२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

टल्काइदिनेले लुट्छ सुन

झापा- गहना मैलोधैलो भएको छ? चिन्ता नलिनुस्, घरघरै सफा गरिदिने समूह डुल्दै छन्। टलक्क टल्कने सफा गहना लगाउने चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनीहरुबाटै लुटिन सक्नुहुन्छ।

सफा गरिदिने बहानामा गाउँ–गाउँ चहार्ने समूहले रसायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको छ।

पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै रसायन प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोरै–थोरै सुन निकाल्ने गरेका छन्। चाडपर्व नजिक आउँदै गर्दा सुन सफा गरिदिने भन्दै बस्ती–बस्ती घुम्नेहरूबाट ठगिएका महिला झापामा थुप्रै छन्। तीज, दसैंतिहार तथा बिहेको मौसममा महिलाले सुनका गहना धेरै लगाउँछन्। त्यही बुझेर सफा गर्ने भन्दै उनीहरूको गहना हात पार्ने लुटेराले सजिलै सुन लुटिरहेका छन्।

यस्तै समूहबाट भर्खरै ठगिएकी महिला हुन्, प्रमिला पाखि्रन, बाहुनडाँगी–८। प्रमिलाले आफू ठगिएको सातापछि मात्रै थाहा पाएकी थिइन्। झन्डै साताअघि गाउँमा सुन सफा गर्ने भन्दै एक महिला र पुरुष आएका थिए। छिमेकका अरूले पुराना गहना सफा गर्न लगाएको देखेर प्रमिला पनि एक तोलाको पुरानो मंगलसूत्र सफा गर्न तम्सिइन्। एकैछिनमा पुरानो गहना टिलिक्कै भयो।

तीजका लागि गहना टल्काएकी उनले उक्त सुन धरौटी राखेर पैसा झिक्नुपर्ने भयो। जब आइतबार उनी काँकडभिट्टास्थित एउटा ज्वेलरीमा पुगिन्, मंगलसूत्रको तौल त घटेको भेटियो। त्यही बेला थाहा भयो, सुन सफा गर्नेले लुटेछन्।

'पहिले पूरा एक तोला भएको मंगलसूत्र आइतबार जोख्दा ६ लाल कम्ती देखियो,' उनले भनिन्। प्रमिलाका अनुसार गाउँका अरू छिमेकीले भने सुन जोखेका छैनन्। 'मेरो यस्तो गर्नेले अरूको पनि झिक्यो होला,' उनले भनिन्।

झापा, धाइजन–५ की कविता उप्रेती पनि वर्षदिनअघि यस्तै समूहबाट ठगिइन्। हिन्दी मात्र बोल्ने एक महिला र पुरुषले सफाइकै बहानामा सुन झिकेको उनले ज्वेलरीमा लगेर जोखेपछि मात्रै थाहा पाएकी हुन्। मेचीनगर–१० की सम्झना बस्नेतले त्यस्तै ठगलाई सुनका गरगहना सफा गर्न दिँदा आफूले दिएको सुनको मात्रा पछि घटेको पाइन्। 'मसँगै सफा गराएका अरू तीन–चार जनाको पनि गहनाको तौल घटेछ,' बस्नेतले भनिन्, 'सबै ठगिएका रहेछौं।'

यी केही प्रतिनिधि घटना हुन्। गाउँका मात्र होइन, सहरकै पनि धेरै महिलाले थाहै नपाई आफ्नो सम्पत्ति लुटाइरहेका छन्। यस्तो समस्या झापा तथा पहाडी जिल्लाका गाउँ–गाउँमा देखिएको प्रहरी भनाइ छ।

नेपाल सुनचाँदी व्यवसायी संघ, मेचीनगरका अनुसार गहना सफा गराउने अधिकांशको सुनको तौल घटेकै हुन्छ। थोरै–थोरै सुन धेरैको गहनाबाट निकालेर लुटेरा समूहले संकलन गर्छ। यस्ता ठग हम्मेसि प्रहरी नियन्त्रणमा आउँदैनन्।

'सुनचाँदीका गरगहना सफा गर्न भन्दै गाउँतिर यस्ता ठगका गिरोह नै सक्रिय छन्,’ नेपाल सुनचाँदी व्यवसायी संघ, मेचीनगरका सचिव राजु सुवर्णकारले भने, 'यस्तो गिरोह झापा मात्र होइन, पूर्वी पहाडी जिल्लाका दुर्गम गाउँसम्म पुग्ने गरेका छन्।' सुन धुने भन्दै झुक्याएर गहनाबाटै सुन चोर्ने गिरोहबाट ठगिने धेरै भएको उनको भनाइ छ।

'जहाँ पायो, त्यहाँ सुन सफाइ गर्न हुँदैन। डुलुवाहरूसँग सफा गराउने अनि कम्ती भएपछि सिकायत लिएर ज्वेलर्स सञ्चालककहाँ आएका घटना धेरै छन्,' उनले भने।

यस्तो गिरोह सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा सक्रिय हुने गरेको छ। कम्ती पैसामा सुनका गरगहना सफा गरी टिलिक्क टल्काउने भन्दै उनीहरूले सुन चोरी गर्ने गरेको पीडितको भनाइ छ। उनीहरूबाट सुन सफाइ गरेपछि अधिकांशको सुनको तौल कम हुने गरेको पीडितको भनाइ छ। सफाइ गर्ने नाममा सजिलै गिरोहले सुन चोर्ने गरेको छ। 'मैले एक तोलाको सिक्री सफाइ गर्न दिएको थिएँ,’ उप्रेतीले भनिन्, 'सिक्री त टिलिक्क चम्कियो नै तर पछि वजन गर्दा चार लाल कम भएछ, त्यसपछि मात्र ठगिएको थाहा पाएँ।'

ज्वेलर्समा सल्फरिक एसिडबाट सुनचाँदीका गरगहना सफाइ गरिन्छ। तर,  फिरन्तेले अन्य केमिकल प्रयोग गर्ने गरेका छन् जसले सुनका गहना छिद्र–छिद्र बनाउने गरेको छ। त्यही केमिकलको सहायताले उनीहरू सुन लुट्ने गर्छन्। धुलाबारी उच्च माविका विज्ञानशिक्षक तेजप्रसाद चौलागाईंका अनुसार सुनसँग 'रियाक्ट' गर्ने एसिड लगाए सुनका कण पानीमा मिसिन्छन्। पछि त्यही पानीबाट सुन निकाल्न मिल्छ।

फिरन्तेले त्यस्तै एसिड प्रयोग गरी सुन धुने गर्छन् जसले सुनका कण निकाल्ने भएकाले पखाल्न प्रयोग गरिएको पानी उनीहरू आफैं लिएर जान्छन्। त्यहीँबाट उनीहरुले सुन निकाल्ने गरेको सुनचाँदी व्यवसायी पूर्ण गदालले बताए। जिल्लाका विभिन्न ठाउँमा यस्ता घटना सुनिनेे भए पनि थोरैले मात्र प्रहरीसमक्ष उजुरी गर्ने गरेका छन्।

'सुन ठगेर ठग हिँडिहाल्छ, पीडितले पछि मात्र थाहा पाउँछन्, धेरै घटना प्रहरीसमक्ष आइपुग्दैनन्,' नेपाल प्रहरीका डिएसपी श्यामकृष्ण अधिकारी भन्छन्, 'यस्ता ठग गाउँ पस्नेबित्तिकै प्रहरीलाई खबर गर्नुपर्‍यो। उनीहरुलाई विश्वास गर्दाको परिणाम हो त्यो, यस्ताबाट सजग रहनुपर्‍यो।' यस्तो घटनामा अधिकांश विदेशी नागरिक रहेको प्रहरी भनाइ छ। भारतीय ठग समूह यसमा संलग्न रहेको आशंका प्रहरीको छ।

प्रकाशित: १४ भाद्र २०७३ ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App