१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

घुम्नैपर्ने उत्कृष्ट देशमा नेपाल पाँचौं

काठमाडौं-गत वर्षको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीको चपेटाबाट विस्तारै तंग्रिन थालेको मुलुकको पर्यटन उद्योगलाई खुसीको खबर छ। संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट कम्पनी अमेरिकाको ‘लोन्ली प्लानेट’ ले तयार पारेको सन् २०१७ मा भ्रमण गर्नैपर्ने संसारका उत्कृष्ट १० देशको सूचीमा नेपाल पाँचौं नम्बरमा परेको छ।

यो सूचीमा दक्षिण एसियाबाट नेपालमात्र परेको छ भने सूचीअनुसार समग्र एसियाबाट नेपाल पहिलो नम्बरमा परेको हो। नेपालभन्दा पछाडि एसियाबाट  मंगोलिया, ओमान र म्यानमार परेका छन् भने अन्य देशमा बर्मुडा र इथियोपिया सूचीमा परेका छन्। अर्को वर्ष घुम्नैपर्ने उत्कृष्ट १० देशको सूचीमा क्यानडा पहिलो नम्बरमा परेको छ।

त्यसबाहेक लोन्ली प्लानेटले आगामी वर्षकै लागि तयार पारेको ‘बेस्ट भ्यालु’ (पर्यटकले खर्च गरेको पैसा खेर नजाने÷पर्यटक सन्तुष्ट हुने) १० उत्कृष्ट गन्तव्यको सूचीमा भने नेपाल पहिलो नम्बरमा परेको छ ।

लोन्ली प्लानेटले विश्वका १ सय ९० देशबाट छनोट गरेको उत्कृष्ट १० मा नेपाल परेको हो । ती गन्तव्य घुमेका आफ्ना लेखक र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर लोन्ली प्लानेटले सूची सार्वजनिक गरेको हो।

‘लोन्ली प्लानेटको भ्रमण गर्नैपर्ने उत्कृष्ट गन्तव्य र बेस्ट भ्यालु गन्तव्यको सूचीमा नेपाल पर्नु हाम्रो पर्यटन क्षेत्रका लागि ठूलो उपलब्धि हो,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मंगलबार नागरिकसँग भने, ‘यसबाट आगामी वर्ष मुलुकको पर्यटक आगमनमा आशालाग्दो प्रभाव देखिने निश्चित छ। सन् २०१७ आउनु तीन महिनाअघि नै आएको सुखद खबरबाट हामीले आशा गर्नुपर्ने ठाउँ धेरै छन् । यसबाट हामी उत्साहित छौं । त्यसकारण हामी चाँडै लोन्ली प्लानेटसँग पर्यटन प्रवद्र्धनका लागि साझेदारी पनि गर्दैछौं।’

लोन्ली प्लानेटको सूचीमा पर्नु भनेको भूकम्प र नाकाबन्दीपछि पनि संसारभरका पर्यटकका लागि नेपाल सुरक्षित र घुम्नैपर्ने गन्तव्य रहेको पुष्टि भएको जोशीले बताए । ‘यो सूचीलाई हामी ‘क्यास’ गरिहाल्छौं,’ उनले भने, ‘हामी जुन–जुन देशमा पर्यटन मेलामा भाग लिन जान्छौं, त्यहाँ लोन्ली प्लानेटको सूचीलाई उच्च प्राथमिकता दिँदै प्रचार–प्रसार गर्छौं ।’ 

जोशीका अनुसार संसारका ठूला टुर तथा ट्राभल अपरेटरले लोन्ली प्लानेटको यो सूची आफ्ना ‘ब्रोसर’ (जानकारी पुस्तिका) मा राख्ने तथा प्लानेटकै वेबसाइट पछ्याउँदै करोडौं पर्यटक यी गन्तव्य पुग्ने गर्छन् । त्यसकारण यसबाट नेपाललाई उल्लेख्य फाइदा पुग्ने छ ।

‘विनाशकारी भूकम्पबाट पर्यटन उद्योगमा ठूलो क्षति पुगे पनि चाँडै पुरानै अवस्थामा फर्किदैं गरेका बेला लोन्ली प्लानेटको सूचीले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालबारे असाध्यै सकारात्मक सन्देश गएको छ,’ जोशीले भने, ‘अब हामी पर्यटक कम जाने गन्तव्यलाई बढी प्रचार गर्छौं ।’

लोन्ली प्लानेटले उत्कृष्ट १० गन्तव्यको सूचीमा प्राकृतिक विपत्तिले नेपाललाई लामो समय रोक्न नसकेको तथा भूकम्पबाट कति गुम्यो भन्दा पनि कति बाँकी रह्यो भन्ने पर्यटकको धारणा महत्वपूर्ण रहेको उल्लेख गरेको छ ।

‘भूकम्पले ऐतिहासिक मठमन्दिर, प्रख्यात पदयात्रा मार्ग लगायत ध्वस्त भए पनि नेपालसँग ती सम्पदा र पूर्वाधार मर्मत गर्ने क्षमता छ,’ लोन्ली प्लानेटले सूचीमा लेखेको छ, ‘अहिले नेपाललाई आम्दानीको खाँचो छ । त्यसकारण नेपालको स्थानीय संस्कृति, जनतालाई सहयोग गर्न नेपाल भ्रमण गर्नैपर्छ जसबाट एउटा राष्ट्र पुनर्निर्माण हुनेछ र अझ बलियो भएर आउने छ ।’

उत्कृष्ट सूचीको पहिलो नम्बरमा क्यानडा, दोस्रो कोलम्बिया, तेस्रो फिनल्यान्ड, चौथो डोमिनाका, छैठौं बर्मुडा, सातौं मंगोलिया, आठौं ओमान, नवौं म्यानमार र दसौंमा इथियोपिया छन् ।

त्यसैगरी बेस्ट भ्यालु सूचीको पहिलो नम्बरमा परेको नेपालका लागि लोन्ली प्लानेटले ‘भूकम्प र भारतीय नाकाबन्दीपछि उत्पन्न इन्धन अभावबाट नेपाल समस्यामा परे पनि सचेत भएर खर्च गर्ने पर्यटकको रोजाइमा नेपाल उत्कृष्ट गन्तव्य रहँदै आएको’ उल्लेख गरेको छ ।

‘नेपालमा प्रतिदिन ५० अमेरिकी डलर खर्च गरे विश्वप्रसिद्ध पदयात्रा मार्गदेखि वन्यजन्तु दृश्यावलोकनको मज्जा लिन सकिन्छ,’ बेस्ट भ्यालु सूचीमा छ, ‘त्यहाँ विस्तारै पर्यटक बढ्दैछन् । तपाईं नेपालका जुनसुकै ठाउँ जानुहोस्, सदैव न्यानो स्वागत पाउनुहुने छ र यो नै नेपाल र नेपालीको विशेषता हो ।’

बेस्ट भ्यालु गन्तव्यको सूचीको दोस्रो नम्बरमा नामिबिया, तेस्रो पोर्चुगल, चौथो इटाली, पाँचौं हंगेरी, छैठौं बेलिज, सातौं मोरक्को, आठौं रुस, नवौं अस्ट्रेलिया र दसौंमा अमेरिका परेका छन् । सन् २०१७ मा संसारका विभिन्न गन्तव्य घुम्ने योजना बनाइरहेका पर्यटकलाई यी दुई सूचीले महत्वपूर्ण सहयोग पु¥याउने लोन्ली प्लानेटले जनाएको छ । लोन्ली प्लानेट १९७२ मा स्थापना भएको थियो। 

प्रकाशित: १० कार्तिक २०७३ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App