२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकमा १० हजार किलो सुन

काठमाडौं– नेपाल राष्ट्र  बैंकमा कति सुन होला ? धेरैको जिज्ञाशा यस्तै हुनसक्छ । तर राष्ट्र बैंकमा भएको सुनबारे सजिलै आँकलन गर्नु मुस्किलको कुरा हो ।

धेरैले यति होला, उति होला भनेर अनुमान गर्ने गरेका छन् । तर यसमा सही अनुमान गर्छु भन्नेहरु पनि फेल खाने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थामा काम गर्ने वा सरोकारवालाकेन्द्रीय बैंकमा रहेको सुनबारे वास्तविक तथ्यांकको नजिक पुग्ने गर्छन् । सर्वसाधारण नागरिक भने राष्ट्र बैंकको ढुकुटीमा कति सुन छ भन्ने भेउ पाउन नसकेको बताउँछन् ।

राष्ट्र बैंकमा सर्वसाधारणले कल्पना गरेभन्दा बढी सुन रहेको खुलासा भएको छ । केन्द्रीय बैंकसँग करिब १० हजार किलो (१० टन) भन्दा बढी सुन रहेको नेपाल राष्ट्र बैंकका सहप्रवत्ता राजेन्द्र पण्डितले नागरिकलाई बताए । राष्ट्र बैंकसँग दुई तरिकाले सुन रहने गरेको जानकारी पनि उनले दिए ।

‘विभिन्न माध्यमबाट जफत भएको सुन राष्ट्र बैंकको ढुकुटीमा आउँछ,’ उनले भने, ‘यसैगरी बाहिरी मुलुकमा लगानी गरेर पनि सुन राष्ट्र बैंकले राखेको हुन्छ ।’

केन्द्रीय बैंकसँग विदेशी मुलुकमा लगानी गरेर राखेको सुन ६.१२ टन (६ हजार किलो भन्दा बढी) रहेको पण्डितले जानकारी दिए । ‘यसरी विदेशमा रहेको सुन वार्षिक ०.७५ प्रतिशत ब्याजमा लगानी गरेका छौं,’ उनले भने, ‘यसले राष्ट्र बैंकको आम्दानी बढाएको छ ।’

राष्ट्र बैंकको नाममा विदेशमा लगानी रहेको उक्त सुन अब्बल (९९९९) संकेतको सुन भएको पनि उनले जानकारी दिए । उक्त सुन गुणस्तरीय हुने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकसँग स्वदेशमै विभिन्न निकायले जफत गरेको सुन पनि हुन्छ । ‘यसरी जफत गरिएको सुन करिब ४ टन (४ हजार किलो) छ,’ पण्डितले भने, ‘जफत गरिएको यस्तो सुन विभिन्न माध्यमबाट राष्ट्र बैंकको ढुकुटीमा आउने गर्छ ।’ अवैध सुन अन्ततः केन्द्रीय बैंकमा आउने गरेको उनको भनाइ छ । तर, उक्त सुनमध्ये केही कमसल खालको हुने गरेको छ ।
चालु आर्थिक वर्षमा विभिन्न वाणिज्य बैंकले १ हजार ३ सय किलो सुन ल्याइसकेको नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक केशव अधिकारीले बताए । ‘साउनदेखि गत शुक्रबारसम्म वाणिज्य बैंकहरुले १ हजार ३ सय किलो सुन ल्याइसकेका छन्,’ उनले भने, ‘अहिले १ सय ७४ किलो सुन बैंकमा बिक्री हुन बाँकी छ ।’ बैंकहरुले मगाएको एक सय किलो सुन विदेशबाट ल्याउन लागिएको पनि उनले जानकारी दिए ।

‘माग बढ्न थालेपछि बैंकहरुले सुन ल्याउने प्रक्रिया सुरु गरेका छन्,’ नेपाल बैंकर्स संघका एक अधिकारीले भने, ‘व्यापारीलाई दिन अभाव छैन ।’

वाणिज्य बैंकहरुले सुनचाँदी धितोमा आर्थिक वर्ष २०७२÷०७३ मा ३ अर्ब ६ करोड ऋण प्रवाह गरेका थिए । उक्त सुनचाँदीमा ऋण प्रवाह गरेको रकम कुल लगानीको १.८२ प्रतिशत भएको राष्ट्र बैंकले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको समष्टिगत आर्थिक विवरणमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा गएका कामदारले काँचो सुन ल्याउन नपाउने व्यवस्था सरकारले गरेपछि सुन बिक्री बढेको बैैंकर बताउँछन् । यसअघि विदेशमा गएका कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था र अवैधानिक रुपमा आयात भएको सुन बैंकमा भन्दा सस्तो बजारमा पाएपछि बैंकको सुन बिक्री भएको थिएन ।

अहिले बैंकहरूमा एक सय ७३ किलो  सुन बिक्री भएको छैन । अरु सय किलो सुन पनि बाटोमा रहेको संघले बताएको छ । बैंकमा रहेको सुन चाँडै नै खपत हुन सक्ने सम्भावना देखिएकाले सुन ल्याउन लागिएको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले प्रस्ट पारेको छ ।

बैंकमा रहेको सुन बिक्री भएपछि बैंकले सुन आयात गर्न थालेका छन् । यसअघि सुन बिक्री नभएको भन्दै सुन ल्याउने काम स्थगित गरेका थिए ।

पछिल्लो समय अनौपचारिक बाटोबाट सुन आयात हुने क्रम घटेको र वैधानिक बाटो (बैंक) बाट आयात हुने क्रम बढेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । ‘बैंकको सुन बिक्री हुने क्रम बढेको छ,’ उनले भने ।

बैंकबाट सुन खरिद गर्दा भरपर्दो हुने भएकाले व्यापारीले बैंकबाट सुन किन्न थालेको एक व्यापारीले बताए । उनले भने, ‘बैंकबाट सुन किन्दा झन्झट बेहोर्नु नपर्ने भएकाले पनि व्यपारीहरु त्यतातिर लागेका हुन् ।’

नेपालमा सुन आयात गर्ने अनुमति बैंकहरूलाई मात्र छ । राष्ट्र बैंकले २३ वटा वाणिज्य बैंकलाई सुन आयात गर्ने अनुमति दिएको छ ।

अवैधानिक रुपमा अत्यधिक सुन आउँदा सरकारले राजस्व गुमाउने गर्छ । अवैधानिक सरहकै मूल्यमा बैंकबाट सुन पाउने भएपछि व्यवसायी पनि त्यतैतिर लागेका छन् ।

यसअघि वैदेशिक रोजगारीमा गएका कामदारले ५० ग्रामसम्म ल्याउन पाउने व्यवस्था थियो । यस्तो व्यवस्थाले बैंकको सुन बिक्रीमा कमी आएको थियो । सरकारले उक्त व्यवस्था खारेज गरी काँचो सुन ल्याउन नपाउने व्यवस्था गरेपछि बैंकबाट सुन किन्ने बढेका छन् ।

यो समयलाई व्यवसायी सुनचाँदीको धेरै कारोबार हुने मुख्य सिजन मान्छन् । दिपावलीमा गहनाभन्दा पनि काँचो सुनचाँदीको कारोबार धेरै हुने र मंसिर लागेपछि विवाहको सिजन सुरु हुने हुनाले गहनाका लागि सुन किन्ने क्रम बढ्ने उनीहरुको भनाइ छ ।

प्रकाशित: १४ कार्तिक २०७३ ०४:०० आइतबार

राष्ट्र बैंकमा १० किलो सुन