२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्वदेशमै रोजगारी र उद्यशीलतालाई प्रोत्साहन गर्न जोड

काठमाडौं– वैदेशिक रोजगारीलाई निरुत्साही गरी स्वदेशमै रोजगार तथा उद्यमशिलतालाई प्रोत्साहन दिने लगायतका विषयमाजोड दिँदै ‘काठमाडौं घोषणा पत्र’ जारी गरेरदोस्रो राष्ट्रिय आप्रवासन सम्मेलन बुधबार सकिएको छ ।

तीन वर्षपछि एक दर्जन संघ–संस्था मिलेर आयोजना गरेको आप्रवासन सम्मेलनले वैदेशिक रोजगारीलाई सकेसम्म निरुत्साहित गर्न आवश्यक रहेकोमा जोड दिएको छ । पछिल्लो समय वैदेशिक रोजगारीको क्षेत्रमा विकृति देखापरेको बेला अब नेपालले वैदेशिक रोजगारीलाई प्रवद्र्धन गर्नुपर्ने नभई व्यवस्थापन गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

राजधानी र राजधनीबाहिरका सुरक्षित आप्रवासनको क्षेत्रमा कार्यरत विज्ञको सहभागिता रहेकोसम्मेलनले वैदेशिक रोजगारीमा जानैपर्ने अवस्था आए गन्तव्य मुलुक र कामबारे राम्रोसँग जानेर÷बुझेर मात्र जाने व्यवस्था मिलाउन सुझाव दिइएको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडाले रेमिटेन्स सदुपयोगको लागि बैंकहरूले सेयर, घर तथा जमिनमा कर्जा दिनुको साटो उत्पादनमूलक क्षेत्रका लगानी गर्न आवश्यक रहेको बताए । ‘कतिपय व्यक्ति रेमिटेन्स दुरूपयोग भएको गुनासो गर्छन्,’ खतिवडाले भने, ‘यतिखेर वैदेशिक रोजगारीमा गएको व्यक्ति र तिनको परिवारले नभई बैंकहरूले नै रेमिटेन्स दुरूपयोग गर्ने खतरा छ,’ उनले भने, ‘वैदेशिक रोजगारीमा गएको व्यक्तिको निक्षेप बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ ।’ आफू राष्ट्र बैंकको गभर्नर हुँदा बैंकलाई कृषि क्षेत्रमा अनिवार्य लगानी गर्न बनाएको कार्यविधिलाई अझै बढ्वा दिनुपर्ने उनको भनाइ छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले प्रदान गरिरहेको कामदारका हकहित,  समस्या र चुनौतीबारे कार्यपत्र प्रस्तुत गर्दै बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले कामका लागि विदेश पुगेका कामदारलाई पुनः श्रम स्वीकृति सम्बन्धित देशमा रहेको दूतावासबाटै  दिने व्यवस्था मिलाउन आवश्यक रहेको बताए । विद्यमान कानुनकै आधारमा श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयले सामूहिक निर्णय गर्ने हो भने कामदार कार्यरत मुलुकबाटै पुनः श्रम स्वीकृति दिन सकिने उनको भनाइ छ । हाल वैदेशिक रोजगारीमा रहेको व्यक्तिको श्रम स्वीकृकिो अवधि सकिनेबित्तिकै जुनसुकै मुलुकमा रहे पनि कामदार पुनः काठमाडौं फर्कनु पर्छ ।

वैदेशिक रोजगार विभागले मलेसियाका लागि तीन र खाडीका अन्य मुलुकमा जाने कामदारको हकमा दुई वर्षको श्रम स्वीकृति जारी गर्छ । त्यस्तै वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको रकमलाई सही ठाउँमा सदुपयोग गर्न नसक्दा नेपालबाट बर्सेनि बाहिरिने कामदार संख्या घट्न सकेको छैन । त्यसैले अब वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीलाई निश्चित रकम बचत गरी स्वदेशमै उद्यमी बन्न प्रेरित गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

उक्त सम्मेलनले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन रोजगार पूर्व, प्रस्थान पूर्व, कार्यस्थल चरण र पुनः एकीकरण चरणमा गरी पाँच दर्जन बढी सिफारिस गरेको  छ । सम्मेलननको समापन दिनमा वैदेशिक रोजगारीको क्षेत्रलाई उपयोगी र प्रभावकारी बनाउन राष्ट्रिय योजना आयोजका पूर्व उपाध्यक्ष खतिवडा, बोर्डका कार्यकारी निर्देशक काफ्ले, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल, विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनी, प्रविना गुरुङ, अमिना महर्जन, उदयराज पाण्डे, गणेश गुरुङ, सिद्धिचरण बराल लगायतका विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित: १३ आश्विन २०७३ ०३:२० बिहीबार

स्वदेशमै रोजगारी उद्यशीलतालाई प्रोत्साहन गर्न जोड