समुद्री किनारदेखि माथि उठेको एकनासको सहर आकासबाट देखिन्छ । अग्ला चर्च, एकनासे पुराना घर सजिएका क्याटालिना सहर । फुटबल क्लबको दुनियाँमा धेरै सुनिने नाम बार्सिलोना । जहाँ क्याटालिनको बाक्लो बस्ती छ । यति बेला क्याटालिना स्वतन्त्र हुनुपर्छ भन्ने आन्दोलनले स्पेनलाई झस्काएको छ । झ्यालहरूमा क्याटालिनाको झन्डा फहराइएको छ । स्पेनबाट बार्सिलोना स्वतन्त्रताको माग गरिरहेछन्।
समुद्री किनारदेखि बार्सिलोनाको सेन्टर सुरु हुन्छ । पुरानो कला, मूर्ति, चित्र देखिने बार्सिलोना सेन्टरछेउमा अग्लो सालिक छ । सालिकमा दायाँ हातले कुनै दिशातर्फ देखाइएको छ । कोलम्बसले ‘यता छ, अमेरिका’ भनेर देखाएका हुन् भन्ने अर्थ लगाइँदो रहेछ । अमेरिका पत्ता लगाउने कोलम्बसको यात्रा त्यहीँबाट सुरु भएको रहेछ ।
नेपाली बसोबास गर्ने सागरदा फेमिला चर्च वरपरको अर्को सहर । चर्चित चर्च दुई सय वर्षदेखि निर्माणाधीन छ । दैनिक लाखको हाराहारीमा पर्यटकले पुग्दा रहेछन् । चर्चसँगै छेउबाट सुरू हुन्छ स्पेनको पर्यटकीय क्षेत्र बार्सिलोना घुमफिर । चर्चछेउबाट बस चढेपछि बार्सिलोना क्लब, ओलम्पिक डाँडा, समुद्री किनार घुमघाम ।
युरोपका अन्य मुलुक बस्ने नेपालीको भन्दा भिन्न जीवनशैली छ, स्पेनमा बसोबास गर्नेको । गैरआवसीय नेपाली संघ स्पेनका अध्यक्ष एकराज गिरीका अनुसार १० हजार हाराहारीमा पुगे त्यहाँ नेपाली । दूतावास छैन । समस्या परे फ्रान्स दूतावास जानुपर्छ । समयमा कहिल्यै काम नहुने । स्पेनमा सक्रिय सबै संघसंस्थाका प्रतिनिधिले एक स्वरमा भने, ‘खर्च कति लाग्छ संकलन गरेर नेपाल सरकारलाई सहयोग गर्छाैं । यहाँ एउटा दूतावास चाहियो ।’
स्पेनखबर डटकमका दीपक क्षेत्रीसहितको टोलीले उत्साहित हुँदै भन्यो, ‘हामीले नेता, पूर्व प्रधानमन्त्री, सभासद सबैलाई भन्यौं । तपाईंहरूले हाम्रो आवाज नेपाल सरकारलाई पुर्याइदिनुपर्यो ।’
हस्तलिखित राहदानी चल्ने समय सन् २०१५ सम्म हो । फाराम भर्यो तीन महिना लाग्ने । फाराममा कतिपयको अक्षर बिग्रिने, फ्रान्स दूतावासले फोन नउठाउने, परिवार लिन भारत पुगेर ४० हजार भारु बुझाउनुको पीडा उनीहरूले पोखे ।
‘दूतावासको आश्वासन दिएको पाँच वर्ष भइसक्यो । समस्या थपिँदै छ,’ जनसम्पर्क समितिका अध्यक्ष शालिकराम डुम्रे भन्छन् । अर्का जनप्रगतिशील मञ्चका अध्यक्ष महेश्वर कँडेलले भने, ‘कुटनीतिक, राजनीतिक पहुँचका आधारमा पहल गर्यौं । सुनुवाइ भएन । दूतावास भए यहाँ ८० प्रतिशत समस्या हल हुन्छ ।’
नेपालमा पहिलोपटक दोहोरी साँझ स्थापना गर्ने ‘पुकार दोहोरी साँझ’का मुक्त गुरुङ त्यहीँ भेटिए । ‘नेपालमा पनि व्यवसाय थालेकै हो । विभिन्न कारणले हामी यहाँ आएका छौं । नेपाल सरकारले दूतावास राखेर न्याय दिन्छ भन्ने आशा छ,’ गुरुङले भने ।
‘नेपालमा केही घटना हुँदा हाम्रो मन रुन्छ,’ उनीहरू एक स्वरमा भन्छन्, ‘स्पेनमा आर्थिक मन्दीले हामी अप्ठ्यारोमा छौं । तर पनि छाक कटाएर बाढीपीडितलाई सहयोग गरेका छौं । राहत नपाएको समाचार सुन्छौं । योभन्दा बिजोग के हुन्छ ?’
‘स्पेनलाई फुटबलले धानेको छ,’ सञ्चारकर्मी वसन्त रानाभाट अनुभव सुनाउँछन् । सेप्टेम्बर १७ मा बार्सिलोनाको खेल थियो । साढे १२ बजेसम्म फुटबल हेर्दै रेस्टुरेन्टमा खानपिन गर्नेको हुल देखियो । नजिकै घरेलु मैदानमा फुटबल खेलिरहेका बार्सिलोनाका स्ट्राइकर मेस्सीको चर्चा हुँदो रहेछ । रेस्टुरेन्टमा उनीहरू भन्दै थिए, ‘म्यासी, म्यासी...।’
अन्तिम भूमि पोर्चुगल
पोर्चुगल युरोपको अन्तिम भू–भाग हो । जहाँ पुगेपछि समुद्र सतह र अर्को महादेश सुरु हुन्छ । ग्रामीण क्षेत्र देखिने पोर्चुगलमा छ, युरोपको सबैभन्दा लामो समुद्री पुल । पुलबाट यात्रापछि स्पेन, बेल्जियम हुँदै युरोपका अन्य मुलुक छिचोल्न सकिन्छ । युरोपियन युनियनभित्रका देशमध्ये पोर्चुगल पनि आर्थिक मन्दीले उठ्न सकेको छैन । तर, अहिले नेपाली समुदायको मुख्य गन्तव्य स्थल बनेको छ ।रोजगार र आर्थिक पाटोबाट नेपालीले त्यसलाई गन्तव्य बनाएका होइनन् । मुस्किलले ज्यान धान्न युरोपमा काम गरेका छन् । पोर्चुगलमा पिआर बनाउन केही सहज छ ।
लिसबोन पोर्चुगलको पुरानो सहर । शान्त, ट्याक्सीको यात्रा रमाइलै देखिन्छ । नेपाली आस्था, जातजाति, क्षेत्रीय सामाजिक संस्था भएको पोर्चुगलमा आफ्नै व्यवसायमा रमाएका छन् । नयाँ जाने नेपालीको समाज सेवा रमाइलै भएको सुनाए मगर समाज, पोर्चुगलका अध्यक्ष लालबहादुर पुनले । ‘थोरै कमाइमा बाँचेका छौं । सबै व्यापारमा व्यस्त छन्,’ समाजसेवी राममणि रिजालले भने ।
मिसन इपर
युरोपमा नेपाली कहिले गए ? तथ्य पहिलो विश्वयुद्धमा त्यहाँ पुगेको इतिहास देखिन्छ । सन् १९१४–१५ मा बेल्जियमको इपरमा गोरखा सैनिकले लडाइँ गरेका थिए । त्यहाँ रहेको स्मारकमा गोरखाली सेनाको नाम, दर्जा, पल्टन प्रस्टै लेखिएको छ ।बेल्जियम र नेपालबीचको सम्बन्धले ५० वर्ष पार गरेको छ । सेप्टेम्बर ४ मा दुई देशबीचको कुटनीतिक सम्बन्धको ५० वर्ष एक समारोहबीच ब्रसेल्समा मनाइयो । १९ अगस्त १९६३ मा कुटनीतिक सम्बन्ध गाँसिएको थियो । नेपाली दूतावास बेल्जियम र परराष्ट्र मन्त्रालय बेल्जियम, युरोपियन इन्स्टिच्युट फर एसियन स्टडिजको सहकार्यमा ५० औं वर्षगाँठ मनाइएको थियो ।
बेल्जियमका लागि नेपाली राजदूत राममणि पोखरेलले नागरिकसँग भने, ‘बेल्जियममा प्रथम विश्वयुद्धको शतवार्षिकी मनाइरहेको सन्दर्भमा इपर युद्धमा सहदात प्राप्त गर्ने गोरखाली सैनिकको स्मारक स्थापना गर्न गइरहेका छौं । यसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनेछ ।’
स्टडिजका बोर्ड मेम्बर एडी लौरिसनले बेल्जियममा नेपालीहरू यहाँको समाजसँग घुलमिल भएर घनिष्ठता बढाएको चर्चा गरेका थिए । उनी भन्छन्, ‘नेपाली समाज बेल्जियम समाजसँग राम्ररी घुलमिल गरेर बसेका छन् । जसले दुई देशबीचको सामाजिक तथा सांस्कृतिक घनिष्ठता बढाएको छ ।’ उनले नेपालको ग्रामीण क्षेत्रमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बेल्जियन नागरिकले विभिन्न अन्र्तराष्ट्रिय गैरसरकारी संघ–संस्थामार्पmत सहयोग गरिरहेको बताए ।
इपरमा पुर्खाको नाम खोज्न पहिलोपटक १० वर्षअघि नोभेम्बर ११ मा त्यहाँ पुगेका गमबहादुर गुरुङ सम्झन्छन्, ‘नोभेम्बर ११ मा शान्ति स्थापना भएको हो । खोज्दै गयौं । विभिन्न देशबाट आएकाले पुर्खालाई सम्झेर गएपछि बल्ल चेम्बरमा उभिएर हाते माइकबाट जानी–नजानी अंग्रेजीमा भाषण गरेँ ।’
नोभेम्बर ११ मा नेपाली पुर्खा सम्झन तमु समाज बेल्जियमले पहल गर्छ । अहिले गोरखा स्मारक तमु समाज वा कसैको नेतृत्वमा बनाउने बहस चलेको छ । तमु समाजले इपरमा गोरखा स्मारक बनाउने प्रस्ताव गरेको एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङ सुनाउँछन् ।
बेल्जियममा करिब सात हजार नेपाली बस्छन् । इपरमा गोरखाली सेनाले सहादत दिएको पत्ता लगाउने गमबहादुर गुरुङलाई संयोजक बनाउन सुझाउँछन्, समाजसेवी वीरभान घर्ती मगर ।
नेतृत्वको प्रस्ताव आएको स्वीकारे राजदूत पोखरेलले । ‘यसै वर्ष इपरमा गोरखाली सेनाको स्मारक बन्छ । नेतृत्वको प्रस्ताव आएको छ । दूतावासले सोचेर निर्णय गर्छ,’ पोखरेलले भने ।
प्रकाशित: १४ कार्तिक २०७१ २३:५८ शुक्रबार