१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

ताप्लेजुङमा चामल उपभोग गर्ने उपभोक्ता बढे

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङबाट चामल उपभोग गर्ने उपभोक्ता बढेका छन्। बजारमा चामलको मूल्य वृद्धि, ग्रामीण क्षेत्रसम्म सडकको पहुँच पुगेको लगायतका कारण उक्त कम्पनीबाट चामल लिने उपभोक्ता बढेका हुन्। पछिल्लो केही महिनायता हरेक महिनामा एक सय ५० क्विन्टलको हाराहारीमा चामल बिक्री हुँदै आएको कम्पनीले जनाएको छ।

यस्तै चामलको मूल्य समायोजन गरेर घटाएकाले पनि उपभोक्ता बढेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङका निमित्त प्रमुख गोपाल राईले बताए। कम्पनीले गएको पुस २० गतेदेखि बासमती चामलको मूल्य प्रतिकिलो नौ रुपैयाँले घटाएको छ। प्रतिकिलो एक सय १४ रुपैयाँमा बिक्री हुँदै आएको उक्त चामल अहिले एक सय पाँच रुपैयाँमा पाइन्छ।

यस्तै सोना चामल प्रतिकिलो ४७ रुपैयाँ र जिरा मसिना ७० रुपैयाँका दरले पाइन्छ। बजारमा चामलको मूल्य वृद्धि भएकाले र गाउँगाउँसम्म सडकको पहुँच पुगेकाले पनि उपभोक्ताहरू बढ्दै गएको प्रमुख राईको भनाइ छ।

विगत वर्षमा यहाँको चामल न्यून मात्रामा बिक्री हुन्थ्यो। बजार क्षेत्र र नजिकका गाउँका मानिसले मात्रै उपभोग गर्ने यहाँको चामल अहिले गाउँगाउँसम्म पुग्न थालेको छ। बजारमा अन्य काम विशेषले आएकाले पनि चामल लिएर फर्किने गरेको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार टाढाबाट आएकालाई कारण नखुलाई १० बोरासम्म दिने गरिएको छ भने सोभन्दा बढी लिनेले कारण खुलाई वडाको सिफारिस समेत लिएर आउनुपर्ने हुन्छ। दसैं, तिहार जस्ता चाडपर्वमा छुट गर्दै आएको कार्यालयले अन्य समयमा समेत अवस्था हेरी छुट गर्दै आएको छ।

यस जिल्लामा वार्षिक झन्डै एक हजार क्विन्टलको हाराहारीमा चामल आउँछ। अहिले बिक्री भइरहेको सरदर अवस्थालाई हेर्दा अब थप गर्दै जानुपर्ने अवस्था आउन सक्ने कार्यालयको अनुमान छ। जिल्लाका केही गाउँपालिकाले पनि खाद्य डिपो सञ्चालनका लागि परामर्श लिइरहेको बताइएको छ। रासस

प्रकाशित: ३ फाल्गुन २०७९ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App