसी सहमति गरेर अघि बढ्दा बेल्जियम र नेपालको व्यावसायिक हितलाई मद्दत पुग्ने अध्यक्ष शर्माको भनाइ थियो।

प्रकाशित: ६ पुस २०७३ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App