१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

भेरी-बबईको पूर्वाधार निर्माण तीव्र

सुर्खेत- राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत सुरुङ खन्न आवश्यक पूर्वाधार निर्माणको काम तीव्र रुपमा भइरहेको छ। ४८ मेगावाट बिजुली र बाँके तथा बर्दिया जिल्लाको ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले यो आयोजना २०७१ सालमा निर्माण सुरु भएको हो।

पहिलोपटक नेपालमै अत्याधुनिक 'टनेल बोरिङ मेसिन' प्रयोग गरी सुरुङ खनेर एकसाथ बिजुली उत्पादन र सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य आयोजनाको छ। भेरीको पानी बबईमा खसाल्न १२ किलोमिटर सुरुङ खन्नुपर्छ। आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सुरुङ खन्ने मेसिन चीनमा तयार भइरहेको छ। आयोजनास्थलमा मेसिन राख्न आवश्यक पर्ने क्षेत्रफल तयार भइरहेको छ। असारसम्ममा चीनमा बन्दै गरेको मेसिन आइपुग्ने छ।

'अहिले मुख्य गरेर सुरुङ खन्नका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरिरहेका छौं,' आयोजना प्रमुख बस्नेतले भने, 'कात्तिकदेखि मेसिनमार्फत सुरुङ खन्ने काम सुरु हुन्छ।' आयोजनाले अहिलेसम्म पहुँचमार्ग निर्माण, आयोजनाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण सम्पन्न गरिसकेको छ भने टनेल बोरिङ मेसिन राख्ने ठाउँ निर्माण अन्तिम चरणमा पुगेको छ। एक महिनाभित्रै १ सय ५० मिटर सुरुङ खन्ने काम सम्पन्न हुने छ।

चीनमा तयार भइरहेको मेसिन साउनभित्र आयोजनास्थलमा पुर्‍याइने छ। 'टनेल बोरिङ मेसिन आयोजनास्थलमा पुर्‍याउन ४० वटा ट्रक आवश्यक पर्छ,' बस्नेतले भने, 'मेसिन जडान गर्नै दुई महिना लाग्ने भएकाले कात्तिकबाट सुरुङ खन्ने काम सुरु हुन्छ।' उनले मेसिनबाट टनेल खन्ने काम सुरु नहुँदासम्म आयोजनाको प्रगति नदेखिने बताए। आयोजना प्रमुख बस्नेतले आयोजनाको सबैभन्दा महŒवपूर्ण र जटिल पक्ष सुरु नै नभएको बताए।

'टनेल बोरिङ मेसिनको प्रयोग गरेर १२ किलोमिटर सुरुङ खन्ने काम सबैभन्दा महŒवपूर्ण पक्ष हो' उनले भने, 'त्यो कामको सुरु नहुँदासम्म आयोजनाको प्रगति देखिन्न।' आयोजना निर्माणको काम पुछार (बबईको हात्तीखाल) बाट सुरु भएर भेरीको चिप्लेमा टुंगिने छ। 'एकपटक सुरुङभित्र टनेल बोरिङ मेसिनलाई प्रवेश गराइरहेपछि बाहिर निकाल्न मिल्दैन,' उनले भने, 'त्यसैले पनि काम सुरु भइसकेपछि रोक्न मिल्दैन।' आयोजनाले ६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएपछि मुहान क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको काम सुरु गर्ने बताएको छ। '१२ किलोमिटरमध्ये आधा निर्माण सम्पन्न भएपछि मुहान क्षेत्र भेरीको चिप्लेमा काम सुरु गर्छौं,' उनले भने।

भेरीमा रहेको ८० क्युसेक पानीमध्ये ४० क्युसेक १२ किलोमिटर सुरुङमार्फत बबईमा खसाल्ने योजना छ। सिडिई जगदिश्वर श्रेष्ठका अनुसार जमिनदेखि ८ सय २० देखि २ सय २० मिटरसम्म मुनि पर्छ।

नेपालमै पहिलोपटक यो आयोजनामा प्रयोगमा ल्याउन लागिएको 'टनेल बोरिङ मेसिन'को प्रयोग सफल भए विभिन्न नदीको पानी सुरुङमार्गबाट अर्को ठाँउसम्म पुर्‍याउने र त्यसबाट विद्युत उत्पादन गर्ने र सिँचाइ सुविधा पुर्‍याउने बाटो खुल्ने अपेक्षा गरिएको छ।

सोमबार टनेल निर्माणस्थलको अनुगमनपछि उक्त क्षेत्रका सांसद तथा पूर्वमन्त्री पूर्णबहादुर खड्काले यो आयोजना सम्पन्न भएपछि सुर्खेत लगायत क्षेत्रको विकासमा कायापलट हुने बताए। 'कामको प्रगति जुन रुपमा भएको छ यसले हामीलाई निकै आशावादी बनाएको छ,' उनले भने, 'आयोजना बनेपछि यस क्षेत्रका जनताको जीवनस्तरमा निकै सुधार ल्याउने छ।'

भेरी करिडोर पनि सँगसँगै

२०७१ सालमा भेरी–बबई डाइभर्सनको शिलान्याससँगै सरकारले प्रभावित क्षेत्रका जनताका लागि ८० लाख रुपैयाँ मात्रै छुट्ट्याएको थियो। त्यसमा सो क्षेत्रका जनप्रतिनिधि एवं कांग्रेस नेता पूर्णबहादुर खड्काले विरोध जनाए। शिलान्यास नहुने अवस्था आएपछि सरकारले भेरी करिडोर बहुउद्देश्यीय परियोजना लागू गर्ने निर्णय गर्‍यो। अहिले छुट्टै आयोजना कार्यालय स्थापना गरेर विस्तृत अध्ययनको काम सुरु भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले चार अर्ब बजेट विनियोजन गरेको छ।

'भेरीको पानी बबईमा खसालेर ४८ मेगावाट बिजुली र छिमेकी जिल्ला बाँके र बर्दियाका ५१ हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुग्ने यो आयोजनाबाट स्रोत क्षेत्रका जनताले लाभ नलिने देखिएपछि मैले विरोध गरेको हुँ,' भेरी–बबई डाइभर्सन आयोजनाको निरीक्षणपछि आयोजित अन्तर्क्रिया कार्यक्रममा खड्काले भने, 'अब दुवै आयोजना सँगसँगै सुरु भएका छन्, सँगसँगै सम्पन्न हुन्छन्।'

भेरी करिडोरका मूख्य तीनवटा लक्ष्य छन्। सिँचाइ, विद्युतीकरण र कृषि सडक। क्षेत्र नं. १ को घोरेटादेखि क्षेत्र नं. ३ को घाटगाउँ (कर्णाली संगमस्थल) सम्मको १ सय २५ किलोमिटर क्षेत्रफलमा यो आयोजना लागू भएको छ। १ सय २५ किलोमिटर क्षेत्रमा पर्ने १९ गाविस र २ नगरपालिकाका बासिन्दा आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। नेपालमा कुनै पनि ठूला आयोजना निर्माण हुँदा स्थानीयको अवरोध मुख्य समस्याका रुपमा आउने गरेको छ। भेरी–बबई डाइभर्सन आयोजनामा यो समस्या छैन।

'भविष्यबारे विश्लेषण गर्दै स्रोत र प्रभावित क्षेत्रका जनताको दीर्घकालीन मागलाई समेत ध्यानमा राखेर भेरी–बबई डाइभर्सन आयोजनासँगै भेरी करिडोर आयोजना पनि सञ्चालनमा आएपछि यहाँ स्थानीयको अवरोध छैन, बरु सहयोग गरिराख्नुभएको छ,' आयोजना प्रमुख बस्नेतले भने, 'यो अरु ठाउँका लागि पनि उदाहरणीय कार्य हो।' भेरी करिडोरले भेरी र आसपासका खोलाबाट लिफ्ट सिँचाइमार्फत दायाँ र बायाँ दुई–दुई किलोमिटरसम्म सिँचाइ सुविधा पुर्‍याउने छ। लिफ्ट सिँचाइका लागि विद्युतीकरण र कृषि उत्पादनको बजारीकरणका लागि ग्रामीण सडक निर्माण गर्ने छ।

प्रकाशित: ३० मंसिर २०७३ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App