१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

‘कालिज’ पालनमा रमाउँदै अवकाश प्राप्त आचार्य, बढाउदैछन् आम्दानी

कालिज पालनमा व्यस्त तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विण्णुमणि आचार्य।

तुलसीपुर उपमहानगरपालिका–१० नयाँ गाउँमा वडा नं ६ निवासी विण्णुमणि आचार्यको दिनचर्या अलि फरक किसिमको छ। उनी आफ्नो अवकाश पछिको जिवन फरक तरिकाले बिताउने लक्ष्यले अघि बढिरहेका छन्। आचार्यले व्यावसायिक रुपमा ‘कालिज’ पालन सुरु गरेका छन्।  

उनको दैनिकी कालिजलाई दानापानी खुवाउन र रेखदेखमा बित्दैछ।

अवकाश प्राप्त राष्ट्रसेवक आचार्य भन्छन, ‘अवकाश भएपछि चार महिनासम्म घरमै बसँे। दिनभर घरपरिवार साथीभाइ तथा आफन्तसँग त्यत्तिकै बसेर समय बिताउँथे। तीस वर्षसम्म जागिरमा व्यस्त भएको मान्छे अब यसरी सधँै कसरी बस्नुजस्तो लागेकाले यो व्यवसाय सुरु गरेको हुँ।’

उनले सुरुमा सामाजिक सञ्जाल (युटुब)मार्फत व्यावसायिकरूपमा पालन गरिएका कालिजको भिडियो हेरे। त्यसपछि कालिजपालन गरिएको जिल्लाका दुई ठाउँमा पुगेँ। घरमा फर्केपछि उत्साहित भएर यो व्यवसाय सुरु गरेको आचार्य बताउँछन्।

‘दाङ उपत्यका कालिज पाल्न उपयुक्त वातावरण भएको भन्ने थाहा पाएरै यो व्यावसाय सुरुआत गरेको हुँ अहिलेसम्म तीनसय भन्दाबढी कालिज बिक्री गरिसकेँ। अझै पाँच सयवटा बिक्रीका लागि तयारी अवस्थामा छन्’, आचार्य भन्छन्। उनले ‘चाणक्य मल्टी प्रपोज एग्रो फार्म एण्ड रिसर्च सेन्टर’ प्राली खोलेर २५ लाख रुपैयाको लागतमा कालिजपालन सुरु गरेका हुन।

ह्याचिङ गरी उत्पादन गरिएका एक दिनका १ सय ८१ बचेरा पाँच सय ५० रुपैयाका दरले किनेर यो व्यवसाय सुरुआत गरेका आचार्यको व्यवसाय अहिले फस्टाउँदै गएको छ। उनले एक जनालाई रोजगारी दिएका छन्। आचार्यका अनुसार ३५ डिग्री सेल्सियसभन्दा कम तापक्रम हुने स्थान कालिज पाल्न राम्रो मानिन्छ। दाङको तापक्रम लगभग त्यस्तै छ।  

‘अहिलेसम्म पाँच सय कालिज बिक्री गरिसकेँ। सुरुमा एउटा कालिजलाई दुई हजार पाँच सयमा बिक्री गरँे। अहिले भने दुई हजारसम्ममा दिने गरेको छु। अण्डा पनि राम्रोसँग बिक्री भएको छ। एउटा अण्डा बिक्रीबाट एक सय आम्दानी हुने गर्छ। सुरुवातमै धेरै आम्दानीको अपेक्षा लिन हुँदैन विस्तारै आम्दानी हुन्छ’, उनी भन्छन।  

छ महिना पुगेपछि कालिज वयस्क हुन्छ र मासुका लागि उपयुक्त मानिन्छ। भाले कालिज एकदेखि डेढ केजीसम्म र पोथी आठ सय ग्रामदेखि एक केजीसम्मको हुन्छ। कालिजले घाँस, मकै खान्छ। अण्डा दिने पोथीका लागि दाना पनि दिन उपयुक्त हुन्छ। कालिजलाई हालसम्म कुनै रोग नलागेकाले औषधि पनि दिनुपरेको छैन तर अवलोकन तथा खरिद गर्ने जानेलाई जुत्ता, चप्पल खोलेर खुट्टामा औषधि छर्केरमात्र नजिक जान दिने गर्छन, उनी।

‘कालिज फुर्तिलो र लडाकु स्वभावको हुन्छ। त्यसैले चुच्चो मुखमा क्याप लगाउनुपर्छ। विदेशमा त्यही गरिन्छ। यहाँ भने त्यसो गरिएको छैन उनीहरु लड्न लागेपछि औजारको सहायताले छुट्याउने र केही समय छट्टै ठाउँमा राख्ने गरेको छु’, आचार्य भन्छन्।  

भाले र पोथी कालिजलाई छुट्टाछुट्टै राखिएको र अहिले पोथी बिक्री नगरी अण्डालाई ह्याचिङ गरी बचेरा निकाल्नका लागि तयारी गरिएको उनको भनाइ छ । ‘बजारमा माग त धेरै छ, तर यो वर्ष पोथी कालिज र बच्चा एउटा पनि नबेची धेरै उत्पादन भएमा अर्को वर्षदेखि मात्रै बिक्री गर्छु’, आचार्य भन्छन्।  

पढेलेखेकाले पैसा कमाउनकै लागि जागिर खानै पर्ने या विदेश नै जानुपर्छ भन्ने छैन तर राज्यले पनि किसानलाई प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्नेमा उनी जोड दिन्छन्।  रासस

 

प्रकाशित: १३ चैत्र २०७९ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App