१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

साताभरिमा नेप्सेपरिसूचक १७३ अंकले बढ्यो

निरन्तर घट्दै आइरहेको सेयर बजारले यो साता बढेर लय समातेको छ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि लगातार जसो घट्दै आइरहेको सेयर बजारमा यो साता भने उत्साहजनक रूपमा उछाल आएको छ।

यो साताको पहिलो दिन सार्वजनिक बिदाको कारणले सेयरबजार खुलेन। साताको दोस्रो दिन सोमबार ५६.८६ अंकले बढेर हरियाली छाएको सेयर बजार यो साताको तीन दिन लगातार ५६ अंकभन्दा धेरैको वृद्धि भयो।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार, मंगलबार बिहीबार तीन दिन १७३. ६१ अंकले सेयर बढेको छ। साताको चौथो दिन बुधबार ११.८१ अंकले सेयर घटेको थियो। कारोबार भएको चार दिनमध्ये समग्रमा १६१.८ अंकले सेयर बढेको छ।

लामो समयपछि मात्र यति ठूलो अंकले सेयर बढेको हो। पुष्पकमल दाहाल नेतृत्वको सरकार फेरिएसँगै सेयर बजारमा नयाँ उत्साह थपिएको हो। साताको अन्तिम दिन बिहीबार पनि ५६.८८  अंकले बढेर नेप्सेपरिसूचक २०२९.०३ बिन्दुमा पुगेको छ। बिहीबार २०८ कम्पनीको सेयर बढेको छ भने ६ वटा कम्पनीको मात्रै सेयर घटेको छ।

बिहीबार ८० लाख २४ हजार ५ सय ५९ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७ सय ८१ रूपैयाँको कारोबार भएको छ। स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्सेका तीनवटै सूचक बढेका छन्। सेन्सेटिभ सूचक ९.९८ अंक, फ्लोट परिसूचक ३.८० अंकले घटेको छ।

त्यसैगरी सेन्सेटिभ फ्लोट ३.९६ अंकले बढेको छ। नेप्सेका १३ वटै उपसूचक बढेका छन्। बिहीबार सबैभन्दा धेरै बढ्ने उपसूचकमा जीवनबिमातर्फ ३८४.३८ अंक, निर्जीवनबिमातर्फ ३४८. ५३ अंकले बढेको छ।

त्यसैगरी विकास बैंकतर्फ ११६.५५ अंक, माइक्रोफाइनान्सतर्फ ११३.८७ अंकले बढेको छ। बिहीबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीहरूमा हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, सिर्जनशील लघुवित्त कम्पनीको सेयर १० प्रतिशतको दरले वृद्धि भएको छ। बिहीबार सवैभन्दा धेरै घट्ने कम्पनीमा नेपाल बैंक डिबेञ्चरको सेयर ३.९५ प्रतिशत, एनएमबी ५० को सेयर ३.७४, एनआईबिएल समृद्धि फण्ड २ को सेयर २.०२ प्रतिशतले घटेको छ।

यो साताको पहिलो दिन सोमबार नेप्सेपरिसूचक हरियालीसहित ५६.८६ अंकले वृद्धि भएर १९२४.०७ बिन्दुमा पुगेको छ। सोमबार ५६ लाख ५३ हजार ५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९ सय ४१ रूपैयाँको सेयर कारोबार भएको थियो।

साताको तेस्रो दिन मंगलबार १ करोड २० लाख २९ हजार ६ सय ३ कित्ता सेयर किनबेच हुँदा तीन अर्ब ८८ करोड ४३ लाख ९६ हजार ९ सय ९७ रूपैयाँको कारोबार भएको थियो। मंगलबार सेयर बजार ५९.८७ अंकले वृद्धि भएर १९८३.९५ बिन्दुमा पुगेको थियो।

साताको चौथो दिन सेयरबजार दोहोरो अंकले अर्थात् ११.८१ अंकले घटेको हो। बुधबार ११.८१ अंकले घटेर सेयरबजार १९७२.१५ बिन्दुमा झरेको छ। ६५ लाख ३० हजार ४ सय १५ कित्ता किनबेच हुँदा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २ सय ७ रूपैयाँको कारोबार भएको थियो ।

प्रकाशित: १५ पुस २०७९ ०४:०३ शुक्रबार

नेपाल स्टक एक्सचेन्ज निरन्तर घट्दै आइरहेको सेयर बजार