इलाम– आफ्नै लोगो (ट्रेडमार्क) मा पहिचान भएर विदेश निर्यात हुने बेला गुणस्तरहीन ‘आयातित’ अलैंची मिसावट देखिएपछि नेपाली अलैंचीको निर्यातमा गम्भीर असर पुग्ने देखिएको छ । बर्सेनि अर्बौं रुपैयाँ बराबर विदेश निर्यात भइरहेको गुणस्तरीय अलैंचीमा अन्य देशको अलैंची मिसाएपछि व्यवसायी र किसान चिन्तित छन् ।
भारत नयाँदिल्लीका व्यापारीले केही दिनअघि नेपाली व्यापारीलाई नेपालबाट आएकोमा गुणस्तरहीन अलैंची मिसावट देखिएको भन्दै सम्पर्क गरेका थिए । अलैंची व्यवसायी महासंघले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि लोगोले आधिकारिकता पाइसकेका बेला नेपालबाट गएको भनिएको अलैंचीमा मिसावट भेटिनु देशकै आर्थिक कारोबारको गम्भीर विषय भएको जनाएको छ ।
‘सरकारले लोगोलाई आधिकारिकता दिएपछि भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्समा दर्ता प्रक्रियामा पठाइसकेका थियौं,’ महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले भने, ‘यही बेला भारतमै हाम्रो अलैंचीमा मिसावट देखिएको खबर आउनुले देशकै अलैंची व्यापारमा असर पु¥याउन सक्छ ।’ सरकारले अलैंचीको पहिचान र निर्यात व्यापारमा सहयोग गर्न विश्व बजारमा ‘एभरेस्ट बिग कार्डमम’ नामको लोगो १ वर्षअघि दर्ता गरेको थियो ।
अझ गुणस्तरीय अलैंची उत्पादन र निर्यात गर्नुपर्ने बेला भारतीय व्यापारीबाट मिसावटको खबर आएपछि व्यवसायी झस्किएका छन् । उक्त अलैंची झापाको बिर्तामोडबाट गएको आशंका महासंघको छ । वरिष्ठ उपाध्यक्ष नेपालले पहाडी जिल्लामा त्यस्तो अलैंची नदेखिए पनि झापामा भने देखिएको बताए । ‘मिसावट भएको गुणस्तरहीन अलैंची कहाँबाट आयात भयो, जानकारी छैन,’ उनले भने, ‘हामीले आइन्दा यो अलैंची मिसाएको पाए सम्बन्धित व्यवसायीलाई कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिइसकेका छौं ।’
व्यवसायीका अनुसार गुणस्तरहीन उक्त अलैंची अहिलेसम्म नेपालको उत्पादनमा देखिएको थिएन ।
इलामस्थित अलैंची व्यवसायी संघका अध्यक्ष विजय खाकीले गोर्खामा समेत आयातित अलैंची भेटिएको खबर आएको सुनाए । ‘अहिले बाहिरी देशबाट आएको भनिएको अलैंची नेपालको उत्पादन होइन रहेछ,’ खाकीले भने, ‘स्वाद र बास्नासमेत यहाँको अलैंचीको जस्तो छैन भन्ने सुनेको छु ।’ उनले इलाममा अहिलेसम्म यो अलैंची नदेखिएको बताए । कुन देशबाट ल्याएर ‘नेपालको नाम’मा निर्यात हुँदैछ भन्ने पत्तो लाग्न नसके पनि चीन, भियतनाम र लाओसबाट भारतकै बाटो भएर नेपाल भित्रिएको व्यवसायीको अनुमान छ ।
उपाध्यक्ष नेपालले भने, ‘कति परिमाणमा यो अलैंची नेपाल आउँदैछ भन्ने यकिन छैन तर यसरी नै मिसावट भए नेपाली अलैंचीलाई विश्वबजारमा दीर्घकालसम्म असर पुग्ने पक्का छ ।’ उनले अलैंचीको दीघकालीन व्यापारभन्दा छिटो पैसा कमाउने नियत राख्ने व्यवसायी यसमा आकर्षित भएको बताए । यो नियतले सबै अलैंची व्यवसायी, किसान र देशकै अर्थतन्त्रमा असर पु¥याउने उनले गुनासो गरे । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालबाट बर्सेनि ६ अर्ब रुपैयाँको अलैंची निकासी हुने गरेको छ ।
भारतका बजारमा यो अलैंची नेपालीभन्दा करिब ४ गुणा सस्तो पर्ने भएकाले व्यवसायीले त्यसलाई नेपाल ल्याएर मिसाएको स्रोतले जनाएको छ । ‘भारत सिलिगुडीमा यो खाले अलैंची प्रतिकिलो ५ सय रुपैयाँमा पाइन्छ भन्ने सुनिन्छ,’ एक व्यवसायीले भने, ‘नेपालको अलैंचीमा मिसाउँदा प्रतिकिलोमै करिब १ हजार २ सय रुपैयाँ फाइदा हुने देखेर व्यापारीले नै बदमासी गरेका हुन् ।’ ती व्यवसायीले केही भारतीय व्यापारीले नेपालको बद्नाम गराउन गुणस्तरहीन अलैंची ल्याएर निर्यात गराउन लगाएको हुनसक्ने अनुमान पनि गरे । ‘प्रतिमन (४० किलो) ७५ हजार रुपैयाँमा किनेर त्यत्ति नै मूल्यमा बेच्ने अलैंची व्यापारी पनि भेटिए,’ उनले भने, ‘कमसल अलैंची मिसावट नभए जतिको तत्तिमा कसरी बेच्न सकिन्छ ?’ अहिले बिर्तामोडमा नेपाली अलैंचीको मूल्य प्रतिमन ८० हजार हाराहारी छ ।
तेस्रो मुलुकबाट आयात भएको मात्र होइन, यहीँका बगानमा उत्पादन हुने गरेको चुरुम्फो (कमसल जातको अलैंची) मिसाएकाले पनि अलैंचीको गुणस्तर बर्सेनि खस्किँदैछ । चुरुम्फो मिसाएर गुणस्तर घटेकै कारण दाना अलैंचीको बजार अहिले शून्यजस्तै भएको भएको व्यवसायी बताउँछन् । संघ अध्यक्ष खाकीले करिब २ वर्षअघि अलैंचीको दाना प्रतिमन २ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेकामा अहिले यस्तो दाना बिक्नै छाडेको बताए । उनले अलैंचीको फल पनि प्रतिमन १ लाख ३ हजार रुपैयाँसम्म पुगेर अहिले करिब २५ हजार रुपैयाँ घटेको बताए । ‘अलैंचीको दानामा व्यापारीले गुणस्तर पहिल्याउनै मुस्किल हुन्छ,’ उनले भने, ‘यहाँबाट बिकेर अन्तिम अवस्थामा पुगेपछि मात्रै गुणस्तर थाहा हुन्छ अनि एकैपटक भाउ घट्छ । अहिले दाना अलैंची त बिक्नै छाडेको छ ।’ उत्पादन र व्यापारमा किसान–व्यवसायी इमानदार नभएसम्म तेस्रो मुलुकतर्फको निकासी र मूल्यमा असर पुग्ने उनले जनाए ।
महासंघ अन्तर्गतको गुणस्तर सुधार तथा अनुगमन समितिले अलैंचीको गुणस्तर कायम गर्न भर्खरै किसान र व्यवसायीलाई १० बुँदे जानकारी पत्रसमेत थमाइसकेको छ । अलैंचीमा धुवाँजन्य पुल्ठो लगाउन, पानी हाल्न, धुलो, चुरुम्फो मिसाउन समितिले प्रतिबन्ध लगाएको त्यसमा उल्लेख छ । नक्कली अलैंची आयात गर्दै मिसाएर निर्यात गर्न नपाइने, गुणस्तर कायम गर्न अलैंचीमा देखिने रोग नियन्त्रणको पहल गर्ने, ग्रेडिङलाई किसानसम्म पु¥याउने लगायतका बुँदा जानकारी पत्रमा छन् ।
अलैंचीको परिमाण बढाउन कतिपयले चुरुम्फो मिसाउने गरेको पनि किसानहरू नै बताउँछन् । वरिष्ठ उपाध्यक्ष नेपालले अलैंचीमात्र नभई नेपाली उत्पादनहरूमा मिसावटको समस्या ‘संस्कार’ नै भइसकेकाले व्यापारमा यसले गम्भीर पारिरहेको बताए । ‘जे उत्पादन गरे पनि गुणस्तरहीन वस्तु मिसावट गरिहाल्ने परम्पराले हाम्रो निर्यात व्यापारमा ठूलो चुनौती आइपरेको छ,’ उनले भने, ‘उत्पादक र व्यापारी विश्वासी हुन सके मात्र यहाँको जुनसुकै उत्पादन अन्य मुलुक निर्यात गर्न सकिन्छ ।’
जिल्लाको फिक्कलस्थित अलैंची विकास केन्द्रका अनुसार रोगका कारण ७ वर्षदेखि लगातार घटिरहेको अलैंची उत्पादन २ वर्षयता भने बढेको छ । निरोगी बिरुवा र रोपण क्षेत्र थपिएकाले उत्पादन बढेको हो ।
केन्द्रका अनुसार आर्थिक वर्ष ०७१÷७२ मा देशभर ५ हजार १ सय ६६ मेट्रिक टन अलैंची उत्पादन भएको छ । १६ हजार ४३ हेक्टरमा गरिएको खेतीमध्ये यो १२ हजार ४ सय ५६ हेक्टरको उत्पादन हो । आव ०७०÷७१ मा १४ हजार ८ सय ४७ हेक्टरमा गरिएको खेतीबाट ५ हजार २ सय २५ मेट्रिक टन अलैंची उत्पादन थियो । अघिल्लो आव ०६९÷७० मा भने १४ हजार ६ सय ८१ हेक्टरमा गरिएको खेतीबाट ५ हजार ७ सय ५३ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । उत्पादकत्व भने ३ वर्षयता लगातार घटिरहेको केन्द्र प्रमुख पदम अधिकारीले बताए । ‘उत्पादनमा सुधार आए पनि गुणस्तर भने खास सुध्रिएको छैन,’ अधिकारीले भने, ‘धुवाँरहित प्रविधिबाट सुकाइएको अलैंचीको भने गुणस्तर बढेको छ ।’
आव ०६१/६२ देखि ०६७/६८ सम्म भने अलैंची उत्पादन लगातर घटेको थियो । तथ्यांकअनुसार यो अवधिमा पाँच सय ६९ मेट्रिक टन उत्पादन घटेको थियो । त्यतिबेला अलैंचीमा लाग्ने छिर्केफुर्के, गानो कुहिने रोग चरम अवस्थामा थियो । केन्द्रका अनुसार आव ०६१÷६२ मा छ हजार ८६ मेट्रिक टन उत्पादन भएको अलैंची आव ०६७÷६८ सम्म आइपुग्दा ५ हजार ५ सय १७ मेट्रिक टनमा झरेको थियो ।
इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा, सोलुखुम्बु, दोलखा, लमजुङ, रोल्पा, बाग्लुङ, पर्वत र स्याङ्जामा अलैंची उत्पादन हुन्छ । सबैभन्दा बढी पूर्वाञ्चलमै उत्पादन हुने गरेको केन्द्रको तथ्यांक छ । जिल्लागत रूपमा अलैंची उत्पादनमा ताप्लेजुङमा सबैभन्दा अगाडि छ । ताप्लेजुङमा ४ हजार ५ सय, संखुवासभामा ३ हजार ५ सय ७०, पाँचथरमा २ हजार १ सय ७० तथा इलाममा १ हजार ५ सय ९ हेक्टरमा अलैंची उत्पादन हुने केन्द्रले जनाएको छ। राम्रो गुणस्तरको अलैंची पाँचथरको रवि, संखुवासभा र सोलुखुम्बुका केही भाग तथा इलामकै जिर्मलेमा पनि गुणस्तरीय अलैंची उत्पादन हुन थालेको छ । नेपालको अलैंची भारतको सिलिगुडी र बैग्लोर निकासी हुन्छ।
प्रकाशित: २७ श्रावण २०७३ १५:०० बिहीबार