१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

धान किसानले पाए बिमा रकम

हरेक वर्ष बाढी, खडेरी तथा अन्य प्राकृतिक प्रकोपले निम्त्याउने विपद्ले लाखाँैँ किसान मारमा परिरहेका छन्। यस्ता विपद् जोखिम न्यूनीकरण गर्न परम्परागत ढाँचाको कृषि बिमाको व्यवस्था भई लागु गरिए तापनि सोचेअनुरूप सफलता प्राप्त गर्न सकिएको छैन। परम्परागत ढाँचाको कृषि बिमामा देखिएका विभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बिमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गइरहेको छ।  

यसै सन्दर्भमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) बाट पाइलटिङ बिमा योजनाका रूपमा ‘बाढीको सूचकाङ्कका आधारमा सामूहिक धान खेती बिमा’ को स्वीकृति प्राप्त गरी सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका दश वटा कृषक समूहका १०० जना कृषकका करिब चालीस हेक्टरमा खेती गरिएका धानबालीको बाढीसम्बन्धी जोखिमको रक्षावरण हुने गरी बिमालेख जारी गरेको थियो।

सूचकाङ्कमा आधारित यस नवीन बीमा योजना ‘भूमि अनुसन्धान तथा नीति संवादका लागि सहकार्य (कोलार्प) तथा युएसएआइडी नेपालको इम्प्रुभ्ड डिजास्टर रिस्क म्यानेजमेन्ट प्रोजेक्टअन्तर्गतको आर्थिक सहयोगमा नवीन परियोजना टेस्टिङ द फिजिबिलिटी अफ इन्डेक्स बेस्ड एग्रिकल्चर इन्सुरेन्स अगेन्स्ट वाटर इन्ड्युस्ड डिजास्टर इन नेपाल सञ्चालन भई सो परियोजनामार्फत कृषकहरूको धानबालीको बिमा जोखिम बहन गर्ने उद्देश्यले जारी गरिएको थियो। उक्त परियोजनाको मुख्य उद्देश्यअनुसार सूचकाङ्कमा आधारित कृषि बिमालाई सरल, सस्तो र नवीन वित्तीय रणनीतिका रूपमा विकास गरी साना किसानहरूलाई बाढीबाट धानबाली नोक्सानी भए बिमा कम्पनीमार्फत उचित क्षतिपूर्ति प्राप्त हुने व्यवस्था गरिएको थियो।

सोही बिमालेखअन्तर्गत बिमा गरिएको धानबालीमा २०७९ असोज महिनाको ५ गते आसपास परेको अविरल वर्षाले उक्त भजनी नगरपालिकाभित्र बग्ने मोहना नदी र आसपासका क्षेत्रमा पानी बहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्क भन्दा बढी भई केही दिनसम्म धानबाली डुब्न गई बिमा दाबी परेको थियो। सोही दाबीअन्तर्गत नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागले मापन गरेका सूचकाङ्कहरू बिमा सफ्टवेयरमा राखी परीक्षण गरी र एक पटकका लागि स्थलगत तथ्यांकसमेत भिडाइ रुजु गरी बिमा दाबीको शुद्धता तथा वास्तविकता एकिन गरेपश्चात् मात्र दाबी निर्धारण गरिएको थियो।  

यसै सिलसिलामा २०७९ पुस १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्यमा कोलार्पले परियोजनाबारे विस्तृत प्रस्तुति दिनुका साथै सगरमाथा इन्स्योरेन्स कम्पनीका अन्डरराइटिङ विभाग प्रमुख दिवस तिमल्सेनाले ३१ जना कृषकलाई ४ लाख १ हजार ४ सय ९९ रुपियाँको दाबी चेक हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रम वडा नं. ३ का वडाध्यक्ष तथा भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीको सभापतित्वमा सम्पन्न भएको कोलार्पद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ पुस २०७९ ०२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App