प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त मन्त्रीहरूले मंगलबार मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै कामका प्राथमिकताका साथै विभिन्न प्रतिवद्धता जनाएका छन्। मन्त्रीहरूले पूर्वाधार निर्माणदेखि, पर्यटन प्रवद्र्धन, कृषिमा लगानी दशक घोषणा, व्यापार घाटा न्यूनीकरण गर्नेसम्मका योजना अघि सारेका छन्।
हवाई सुरक्षा कायम गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मंगलबार कार्यभार सम्हाल्दै मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री किराँतीले नेपाल वायु सेवा निगमलाई निगम जस्तो बनाउने दाबी गरेका छन्।
मन्त्री किराँतीले हवाई क्षेत्रको सुरक्षा कायम गर्न समद्ध निकायलाई समेत निर्देशन दिएका छन्। अहिले हवाई क्षेत्रको सुरक्षा मुख्य चुनौती देखिएको छ। त्यसैले हवाई क्षेत्रलाई जोखिमरहित बनाउने प्रयत्न गर्नेछु,’ उनले भने। मन्त्री किराँतीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पारे। आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उनको भनाइ थियो। कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागि पर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागि पर्ने स्पष्ट पारे।
‘म जहाजको ककपिटमा छु। एकैचोटी जहाज उडाउँदैनौं। सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ। जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन।’ यही माघ १ गते मात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकाले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उनले बताए। मन्त्री राईले कार्यालयको काम गर्ने वातावरण सरसफाइ गर्न पनि मन्त्रालय मातहतका कर्मचारीलाई निर्देशन दिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइको पाँच वर्षे रणनीति
उपप्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङदेनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन्। उपप्रधानमन्त्री लिङ्देनले कार्यभार सम्हाल्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको योजनाबद्ध ढंगले विकास गर्न रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा ३ कार्यदल गठन गर्ने निर्णय गरेका छन्। ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको समग्र विकास गर्नका लागि योजना चाहिन्छ,’ कार्यभार सम्हाल्दै मन्त्री लिङदेनले भने ‘मन्त्रालयले पाँच वर्षे रणनीतिक योजना बनाउन कार्यदल गठन गरेका छौं। यसले आगामी पाँच वर्षे योजना बनाउन आवश्यक रणनीति तयार पारेर अघि बढ्ने बाटो निर्धारण गर्नेछ।’ उपप्रधानमन्त्री लिङदेनले ठूलै चुनौती बोकेर मन्त्रालयको नेतृत्व सम्हालेको बताएका छन्। ‘यो मान्छे सरकारमा गयो भने बिग्रन्छ है भन्ने खालको धारणा विकास भइसकेको छ। नेपालको सन्दर्भमा सरकारमा जानु र मन्त्री बन्नु भनेको चुनौतीपूर्ण जस्तो ठान्ने गरिन्छ। त्यहाँ गएपछि मान्छे बिग्रिन्छ है भन्ने खालको कुरा पनि हुने गर्छ। नबिग्रएिको मान्छे जानुहुन्न है भन्ने कुरा पनि आइराखेको थियो,’ उनले भने ‘यो मेरो कार्यकाल पक्कै पनि चुनौतीपूर्ण छ। आधाघण्टाको दूरीमा झोलुङ्गे पुल
सहरी विकास मन्त्री विक्रम पाण्डेले कार्यभार सम्हाल्दै आधा घण्टाको दूरीमा झलुङगे पुल निर्माण गर्ने निर्णय गरेका छन्। ‘पश्चिम नेपालको अवस्था निकै दर्दनाक छ,’ उनले भने ‘त्यस्ता ठाउँमा अत्यावश्यक पूर्वाधार निर्माण गर्नेछौं।’ मन्त्री पाण्डेले मन्त्रालयले प्रथामिकताका आधारमा आयोजनाहरूलाई अघि बढाउने बताएका छन्। ‘जुन रोकिएका आयोजनाहरू छन्, ती के कारणले रोकिएका हुन् कारण पत्ता लगाएर जति सक्दो चाँडो अघि बढाउने प्रयत्न गर्नेछौं।’ मन्त्री पाण्डेले सुरु भएर पनि काम सम्पन्न नभएका आयोजनाको सन्दर्भमा चासो दिएर अघि बढाउने बताए। पाण्डेले सहरी विकास मन्त्रालयले अघि सारेका प्रथामिकतालाई अघि बढाउने र कार्यान्वयन गर्नेतर्फ अग्रसर हुने बताए। ‘यो मन्त्रालयमा धेरै खालका काम रहेका छन्। किन काम हुँदैन भन्ने पनि मलाई थाहा छ,’ मन्त्री पाण्डेले भने ‘त्यो समस्या अब आउन नदिने गरी काम गर्नेछु।’
लगानी दशक घोषणा
यसैगरी, कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि उत्पादन बढाउन ‘कृषि उत्पादन प्रवद्र्धन तथा लगानी दशक’ घोषणा गरेकी छिन्। मन्त्रालयमा पदवहाली गर्दै दशक घोषणा गर्ने नीतिगत निर्णयमा हस्ताक्षर गरेकी हुन्। कृषि क्षेत्रमा लगानी आकर्षित नभइरहेको अवसथमा कृषिमा लगानी अभिवृद्धि गर्न यस्तो निर्णय गरेको बताइन्। कृषिजन्य वस्तु विदेशबाट आयात भैरहेको अवस्थामा कृषि उत्पादन बढाउने उद्देश्यले दशक घोषणा गरेको मन्त्रालयले जनाएको छ। कृषि लगानी दशक आर्थिक वर्ष २०८०–८१ देखि २०८९–९० सम्म सञ्चालन हुनेछ। मन्त्री शाहले कृषि बीमाको अनलाइनबाट भुक्तानी गर्ने सम्बन्धी निर्णयमा पनि हस्ताक्षर गरिन्।
व्यापार घाटा न्यूनीकरण गर्ने
यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यापार घाटा न्यूनीकरण गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्। मुलुकले ठूलो व्यापार घाटा व्यहोरिरहेका बेला मन्त्री भण्डारीले नेपाली सामग्रीलाई प्रतिस्पर्धी बनाइ निर्यात गरेर व्यापार घाटा कम गर्ने बताए। ‘विश्व बजारमा नेपाली सामानको धेरै सम्भावना छ,’ उनले भने, ‘निर्यातका लागि पहल गर्छौं।’ उत्पादनलाई वृद्धि गर्दै व्यापार घाटा न्यूनीकरण गर्ने उनले बताए।
प्रकाशित: ४ माघ २०७९ ०१:५९ बुधबार