१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

दक्षिण एसियामा गरिबी उन्मूलन गर्न जोड

काठमाडौं- वाणिज्य मन्त्री रोमी गौचन थकालीले दक्षिण एसियाली मुलुकबाट गरिबी उन्मूलन गर्न, जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न र दिगो आर्थिक वृद्धि हासिल गर्न यस क्षेत्रका मुलुकहरुले संयुक्त रुपमा पहल गर्नुपर्नेमा जोड दिएका छन्।

बंगलादेशको ढाकामा आयोजित नवौं दक्षिण एसियाली आर्थिक सम्मेलनमा आफ्नो मन्तव्य राख्दै उनले यस कुरामा पहल गर्नुपर्नेमा जोड दिएका हुन्। सार्क बडापत्रमा उल्लिखित लक्ष्य र उद्देश्य अहिले झन् सान्दर्भिक भएको भन्दै उनले ती साझा लक्ष्यलाई परिणाममुखी तरिकाले व्यवहारमा उतार्न सबैले जोड दिनुपर्ने सुझाए।

संयुक्त राष्ट्रसंघको पहलमा यसै वर्षको सुरुबाट कार्यान्वयनमा ल्याइएको दिगो विकास एजेन्डाको प्रभावकारी कार्यान्वयनका लागि सार्क क्षेत्रका मुलुकबीच व्यापार, लगानी र पूर्वाधार विकासका क्षेत्रमा थप सहयोग र सहकार्य खाँचो रहेको उनले बताए।

मन्त्री थकालीले आइतबार बंगलादेशका वाणिज्य मन्त्री तोफिल अहमदसँग मैत्रीपूर्ण भेट गर्दै बंगलादेश र नेपालबीच लगानी तथा द्विपक्षीय व्यापार प्रवर्द्धन र व्यापारजन्य पूर्वाधारको सुधारका विषयमा छलफल गरे। सो अवसरमा नेपालबाट बंगलादेशमा निर्यात हुने १०८ वटा वस्तुलाई शून्य भन्सार महसुलमा तथा बंगलादेशबाट नेपालमा आयात हुने ५० वटा वस्तुलाई सहुलियतपूर्ण भन्सार दरको सुविधा उपलब्ध गराउने विषयको समझदारीलाई टुंगोमा पुर्‍याई यथाशीघ्र कार्यान्वयनमा ल्याउने विषयमा दुवै पक्षबाट सहमति व्यक्त भएको थियो। भेटघाटका क्रममा दुवै वाणिज्य मन्त्रीले बंगलादेश–भूटान–भारत र नेपालबीच भएको सवारी साधन आवागमनको सम्झौता यथाशीघ्र कार्यान्वयनमा ल्याउन जोड दिएका थिए।

मन्त्री थकालीले बंगलादेश प्रवेश गर्ने उद्यमी, व्यवसायी लगायत नेपाली नागरिकलाई अन अराइभल भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका साथै रोहनपुर र बंगलाबन्धमा आवश्यक पूर्वाधार विकास तथा सुधारका लागि बंगलादेशका वाणिज्य मन्त्रीसँग अनुरोध गरेका थिए।

प्रत्युत्तरमा बंगलादेशी वाणिज्य मन्त्री अहमदले बंगलादेश प्रवेश गर्ने नेपालीलाई सहज रुपमा अन अराइभल भिसा उपलब्ध गराउने विषयका अतिरिक्त द्विपक्षीय व्यापार प्रवर्द्धन र विस्तार, व्यापारजन्य पूर्वाधार विकास लगायत यसअघि दुई पक्षबीच भएका सहमति र समझदारीको प्रभावकारी कार्यान्वयनमा आवश्यक सहजीकरण र सहयोग गर्ने विश्वास दिलाए।

यसैबीच, मन्त्री थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिई कार्यान्वयनमा ल्याउन सके यसबाट यस क्षेत्रका अतिकम विकसित र विकासोन्मुख मुलुकको व्यापार र आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्न सक्ने बताएका छन्।

भारतको राजधानी नयाँ दिल्लीमा ब्रिक्स र बिमस्टेक लिडर्स समिटको साइडलाइनमा आयोजित बिमस्टेक बिजनेस समिटलाई सम्बोधन गर्दै मन्त्री थकालीले सो विचार व्यक्त गरेका हुन्।

प्राकृतिक तथा मानव स्रोत, साधन दुवैमा अत्यन्त धनी क्षेत्रको रूपमा रहे पनि व्यापार तथा आर्थिक एकीकरणको दृष्टिले बिमस्टेक क्षेत्र अहिले पनि सबैभन्दा कमजोर रहनु यस क्षेत्रका अतिकम विकसित मुलुकका लागि लाभदायक नभएको भन्दै उनले बिमस्टेक फ्रेमवर्क सम्झौताको प्रभावकारी कार्यान्वयनमार्फत यस क्षेत्रका सदस्य मुलुकबीच व्यापार, लगानी र सेवा व्यापार क्षेत्रमा आपसी अन्तरसम्बद्ध प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।

यस्तै, पूर्वाधार विकासका क्षेत्रमा रहेका व्यवधान पन्छाउँदै सडक यातायात, रेल तथा हवाई सेवा, बन्दरगाह र आन्तरिक जलमार्गको विकासमार्फत सम्पर्क सुदृढ गरी यस क्षेत्रका मुलुकहरूबीच व्यापार विस्तार गर्न सकिने उनको भनाइ थियो। यस क्रममा केही समयअघि तयार भएको बिमस्टेक ट्रान्सपोर्ट एन्ड लजिस्टिक स्टडीको प्रभावकारी कार्यान्वयन हुनसके यसबाट यस क्षेत्रका मुलुकबीच कनेक्टिभिटी विस्तार भई व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने उनले बताए। यसैगरी यस क्षेत्रमा लगानीकर्ता र व्यवसायीको आवागमनलाई सहज तुल्याउन  बिमस्टेक भिसा उपयोगी हुन सक्नेमा उनले जोड दिए।

सम्मेलनका दौरान थकालीले भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री श्रीमती निर्मला सीतारमनसँग पनि भेटवार्ता गरे। भेटघाटका क्रममा द्विपक्षीय व्यापार विस्तारका साथै यस क्षेत्रका सदस्य मुलुकबीच सम्पर्क विस्तार गरी व्यापार सहजीकरण गर्ने विषयमा छलफल भएको थियो।

भारतको परराष्ट्र मन्त्रालय र भारतीय उद्योग परिसंघको संयुक्त तत्वावधानमा आयोजित उक्त बिजनेस समिटमा भाग लिन नेपाल सरकारको तर्फबाट वाणिज्य मन्त्रीको नेतृत्वमा निजी क्षेत्रका प्रतिनिधिसहितको एक प्रतिनिधिमण्डल असोज २७ गते नयाँ दिल्ली प्रस्थान गरेको थियो।

प्रकाशित: २ कार्तिक २०७३ ०४:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App